Bimal Rai – Samabedana

बिमल राई – समवेदना

हो,
मृत्युलाई बिर्सेर कायापलट फेर्न खोज्ने हामी मान्छे
दनदनी आगोले नजल्ने बिचार पनि-
एक दिन अवश्य मर्छ
हिटलर मरे
मार्क्स मरे
नित्से मरे
अनि,
बिचरी मैना सुनार पनि त मरी
र हामी, अनि हामीले देख्ने विश्व मर्छ
बाँच्नुको बिकल्पबाट हारेको जीवन सबै मर्छ
त्यस्तै गरी
धेरै लामो जिवनको अध्यायबाट
कुटनैतिक चालबाजीको खुल्ला आकाश नाघ्ने दौरानमा
मान्छेको अन्तिम सत्यले तिमीलाई पनि छाडेन
कृष्ण र गणेशलाई सडकमा पु-याउने तिमी बहादुर
अन्तत तिमी मर्यौ
र-
मरे, शिखर हुँ भन्ने तिम्रो मानसीकता
तिता मीठा परिघटनाका एकांकीहरू छाड्दै
जो अरुजस्तै,
सहज र असहज मृत्युको भुमरीले
तिम्रो पार्थिव शरिरलाई आज यो लोकबाट
सदाको लागि बिसर्जन गरिदीयो
अब रहेन तिम्रो दैनिकीहरू
रहला त अब केवल,
बंशौली आडम्बरीतामा लम्केको तिम्रा पदचापहरू
सेतोमा कालो पोत्ने तिम्रो अपूर्ब कौशलता
भोका नाङ्गाको पुकारा गर्दै आफ्नो दुनो सोजाउने कुटिलताहरू
देशको रेखाङ्कन बेचेर मित्रता देखाउने अभिभाकत्व
अनि बहुलतालाई निषेध गरी
पारिवारिक्तालाई अप्नाउने राजनेता
इतिहासको पानाहरूमा ज्वलन्त अङ्कित रहनेछ-
पछिल्लो पुस्तासम्म,

भावी सन्ततीले तिम्रो सक्कली बिचारको अन्दाज गर्नेछन्
मृत्यु भन्दा पनि तिम्रो नेपथ्यका चेहराहरू
तर पनि, मृत्यु अवश्यभावी छ
यसर्थ,
यो पलमा म पनि समबेदनामा समाहित छु
शब्दका दुइफूल चढाउनलाई
तिम्रो निधनको दुःखदतामा ।

Bimal Rai – Shital Batas Bhitra Ka Kurup Jhonka

बिमल राई – शितल बतासभित्रका कुरुप झोँका

यो संदिग्ध आकाशको ओतमुनी
गल्लि र बस्तिको उष्ण साम्राज्यमा
वर्तमान म असहज छु
मैले टेक्ने धर्तिको यस फाटक भरी
म, र
मेरै आँगनसँग खेलेका
ति आत्मियताहरू
अनायास
हृदयको आयतनमा धरधरी
फाटेको यो क्षण
बिध्न, असामानजस्यतामा
चोरिएको छु ।
चर्किएको छु । ।
मन र मष्तिश्कको लाभामा
समयको कुन असति इकाइबाट
म र म हरूको बगैंचा,
बन्दैछ रे छातिबाट ओझेल
टेक्दै आमाको आलो बेदना
च्यात्दै कुलको बंशावली
टेक्दै पितृत्वको नाङ्गो बक्ष्यस्थल
पलायमान छ बिक्षिप्त मनहरू
भाग्दै
उ र उ हरूको जत्था ।
बिचराहरू त्यो कालो अन्धकारमा
खै कहाँ होला ?
च्व”” च्व””
कठै तिम्रा, अधुरो पाइलाहरू
पुर्बजले सुम्पेको आगाध सडक छाडेर
बन्धकी बाटोमा मौजाद छौ रे
दुइटा कृतिम शब्दको नासो बोकेर
एक रातको रमझममा छौ रे
आजभोली ,
चढ्दै मानसिकता आत्मग्लानिको
अनि
हिनताबोधका बाइपंखी उड्दै
सिंहमरमरको जादुगरी स्वपनिल सपनामा
अ-बिवेक सुत्नुको अर्थ के ?
माथको बन्द आँखा तकियामा लडाइ
नहिड प्रलय जीवन
नहेर्ने तिमीहरू स्वेत इतिहास
मात्र देख्छैा खुनी कलम
अँध्यारो कहानि लेख्ने
त्यो महाभारतका बिभत्स पात्रहरूलाई
तर
एकांकीको पर्दाहरू लत्रिसक्यो
उघार पर्दा उघार
च्यात्दै मस्तिष्कको मौलिक रागमा
ओढेर समय
टोकेर जलपहरू
छरिदेउ प्राकृत शब्दका रागहरू
आफ्नै विवेकको सघनता भित्र
बर्तमानका विवेकहरू
र,
स्पर्श गरि हेर आमाको माधुर्यता
हुनेछौ तिमी, टेकिएको एउटा फूल
लाछिएको उपेक्षित एउटा हाँगा
नपल्टाइ इतिहासका स्वेत पानाहरू
केवल तिमी,
घडिभित्र टाँसिएको काँटा
आँधि तुफान बीचको अन्धो धावक
नपुग्ने टाकुराको गन्तव्यमा
एउटा असभ्य जिवन लडन सक्छौ ।
रोक ! रोक !!
टक्क उभिएर, नरोक भित्रि आँखाको गहिराइ
टाँस छातिमा समय बिगतका लम्बाई र चौडाईहरू
त्यो प्रहरको साइत
बाल्दै टुकिले बुझ्ने छौ
गौरवशाली इतिहासका चमक
बैभवशाली बंशजका स्वर्निम अक्षर
शुन्दर सस्कारका बिम्बहरू
यसर्थ,
फर्केर आऊ
आफ्नै आकारमा रम्नु
आफ्नै ओजस्विता चम्काउनलाई
जहाँ तिमी प्राकृत बनेर बाँच्ने आकाश छ
अनि,
धर्ति र आमाका कैयौ भविष्यहरू छन ।