भीष्म उप्रेती – प्रवाह कहिल्यै रोकेर रोकिएको छ ?
यतिखेर मेरो परिवेशमा
एउटा अनौठो किसिमको बास्ना पोखेर
बतास चलिहेको छ,
बास्ना यस्तो मादक छ कि
लठ्ठएिर उसको मादकतामा
उसलाई पछ्याउनेहरुको भीड लागेको छ,
यतिखेर मेरो सतहमा
एउटा चोटिलो प्रवाह-लहर बगिरहेको छ
प्रवाह-चेतनाको/भावनाको
प्रवाह-चाहनाको/उत्सर्गको
र चारैतिर एउटा धून प्रवाहित भएको छ
आकाशमा बादल लागेकै छ यद्यपि
आफ्ना गीतहरुमा सपना घोलेर
चराहरु वेग लिँदै उडेका छन्
संभावनाको भाका फलाकेर सानो नानी
भर्खरै घरभित्रबाट
सपना गोड्नलाई आँगनमा निस्केको छ,
यतिखेर/ठीक यही समयमा
तिमीहरु केही छौ मेरो परिवेशमा
र असंख्य चिन्ताका धर्सा कोरेर अनुहारमा
समयको बेगलाई कुँजो बनाउने सल्लाहमा छौ
जटा बाँधेको समुन्द्र स्वयं
छालहरुमा उठेको यो समयमा
तिमीहरु बाँसका स-साना डण्डीहरु तेर्स्याएर
प्रवाहलाई रोक्ने विचार गर्छौ
खिया लागेको पुरानो फलामको आश्रममा
प्रवाहलाई थुन्ने सपना देख्छौ,
मेरो कविता जो समय बनेर बोलेको छ
ठीक यही अवस्थामा
तिमीहरुको विक्षिप्ततामा हाँस्ने गर्छ
तिमीहरुको विवेकशून्यताको उपहास गर्छ
र एउटा प्रश्न तेर्स्याउँछ तिमीहरुलाई महाशय
कि प्रवाह कहिल्यै रोकेर रोकिएको छ ?