आचार्य प्रभा – देश सम्झेर
हो, म चटक्कै
आफ्नो माटो बिर्सिएर
सात समुन्द्रको माटो
टेक्न आइपुगे,
तर मेरो देशको माटो
मेरो निधारमा टिका बनेर
टाँसिएको छ
कहिल्यै नमेटिने गरी ।
मेरा खाली पाईतालाहरुमा
टाँसिएका मेरो सानो देशका
माटोका कणहरु अझै पनि
मेरा औंला औँलाहरुमा
टल्किरहेछन् सगरमाथाको
पर्याय बनेर ।
निधारमा मेहेनतको पसिना पग्लँदा
म सम्झने गर्छु,
त्यो खेतबारी र करेसाबारीका
कुलेसोहरु, अनि तृप्त बन्छु
र…,
आनन्दानुभूतीको श्वास फेर्छु
पराई भूमीको यो आँगनमा ।
जब आकाशमा
परेवाका हुलहरु
छताछुल्ल बनेर
उडेको देख्छु
तब लाग्छ मलाई
मेरो देशको बुद्धले
मलाई सम्झेर शान्तिको दूत
पठाइदिए अनि म
आकाशतिर फर्किएर
शान्तिको गीत एक पटक
गुन्गुनाउँछु
बुद्धमशरणम गच्छामी……!