Radha Baskota – Badalindo Man

राधा बास्कोटा – बदलिदो मन
(मधुपर्क असार, २०६७)

हरिया छन्-पातहरू
मनसँग दाँज्नु थियो
चङ्गा छन्-वैंसहरू
लहरासँग बाँच्नु थियो
जीवन गतिमा
धेरै गल्तीहरू गरिएछ
बोल्नै नहुनेसँग-बोलिएछ
सँगै पाइला चाल्नेसँग
सधैँ सधैँ टाढिएछ
खै, म
मान्छे त चिन्छुजस्तो लाग्थ्यो
त्यो पनि
केवल अहङ्कार रहेछ
असलको आडलाई
सधैँ घृणा गरेर
पश्चातापको साथ लागिएछ
सेता
नरम
बादलका टुक्रासँग
सधैँ झूटो बोलेर
काला
विषालु
बादलको लहरमा लागिएछ
आँखाहरू
भर्खर खुलेजस्तो लाग्दैछ
अहङ्कारको बादल फाट्दैछ
किरिया खाएर भन्दैछु
अब झूटो बोल्न सक्तिन
फुकाएर
मनका विगतलाई
म तिम्रो
सेतो सिमलको भुवाजस्तै
मनभित्र मन राखिदिन्छु
सत्ते
धरोधर्म
विगतका
गलत पानाहरू पल्टाएर

गर्मीको जेठ पनि देखाइदिन्छु
सुकेको शिशिर पनि देखाइदिन्छु
सत्ते
धरोधर्म
मन साक्षी राखेर
आत्मा साक्षी राखेर
म तिम्रो सिमलको रुखजस्तो
शरीरमा
भुवा भएर घुम्नेछु
विगतका विषालु फोहोर
झिजाएर तिम्रै सामु
गरुङ्गो मन विसाएर
रुने छु
फूलका पत्र फक्रेर
धरोधर्म
तिमीलाई दिएको घृणा छुनेछु
चन्द्रमा जस्तै
तिम्रो दिलको दिल बनेर छुनेछु
सत्ते, धरोधर्म ।

Radha Baskota – Mahakavi Prati

राधा बाँस्कोटा – महाकविप्रति
(मधुपर्क २०६६ कात्तिक)

मनमा राखेँ तनमा राखेँ शिरमा सजाएँ
सुरमा तिम्रो मिलाई लय बाँसुरी बजाएँ ।
उघारेँ आँखा मिलाई भाखा पाखामा नचाएँ
मृगका पाठा मयूर बुट्टे तिमीमै सजाएँ ।।

जे लेख्छु ऐले अक्षर तिमी स्वरूप तिम्रै यो
टलक्क टल्की झलक्क झल्की मसामु उदायो ।
ममात्र होइन सबैमा देख्छु स्वरूप तिम्रै त्यो
पूजाका थाली अक्षताभित्र तिमी नै सजेको ।।

अँधेरी रात उघारी ढोका ढोकाकै छेउमा
आरती बल्यौ उजेलो पारी दिलले दिलमा ।
मानवताका गाएर गीत संसार घुमेछौ
स्वतन्त्रताका पखेटाभित्र प्रकृति चुमेछौ ।।

पातको प्रीति फुकाई फर्फर प्रेमको संसार
गाउँमा ल्यायौ, बस्तीमा ल्यायौ प्रेम भो संसार ।
ठालुसिङ काँपे आलुसिङ काँपे सामन्त काँपेछन्
निरङ्कुश बाँच्ने शासक तिम्रै सामुमा काँपे झन् ।।

चन्द्रमा छोई कसम खायौ चन्दकै सामुमा
झल्मल बत्ती चन्द्रको जस्तै बालेर धर्तीमा ।
पूजारी तिमी हे प्रजातन्त्री ! प्रजाकै तन्त्रमा
जिन्दगी सारा समर्पण गर्यौ मानव मन्त्रमा ।।

गरिब रोए हँसायौ हाँस्ने सामन्त रुवायौ
अन्यायी माथि बज्रझैँ बज्री न्यायलाई हँसायौ ।
पर्वाह केही गरेनौ आफ्नो आफूलाई रुवायौ
‘रोएर आफू हँसाउने संसार’ सन्देश सुनायौ ।।

नसके पनि उचाइँ चुम्न उडान तिम्रो त्यो
मनको मैलो पखाल्न हेर्छु उडान तिम्रो त्यो ।
असल तिम्रो सम्झेर मात्र रमाउँछ दिल यो
त्यो दिलभित्र यो दिल राखी अग्लन्छ माथि यो ।।

मनमा राखेँ तनमा राखेँ शिरमा सजाएँ
सुरमा तिम्रो मिलाई लय बाँसुरी बजाएँ ।
सबमा राखेँ सर्वाङ्ग तिम्रो दिलमा टसाएँ
उघाँर आँखा मिलाई भाखा गीतमा नचाएँ ।।