Pushpa Baruwal – Kohi Malai Kina Kehi Bhanos

हुस्सुका बाक्ला खातहरु हटाएर
राफिलो घाम ताप्नुछैन मलाई
न त बादलका बाक्ला च्यादर ओढेर
न्यानो बन्नुनै छ
म, पखेरोको एउटा अस्तित्व
घाममा वा ओझेलमा
खुशीहरु अनुभुत गर्नसक्छु जसैतसै
कोदालीले पखेरो सम्याएर
अन्न Continue reading “Pushpa Baruwal – Kohi Malai Kina Kehi Bhanos”

Pushpa Baruwal – Mero Shabda Katha Tapain Haru Saamu

मेरो नाम देवकुमारी बदिनी
वर्ष एकचालीस
जन्म गाउँ- लेख पराजुल गा.वि.स., वडा नं. १, मनिरामकाँडा
जिल्ला सुर्खेत
देश नेपाल ।

म, एक गरीब परिवारमा जन्मिएकी बदिनी
पेशाले नाची खाने
गाउँका ठालु, मुखिया र हुनेखानेको जीऊमा तेल लागाइदिने
र, उस्तै परे ……!

हुन त म
पाँच वर्षकी छँदादेखि नाचेकी हुँ
घरमा खाने अन्न नहुँदा नाचेँ
आङमा एकसरो कपडा नहुँदा नाचेँ
मुटुको ब्यथाले थलिएका बा’को ओखतीको लागि नाचेँ
मभन्दा सानी बुईनीलाई स्कुलमा पढाउनको लागि नाचेँ
र, यस्तै-यस्तै धेरै परीवेशहरुमा म नाचेकी छु ।

सत्र वर्षकी हुँदा मेरो बिहे भयो
भेरीछालको छेऊमा
एउटा सानो छाप्रो थियो हाम्रो
भदौको मास,
पर्वमा म माइत गएको बेला
राती मुसलधारे पानी पर्‍यो र बगायो बसेरी
बसेरीसँगै सबै बग्यो,
मेरो सिन्दुर पनि बग्यो
अनि म एक्ली भएँ,
अवला भएँ ।

गाउँका चालीस वर्षे ठालु
रामसिँह कार्कीले दया देखाई घरमा बोलाए
गाई गोठमा बास दिए
केही दिन गाँस दिए
जब उनकी जोई माइत गइन्
अनि उनी ममाथि खनिए
मेरो चोलो च्याते
मजेत्रो फ्याके
अनि मलाई लुछे
म लुछिएँ लाचारीमा
र, त्यो रात
मसँगै लुछियो मेरो मृत लोग्नेप्रतिको सम्मान पनि ।

जब म गर्भिणी भएँ
गाउँलेको लाजले ठालू गाउँबाट भागे
मुखिनीले यो कुरा चाल पाइन्
मलाई भुतालिन्, जगल्टाइन्
अगुल्टोले हानिन्
र, बेस्सरी पेटमा कुल्चिदिइन्
म हिलाम्मे भएँ, म रक्ताम्मे भएँ
अन्तत: मेरो गर्भ झर्‍यो
अब मेरो कोही रहेन
अब मेरो केही रहेन
म पूर्णत: एक्ली भएँ ।

…..त्यसैले हजूर,
आज म यहाँ तपाईंहरुसँग गुहार माग्न आएकीछु
तपाईंहरुको फौजसामू न्याय माग्न आएकीछु
अब म सामाजिक कूकर्मको पर्दाफास गर्छु,
तपाईंहरुको साथ चाहिन्छ
अब म सामाजिक अपराधीहरुलाई दण्ड दिन्छु,
तपाईंहरुको सहयोग चाहिन्छ
मेरो भन्नु यतिनै हो …….

…….मेरो भनाई नटुङ्गिदै
जब कमाण्डरले आफ्नो टोपी माथि उठायो
म झस्किएँ
म आत्तिएँ
म चिच्याएँ
म कराएँ
किनकी, त्यहाँ ममाथि उद्दण्डित त्यही हातहरु थिए
मलाई चिथोर्ने तिनै नङ्ग्राहरु थिए
मेरो अस्मितामाथि वूर्कुसी मार्ने त्यही शरीर थियो
जसै मैले देखे त्यो स्वरुप
अनि म भागे र अझै भागिरहेकी छु ।

आज भाग्नु र लखेटिनुको परीवेसमा
म लालिमा हराएको बिहानी जस्ती भएकी छु
निस्सार एउटा काहानी जस्ती भएकी छु
हुनसक्छ, म देशको पीडा भोग्दैछु
माटोको चित्कार चिच्याउदैछु
र, आशातित व्यक्तिहरुबाट च्यातिएको मजेत्रोले लाज छोप्दैछु
र लेख्दैछु यो कवितामार्फत मेरो सवाई ।

मेरो नाम देवकुमारी बदिनी
वर्ष एकचालीस
जन्म गाउँ- लेख पराजुल गा.वि.स., वडा नं १, मनिरामकाँडा
जिल्ला सुर्खेत
देश नेपाल ।

Pushpa Baruwal – Dukhad Khabar Surje Bhai Lai

सूर्जे भाइ
ए, सूर्जे भाइ
तपाईले थाहा पाउनु भयो?
मंगललाल चौधरीलाई त मारेछन नि !
आजै, भर्खरै मात्र ।

तपाईँलाई थाहा छैन होला उसको कथा –

ऊ रुग्ण थियो -कहिल्यै प्रतिवाद गरेन
ऊ जीर्ण थियो -कहिल्यै Continue reading “Pushpa Baruwal – Dukhad Khabar Surje Bhai Lai”

Pushpa Baruwal – Apariwartit Pahichan

धिप्धिपे धिब्री बल्न नपाउदैमा
वस्ती नमसिदो रहेछ
सलाईका काँटीहरु नहुँदा पनि
अगेनी नसेलाउदो रहेछ
दियालोले दुखाएको आँखामा कर्णालीजल छम्किएर भएपनि
झरोको उज्यालोमा बस्ने बानी परिसकेका हाम्रालागि
अझै विकासे उर्जाको आश्वासनहरु नदेखाउनुस् हजुर
अध्यारो पारगर्ने साहाराका लागि
मलाई मेरी बुदुनीले साँचेकी एक चोइटो झरोले आजसम्म पुगेकै छ।

अब त
दिले बड्डाले खच्चर र भेडो पोषिसकेपछि
मोटरमा चढाउने आश्वासन नभए पनि हुन्छ मलाई
डाक्टरको प्रतिक्षामा औंला गन्दा-गन्दै
सुकेनासले खाँसेर बितेकी साउनेकी जोई सम्झिएर
मेरी झमकलाले हर्‍रोको झोल पिउन थालिसकेकी छे
खेलोमा परदेशिएको महते कार्कीले छोडि आउनेछ
विदेशी अन्नका प्रलोभनहरु उतै
त्यसैले भो
नसुनाउनुस अझ धेरै पीतवचननरु
हामी फापरको आधा रोटोमा बालबच्चा थुम्थुम्याउन सक्छौं
एकपसर भुटेको मकैमा प्राण जसैतसै जोगाउन सक्छौं ।

यिनै भिरपाखा र लेकबेसी प्यारो मान्दै
थाप्लोमा नाम्लोको डाम भुलेर छोट्टीसँग देउडामा रमाउने हाम्रालागि
आवश्यक छैनन कुनै आयातीत गीत-सगीतहरु
भो चाहिन्न,
तपाईंका ती विदेशी कमिज र पेन्टहरु
मेरो यही दौरा र कछाडमा मेरी झमकला हाँस्नसक्छे
उस्को त्यही गुन्याँ, चोलो र पटुकीमा म रमाउनसक्छु
मखमली धोती र पटुकीले पहाड नढाक्ने भएपछि
अझै आश्वासन नदेखाउनुहोस हजुर
खाँडी र खद्दरमै गर्व गर्ने बानी हामीमा परिसकेको छ ।

राजनैतिक परिवर्तनको कुरा गरेर मन वहकाउदैमा
डोल्पो लत्याउन सक्तिन म
बरु चित्त नबुझे
मलाई पिट्नुस,
बाँध्नुस
र, हर्के माइलोलाई जस्तै बन्दुकले हान्नुहोस,
तर पनि म मेरो प्यारो बसेरी छोड्ने छैन
किनकी,
डोल्पो मेरो हो
म डोल्पोको हुँ
एकपल-एकघडी डोल्पो छोड्नु भनेको
आफ्नै मुटुको नली थुन्नुसरह हो मेरो लागि
त्यसैले त
फोक्सुण्डोले मकन गर्व गरेको छ
म फोक्सुण्डोसँग रमाएको छु
र, यहि कारणले
म अपरिवर्तित छु
र, आजसम्म डोल्पाली निसारे घर्ती भनेर चिनिएको छु ।