Pratisara Sayami – Jagir Le Nileko

प्रतिसरा सायमी – जागिरले निलेको

अभावको पर्खालले थिचिएर
सा“घुरो जिन्दगीको गल्लीबाट
निस्केँ- म !
आर्जेको ज्ञान, सिप
दिनभरिको समय
सब साटेँ- मैले
एउटा जागिरसँग- कामको मतलबसँग
लेनदेनको बजारमा
गृहस्थीको बलियो घेरा
तानि तानिकन लम्ब्याएर
आकाशको फराकिलो सीमामा
अरू बढी पोखिन
अरू बढी फैलिन ।
आवतजावतको
यो जिन्दगी धान्ने गल्ली !
फराकिलो गर्ने क्रममा
तर जन्तर नै भई झुण्डियो- जागिर यो
मेरो घा“टीमा ।
यसै क्रममा,
जागिर जो हो-
यसलाई मैले
समयको सुनको माला बनाउन खोजे“
गलपासो त होइन
स्वतन्त्र पथ बनाउन खोजेँ
घर र अफिसबीच मात्रको
लामो जेल होइन
आखिर म !
ऐनाको ठूलो ढोकाभित्र
९-५ भित्रको समय पिँजडामा
केवल जागिरेको लेबलमा
टाँसिएछु,
थुनिएछु ।

Pratisara Sayami – Pressure Cooker

प्रतिसरा सायमी – प्रेसर कुकर

परम्परा एउटा बडेमाको भाँडा हो-
यसैको बाक्लो बिर्कोले छोपी
मैले मेरो बर्तमानलाइ पकाउन खोजिरहेछु

उसको सितिमिति पाक्दै नपाक्ने कठोर चोक्टाहरु
पचाउन गाह्रो अपाच्य ब्यबहारहरु
आफ्नो ब्यबहारको नरम पानीमा
भिजाइ अनि उमाली नपाकेसम्म
प्रेसर ककर भित्र-
पानी आफै तातिएर भकभक उम्लँदै
नरम रसमा डुबाइ डुबाइ
पगाल्न खोज्दैछर्
बर्तमानका कठोरताहरुलाइ
तर चापको असहय थिचाइ र बन्धनले
बिकोर्ेको बाक्लो ढिकै समेत
टाउकोको बलले ठेली ठेली
सानो प्वालको झयालबाट बेगले उछिट्टिएर कराएको
प्रेसरको चित्कार सुनेँ मैले
नअटाइ नअटाइ कोच्चिएर गुम्सिनु परेको
उसको कठोर बन्धन
मुक्तिको चित्कार
बगिरहेको सल्ल सल्ल
उसका ताता उच्छवासहरु
तप्त शरीरको जलन पढेँ
मानौँ आफैलाइ पढेँ त्यहाँ मैले
किनकि पोल्दो हृदयमा
आफु भकभक उम्लेर पनिर्
बर्तमानको क्रुरता पगाल्न नसक्ने
म त्यही पानी त हँ
असहय पीडाले
आत्तिएर फुत्किन खोजिरहेको
तातोले बाफिएर पनि
एउटा मुक्त आकाशको खोजीमा
बाहिरिने आतुरताले
भौँतारिरहेको
उही तप्त पानी म
ठीक त्यही पानी
प्रेसर कुकर भित्रको ।