Pradip regmi – Ratharu Sanga Bedana

प्रदिप रेग्मी – रातहरुसँग वेदना

हे मेरा रातहरु !
केवल तिमीहरु नै हौ,
मेरो मन बुझ्ने साथहरु,
जव तिमीहरु आउँछौं
मेरो भक्कानो फुट्छ
दिनहरुले सृजना गरेका खडेरी प्रति
मुसलधारे वर्षा छुट्छ ,
किनभने तिमीहरुले मेरा कुरा बुझ्छौ
तिमीहरुले भेल उर्लाउँछौ
अनि सृजित खडेरीहरु सखाप हुन्छन् ।

दिनहरुले काल्पनिक आश्वासन दिन्छन् ,
तर तिमीहरुले अमिट यथार्थ दिन्छौ ,
दिनहरुले बाँडेका पोका पन्तराहरुमा
कतै आफन्ती मनको आभाष भेट्दिन ,
तर तिम्रा कुना कन्तराहरु र क्षितिजमा
सामिप्यताको आभाष भेट्छु म
तिम्रो विवेकले बुझ्छ होला नि !
किन सदा तिम्रो पर्खाइमा हुन्छु म ?

क्षितिजमा जव तिम्रो छायाँ झुल्किन्छ
मेरो घायल मन अश्रु बिभोर भै उम्लिन्छ
दिनहरुले दिएका धोकाहरु तिमीलाई सुनाउन
तिमीहरुले विनम्र एकाग्र सुन्छौ,
अनि मेरो मन झन झन भरिन्छ
मेरालागि तिम्रो एकमात्र साथ सम्झेर ।

हे मेरा रातहरु !
दिनहरुका म माथिका बज्रपात
म जतिपनि सहन सक्छु
तिमीहरुले दिएको सहनशिलताले,
तर तिमी नै भन म कसरी सहुँ
मेरो उद्देश्य, विचार र योजनामा
दिनहरुका घात प्रतिघात तुषारापातहरु
मेरो मातृत्व, पितृत्व अनि भातृत्वमा
दिनहरुले पारेका विक्षिप्त चोटहरु,
मलाई म माथिको बज्रपातले भन्दा
ती चोटहरुले बढी चह¥याउँछन् , पोल्छन्

दिनहरु परिवर्तन भइरहदा रहेछन्
समय सुहाउँदो फट्याङ्ग्रोको रङ जस्तै,
एक सत्य एक असत्य अनि असत्य पनि सत्य,
भन मेरा रातहरु यो सब म सहन सक्छु ?
तिम्रा सहनशिलताहरु अझै बाँकी छन् भने
कृपा गर तिम्रो यो अभिन्न मित्रलाई
कसरी अंगालुं दिनका बहुरुपी चरित्रलाई ।

फूलबारी, पोखरा

Pradip Regmi – Prerag Kamana

प्रदिप रेग्मी – प्रेराग कामना

तिम्रो तपश्या अनि आर्ज्यको मूल्य
महान तिम्रा दृढ तृप्तिहरु
कुटिल मनका आशक्तिहरु
अनि अतिरञ्जित सफलताहरु
साथमा स्वामित्व गुमाएका प्राप्तिहरु
सारा रहुन तिमीसंगै जिवन्त !

मैले बुझें उदाउनु भनेको क्षणिक प्रकाश छरी
सदाका लागि अस्ताउनु भनेर,
तिमीले बुझ्यौ त्यही प्रकाशमा रमाउन
आफ्नो स्वार्थी संसार सजाउनु भनेर
अर्को एक फरकपन – यी साराका लागी
धर्ति अस्तित्व सम्म मूल्य चुकाउनु
निसंकोच अमान्य पनि सामान्य !

तिम्रा अप्राकृतिक प्रेम
र यौनिक आशक्ति
अमर बनोस तिम्रो यौवन जस्तै
आशा छ महान इश्वरले
तिम्रा लागि वासना थपिदिनेछन
किनभने तिम्रो शाश्वत सत्य
अनि अस्तित्व रहि रहनु पर्नेछ युगसम्म !

नचिम्लिउन तिम्रा आँखा
अनिमेश बनुन बुद्घका जस्तै
संसार तिम्रै हो बुझ, सुन
अनि पुरा गर रहरहरु सस्तै
अकाटय मेरो निश्चलताले
जिवन्त रहने तिम्रो सजिवतालाई
प्रशंशा गरि रहनेछ हिमाल बनेर !

पोखरा