Min Dwandi – Kun Manle

आर्थिक विषमताले जन्माएका प्रश्नहरू
निर्धामाथि ठालूका अतिक्रमणले उठाएका प्रश्नहरू
न गहमा पोखिएको नूनिलो आँशुले समाधान हुँदोरैछ
न ओठमा जन्मिएको किर्ते हाँसोले समाधान हुँदोरैछ
विषमताको विषले छटपटिनु पर्दा
अमानवीयताको सिक्रीमा भुटभुटिनु पर्दा
निश्चिन्तताको आभास पाउनु कुन मनले ?
स्वाधीनताको गीत गाउनु कुन मनले ?
सौन्दर्यलाई जेलमा थुनिएको अबस्थामा
श्रृजनामाथि प्रतिबन्ध लागेको अवस्थामा
न बगैंचामा बसन्त डुल्न सक्दो रैछ
न यो धरतीमा पसिना फुल्न सक्दो रैछ
तर, सौन्दर्य बन्दी बनेको छ भनेर,
श्रृजनामाथि प्रतिबन्ध छ भनेर
बसन्तसँग नाता तोड्नु कुन मनले ?
पसिना रोप्न चटक्क छोड्नु कुन मनले ?
न आफ्नो देशले आफूलाई आफ्नो भन्न पायो
न आफ्नो देशलाई आफूले आफ्नो भन्न पाइयो
आफ्नो लागि देश बिरानो
देशको लागि आफू बिरानो
आफ्नै देशलाई माया गर्न साइनो छैन
आफ्नै भूमिमा बिश्रान्तिको ‘आइनो’ छैन
स्वर्णिम देशको कल्पना गर्नु कुन मनले ?
विश्व शान्तिको कामना गर्नु कुन मनले ?

Min Dwandi – Man Pahiro

को देख्न सक्छ
मनमा पहिरो गएको छ
जिन्दगी पहिरो भएको छ ।
भत्केको कहालीलाग्दो बिपनामा बाँचेर
आफूमा नव–निमार्णको सपना साँचेर
नव–युद्धको उद्घाटन गर्दा–नगर्दै
अन्तर्मनमा धाँजा फाटेर
झनझन गहिरो भएको छ
जिन्दगी पहिरो भएको छ ।
अस्वीकृत जिउनुलाई पनि जीवन ठानेर
वर्तमानका हरेक हारलाई क्षणिक मानेर
एउटा उदीप्त भविष्यको रेखा कोर्दा–नकोर्दै
अन्तर्मनमा धाँजा फाटेर
झनझन गहिरो भएको छ
जिन्दगी पहिरो भएको छ ।
को देख्न सक्छ
मनमा पहिरो गएको छ
जिन्दगी पहिरो भएको छ ।

Min Dwandi – Haijale Lana Nasakeka Haru

उता बस्तिमा बाघ पसेर
धमाधम मान्छे खाइरहेको छ
हरेक दिन गाउँबाट कोही न कोही
हराएको खबर आइरहेको छ,
यता आपूmलाई जन्मजात
शिकारी ठान्ने केही महानुभावहरू
झि¨ा मार्ने आफ्नो सिद्धान्तको,
झि¨ा मार्नु पर्ने कारणको
बखान गर्नमा व्यस्त छन्
हैजाले लान नसकेकाहरू !

उता बाघले बस्तिमा पसेर
आतङ्क फैलाइरहेको छ
गाउँभित्र दिनप्रतिदिन
असुरक्षा मौलाइरहको छ
यता आपूmलाई उच्च कोटीको
शिकारी ठान्ने केही महानुभावहरू
फिस्टा मार्ने आफ्नो सिद्धान्त र नीति
कता हो कता बहादुरीपूर्ण भएको
दाबी गर्नमा व्यस्त छन्
हैजाले लान नसकेकाहरू !

आफ्ना गाउँले इष्ट–मित्रहरूलाई
बाघले मारेको समाचार आउँदा पनि
संगै खाईखेलेका दौंतरीहरूलाई
बेपत्ता पारेको खबर पाउँदा पनि
तिनका आँखामा बेदनाको नाम पनि छैन
मुखमा सहानुभूतिको ‘राम राम’ पनि छैन
“म बहादुर, तँ चाहिं काँतर” भनेर उनीहरू
आपसमा घाँटी कोराकोर गरिरहेका छन्
एक–अर्काको भूडी फोराफोर गरिरहेका छन्
हैजाले लान नसकेकाहरू !

Min Dwandi – Bahira Niskina Hunna

घनघोर असिना पानीले
बाटो छेकिरहेको छ भने
बाटोमा छाता सापट पाइने आसामा
कोठाबाट बाहिर निस्कन हुन्न,
यात्रामा चाहिने सामल कुनै
झोलामा मौजुद छैन भने
बिसौनीमा सामल भेट्ने लालसामा
घरबाट यात्रामा निस्कन हुन्न ।
चारो स्वरूप ढप्केमा
कनिका छरिएको छ भने
परेवाका बचेराहरू
गुंडबाट बाहिर निस्कन हुन्न,
पानी खाने कुवामा
लिसो थापिएको छ भने
पेंवरा र कालिजहरू
त्यता निस्कन हुन्न ।
पेटको भोक मराइले
पासोमा पार्छ भने
त्यस्तो भोकलाई क¥याम–कुरूम
चपाईदिन सक्नुपर्छ,
पानीको प्यास मराइले
लिसोमा पार्छ भने
त्यस्तो प्यासलाई तनतनी
पिईदिन सक्नुपर्छ ।

Min Dwandi – Besaha Khojna Jane Haru

भोकले सुकेका आन्द्रा बोकेर
रित्तो डालो र थुन्सेसहित
गाउँबाट, बस्तीबाट
बेसाहा खोज्न निस्केकाहरूको जमात
गाउँ–बस्तीमा फर्केनन्
छातीभित्र दन्कँदो राँको बोकेर
रित्तो झोलासहित
शहरका टोलहरूबाट
बेसाहा खोज्न निस्केकाहरूको हूल
शहरका टोलहरूमा फर्केनन् ।
उनीहरू
अन्नका गेडाहरूको सपनामा
आफ्ना बालबच्चाहरूलाई भुलाएर
गाउँ र बस्तीबाट निस्केका थिए
उनीहरू
आफैलाई समेत झुठो सान्त्वनामा अल्झाएर
शहरका टोलहरूबाट निस्केका थिए
तर उनीहरू
गाउँमा फर्केनन्, बस्तीमा फर्केनन् ।
उनीहरू
बेसाहाको खोजीमा लाम लागेर हिंड्दा
लाम त जुलूस भएछ
“महंगीले अक्काश छोयो” भनेर
आपसमा कुरा गर्दा
कुरा त नारा हुन गएछ, ब्यवस्था विरोधी भएछ
र बेसाहा खोज्न निस्केकाहरूको नाम
“अराष्ट्रिय वा उग्रवादी तत्व” मा दर्ता हुन पुगेछ
त्यसैले, उनीहरू
गाउँमा फर्केनन्, बस्तीमा फर्केनन्
र शहरका टोलहरूमा फर्केनन् ।
उनीहरूले दोबाटो–चौबाटोमा
“हामी भोका छौं” भन्ने राय व्यक्त गरेछन्
उनीहरू माथि लाठी बर्सिएछ
उनीहरू घाइते पारिएछन्
अझ, कसैले त झन
“हामीले खान पाउनु पर्छ” भन्ने
‘दुस्साहस’ समेत गरेछन्
त्यसैले उनीहरूमाथि
गोलिका पर्रा छोडिएछन्
र दोबाटो–चौबाटोभरि उनीहरू ढालिएछन् ।
भोका केटाकेटीहरूको क्रन्दनले
सुतेर खाने र खानासाथ सुत्नेहरूको
निंद कचल्ट्याएछ
त्यसैले, बेसाहा खोज्न हिंडेकाहरू
“शान्ति खलबल्याएको” अभियोगमा
जेलमा कोचिएछन्
अनि डालो, थुन्से र झोला बोकेर
हिंड्नेहरूको बाँकी लस्कर
घाइते भएर लडेछन्
घर फर्कन घिस्रिंदा–घिस्रिंदै
उनीहरू रगत छादेर
सडक र गोरेटोमै मरेछन्
त्यसैले उनीहरू
गाउ‘ र बस्तीमा फर्केनन्
शहरका टोलहरूमा फर्केनन् ।
रगत र पसिनाका आहार खानेहरूसँग
उनीहरूले अन्नपातको कुरा उठाएछन्
त्यसैले उनीहरूमाथि
लाठी र बन्दुक बर्सिएछन्
उनीहरूलाई भकुण्डो खेलाईंदै
फलामे बारभित्र धकेलिएछ
घाइते पारिएछन् र गोलीका पर्रा छोडेर मारिएछन् उनीहरू
त्यति मात्र होइन
उनीहरूको सम्पत्ती सबै
जफत गरिएछ
रित्तो झोला, थुन्से र डालाहरू समेत
खोसिएछन्
त्यसैले
घरमा भोको पेट लिएर
बाटो हेरिरहेका लाला–बालाहरूका
आसाहरू घर फर्केनन्
ओछ्यानमा समय गनिरहेका बृद्धाहरूका
जीवनहरू घर फर्केनन् ।
यसरी,
गाउ‘बाट, बस्तीबाट
शहरका टोलहरूबाट
रित्तो झोला, थुन्से र डालाहरू बोकेर
बेसाहा खोज्न निस्केकाहरूका ताँतीहरू
गाउँमा फर्केनन्, बस्तीमा फर्केनन्
शहरका टोलहरूमा फर्केनन्
उनीहरू कहिल्यै कतै
फेरि देखिएनन् ।

Min Dwandi – Dhuwan Ra Rolpa

धुँवा रूमल्लिएको छ घरमा
धुँवामा रूमल्लिएको छ घर
धुँवाले पिरिएको घर,
धुँवाले धैंसाएको घर
धुँवा अकासिएको हेरिरहेको छ
धुँवा अकासिने समय गनिरहेको छ ।
‘बैना’ पानी लिन छक्कालै गएकी हो
अझ आएकी छैन
ऊ आइपुगेकी छैन
उसले लगेको गाग्रो
आइपुगेको छैन
त्यसैले गाग्रो भएर
पानी आइपुग्न सकेको छैन
पर्खिरहेछ यो घर प्यास बोकेर ।
‘सम्पत्ति’ लाई पानी खुवाउन
गएको हो भाइ
सम्पत्ति पानी पिएर फर्के
तर ऊ फर्केको छैन
पानीको कुवासम्मको बाटोले
उसलाई निलेको हुनसक्छ
त्यसैले ऊ घर फर्कन सकेन ।
‘सरखार’ ले धारा बनाइदिएको छ
धारा विकासको प्रमाण भएर
ठडिएको छ यो गाउँमा
धारा छ, पानी छैन
ठडिएको धाराबाट पानी बग्दैन
धारासँग पानीको
कुनै सम्बन्ध छैन यो गाउ‘मा
धाराबाट पानी आउनु पर्ने
कुनै नियम छैन यो गाउ‘मा ।
पखाला लागेर नाति
मर्ने–बाँच्ने दोसाँधमा छ
ऊ यसबेला “पानी पानी” भनेर
कराइरहेको छ
रेडियोको विज्ञापनले
पखाला लाग्दा
नून चिनी पानी बनाएर
खुवाउनु पर्ने ‘नुख्सा’ सुनाएको छ
तर खै
अझै पनि बैना फर्केकी छैन
गाग्री भएर पानी आइपुगेको छैन ।
गाउँमा ‘सरखार’ ले
हेल्थपोष्ट बनाइदिएको छ
त्यसैले त्यहाँ एउटा साइनबोर्ड
सँधै झुण्डिरहेको हुन्छ
हेल्थपोष्टमा न त डाक्टर छ
न औषधी छ
पिउन नै यहाँ डाक्टर बन्छ, नर्स बन्छ
र बिरामी छाम्छ, जाँच्छ
रोग जे होस्
ऊ स्टोरमा बाँकी रहेकै औषधी दिन्छ ।
पानी लिन जाँदा गंगे ओली हरायो
खोज्न जाँदा केवल उसको
क्षत–विक्षत लाश भेटियो
केही वर्षपछि
रामे घर्तीको जीवन पनि
पानीको चाहनामै मेटियो
सरखारलाई त के छ र
गाउँमा धारा ठड्याइदिएर
कर्तव्य पूरा गरिदिएको छ,
यो गाउँमा
धारासँग पानीको वा सरखारको सम्बन्ध
अनिवार्य छैन ।
जनप्रतिनिधिहरू
केवल चुनावमा
बलियो घोडा चढी
यता आउने गर्दछन् ।
कहिले यी गाउँबाट धुँवा हराउला खोई ?
धुँवा हराउनु जरूरी छ गाउँबाट
कहिले यो गाउँमा
पानी आउने धाराहरू जडिएलान् खै ?
पानी आउनु जरूरी छ यो गाउँमा ।

Min Dwandi – Galti

तिमीले मलाई सधैं
लाखमा एक ठान्थ्यौ
तर म एकमा आधा पनि
सध्दे ठहर्न सकिन
गल्ति तिम्रो भनुँ
वा मेरो भनुँ ?
तिम्रो विषयमा
तिमी आफैं बोल
मेरो विषयमा सोध्छौ भने
मैले जीन्दगीभर
पछुताउन पुग्ने गरी
थुप्रै गल्तिहरू गरिसकेको छु ।