Krishna Joshi – Hiun Jhain Aayeu Hiun Jhain Gayeu

कृष्ण जोशी – हिउँझैँ आयौ हिउँझै गयो
(मधुपर्क बैशाख, २०६७)

हिँड्दा हिँड्दै
विष्फोट फाटेर
दोबाटोले तिमीलाई निलेको देख्थेँ
कहिले फेरि
अनजान मान्छेले जबर्जस्ती
अनजान ठाउँतिर लगेको पनि देख्थेँ

मेरा काला शङ्काहरूमा
तिमी हराउँथ्यौ पनि
देशको विस्थापित सीमास्तम्भ भएर
मेरो भूगोलबाट

देख्नु परेथ्यो कुनै दिन
नाम्चेको आरक्षणबाट निकुञ्ज भित्र नै
गोली लागेर मृत्यु छट्पटाइरहेको
एउटा कस्तुरी मृग

मायाले सुमसुम्याउनुबाहेक
कुनै उपाय थिएन मसँग
चिसो भयो त्यही क्षण हिउँ भयो कस्तुरी मृग
त्यो चिसो हिउँलाई
अर्थहीन मायाको अन्तिम सत्य प्रतीक सम्झेँ

अचानक
गोलीको रगताम्य घाउ लिएर
कस्तुरी मृगझै आयौ मसम्म तिमी पनि
त्रसित थिएँ उपचार गर्न नसक्ने
छरछिमेकलाई बोलाउन नसक्ने
बन्धित थिएँ काखमा सुमसुम्याउन नसक्ने

त्रसित मेरो मुटुमा
आवाजहीन भक्कानो फुटाउँदै तिमी पनि
चिसो भयौ त्यही मृगझैं हिउँ भयौ
अन्तिम उपहारमा मलाई
कस्तुरी वासना दिएर ।