“नारी के हो ?”
सोध्ने, “लौ विचार गर, म भरेतिर आउँला”
भनेर हिँडिहाले,
जवाफ दिनु थियो, त्यसैले मैले एक्लै बसेकी—
नारीलाई लुकेर हेरेको सम्झेँ; ऊ सिँगार गर्न लागेकी छ,
ऐनामा प्रतिबिम्बित आपनो हरेक अङ्गलाई ऊ
टोह्लाएर हेर्दी रहिछ,
अनि देखा परेको आफूलाई आँखा चिम्लेर खोज्दी रहिछ,
र्बिर्सँदी रहिछ; अनि फेरि ऐनामा प्रतिबिम्बित आफ्नो हरेक
अफ्नो हरेक अङ्गलाई टोह्लाउँदै निहार्दी रहिछ ।
ए सोध्ने कता पुगे हँ ? सुनिने दूरीसम्म मात्र उनी पुगेका भए
म उनलाई चिच्याएर भए पनि भनिदिन्छु,
‘उसको रुपलाई मात्र लिने हो भने
नारी आफैँ उसको र हाम्रो पनि आश्चर्य हो !’
सिँगार सिद्धिन्छ;
उसको मीठो अधरमा अब साँझको हावाले हल्लाएको
दीप–शिखाजस्तो मुस्कान खेल्नेछ;
अनि आफ्नो प्रेमीको अङ्गालोमा बाँधिएर,
हल्लीँदो मुटुको पीङ खेलेर उसको नानीमा ऊ
आफुलाई निहारेर हेर्नेछ,
अनि सुतेपछि स्वप्नमा आपैmलाई देख्नेछ;
आफ्नै उपस्थितले रमाइलो भएको सपनाको
जूनमा ऊ अभिसार गर्नेछ ।
ए सोध्ने कता पुगे हँ ? सुनिने दूरीसम्म मात्र
उनी पुगेका भए उनलाई म चिच्याएर भए पनि
भनिदिन्छु, ‘उसको रुपलाई मात्र लिने हो भने
नारी आफैँ उसको र हाम्रो पनि आश्चर्य हो !’
नारी जस्तो यहाँ सुन्दर निर्माणजस्तै सपना
र सपनाजस्तै बुरबुरे भएकी छ, उस्तै ऊ विनाश
जस्तै खँदिली पनि छ;
ऊ झाँक्रो फिँजाएर युद्धमा आँधी भएर आउँदा
संसारलाई मसान तुल्याउँदै हुर्रिएकी पनि छ ।
यो त कथा भो, सुनेको कुरा भो;
मैले यहाँ नारीलाई धेरैजसो बरबरी रोएको देखेको छु ।
ए, सोध्ने कता पुगे हँ ? उनलाई म नारी यसरी
रोई भनेर उनको आँखामा केही आँसु ल्याउँछु,
अनि आश्वासन दिंदै भन्नेछु;
‘हो नारी रोई, तर ऊ आँसु मात्रै होइन;
कहीँ कहीँ उसले आफूलाई पाई पनि सकेकी छ !’
नारीको निर्माणको बारेमा मैले यस्तो हल्ला सुनेको छु—
चकमन्न रातमा ताराहरुले कानेखुसी गरेको सुनेथेँ
बूढा ब्रह्मा साराका सारा जूनकीरीहरुलाई
पछि लाएर संसारको सबभन्दा सुन्दर कुञ्जभित्र
चाहिने सर्दाम लिएर पसेछन् । सर्दाम यस्तो रहेछ;
रवि–शशिको पृथ्वीमा पर्ने, मरेको आधा तेज (त्यसै बेलादेखि आधी
पृथ्वी अँध्यारो भएको रे !)
आकाशको समात्न सकिने भाग;
आगोको छोए पनि नपोल्ने चाहिँ हिस्सा;
इन्द्रधनुको अदृश्य आधा चक्का बुन्ने हावा
जसको एक खुट्टा पानीमा र अर्को खुट्टा घाममा पर्दछ ।
यति सर्दाम लिएर जूनकीरीहरुको प्रकाशमा
बूढा ब्रह्मा नारी निर्माण गर्न लागेछन् ।
बनाइसकेपछि उनी हर्षले गद्गद भएछन् ।
उनले त्यस बेला छोडेको खित्का हावाको हरेक झोकामा
अझै ओसारिदै छ रे ।
मैले यो कुरा ताराहरुबाट आफैले सुनेको भनेछु ।
हैन ब्यारे, मैले यो रहरलाग्दो झुट बोलेँ ।
यस्तो राम्रो कुरा आफैले सुनेर पृथ्वीमा सबभन्दा
पहिले ल्याएको छु भन्ने श्रेय लिन को नचाहोस् ?
कुरा के भएको थियो भने ताराहरुले त्यो कुरा
रातभर आफ्नो सुनौला मनमा खेलाइसकेपछि,
पछि बिहानीपख नारीको गाला रङ्गको गुलाफको
पूmलमाथिको शीतको थोपालाई भनेर लुकिहाले;
शीतको थोपाले नारीको आँखाको नानीजस्तो
कालो भमरालाई सुनाएछ;भमराले नारीको
कपालको कालो रङ्गको नाता परेको कोइलीलाई
सुटुक्क भनेछ । अनि कुञ्जमा कोइली ‘को हो ! को हो !’ भनेर
मलाई पर्खिरहेको रहेछ । म पुगिहालेँ ।
उसले मलाई भनिहाल्यो ।
भएको कुरा यै हो ।
ए सोध्ने कता पुगे हँ ? टाढै पुगिसके होलान् ।
भरे आउनेबित्तिकै मलाई कोइलीले भनेजस्तै गरी
सबै कुरा एक–एक गरेर भनिदिन्छु ।
साथसाथै यो पनि भनिदिन्छु नारी सृजनकर्ताको आनन्द हो ।
बूढा ब्रह्मा अझै हाँस्तै छन्,
नारीले केटाकेटी छँदा पुतली लखेटेको देखेर, यौवनमा
आफ्नै छायालाई लखेटेको देखेर, पछि आफ्नै
प्रतिरुप केटाकेटीलाई माया गरेको देखेर ।
नारी के गर्छे !
ऊ चन्द्रले समुद्रमा झैँ हाम्रो हृदयोदधिमा
हाँसो र आँसुको ज्वारभाटा उमाल्छे ।
हाम्रो हृदयबाट अँजुली भरेर ऊ आफुलाई त्यसमा हेर्दछे ।
अनि नुहाउँछे । उसको यो रहस्यमय खेललाई
म के भनूँ ? प्रेम ?
सोध्ने भरे आउँछन्, बरु अलि ढिलो गरेर आऊन् ।
त्यतिन्जेल यी मीठा तीखा कल्पना र चित्रहरुलाई छहारीमा
बसेर गाईले घाँस उग्रेझैँ गरी म मनमनै खेलाइरहन्छु ।
उनी आएपछि एक–एक गरेर सबै कुरा भनिदिन्छु ।
साथसाथै यो पनि भनिदिने विचार गरेको छु, ‘हेर बाबै !
कृपा गरेर अर्कोचोटी यो प्रश्न गर्दा तिमीले
‘नारी’ शब्द बोल्दाखेरि देखिएको तिम्रो आँखाको चमकलाई
मेरो हृदयको गहिराइमा नहराउने गरी छाड्न नबिर्से
किनभने त्यो चमक नभए नारीउपरको हरेक बिचार
रुखो हँदो रहेछ, त्यो चमकबिना
नारी ‘नारी’ शब्दमा अटाउन पनि आटाउन्न ।’
Tag: Literary work of Nepali Poet Gopal Prasad Rimal
Gopal Prasad Rimal – Santwana
तिमी नरोऊ, बस केही बेर पर्ख मात्र
संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा आइपुग्नेछ,
तिम्रै अङालोमा अटाउन आइपुगनेछ,
उसको त्यो धप्प बलेको अनुहार
भरे तिम्रै मधुरो दियालोमा देखिने हुनेछ,
तिमी नरेऊ, बस केही बेर पर्ख मात्र ।
हो, उसले आफूलाई बेग्लैबेग्लै तुल्यायो,
झ्वाट्ट चिन्न नसकिने तुल्यायो,
आफ्नो मायालु हृदयलाई ठोकठाक गरेर साह्रो तुल्यायो,
आफ्नो हलुका लयालु बोलीलाई कडा र गह्रौं तुल्याये;
हो, उसको लठ्ठ परेको स्वप्निल हेराइ तीखो र रुखो भयो,
उसका नरम केश लट्टा परेजस्तै भयो;
ऊ फुस्रोधुस्रो जोगीजस्तै भयो;
किनभने उसले संसारलाइए ठानेभन्दा अर्कै पायो,
उलटपुलट गरिदिनुपर्ने पायो,
ऊ त्यसैले योद्धा भयो, कम्मर कसेर लडिरहेछ !
होइन, ऊ निठुरी भएको होइन,
माया मारेको होइन,
तिमीलाई बिर्सेको होइन,
चाँडै ऊ तिम्रो मायालु काखमा थकाइ मार्न आउनेछ,
तिम्रै अङालोमा अटाउन आइपुग्नेछ,
संसार हाँक्दै आगाडि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा फर्कनेछः
होइन, नआत्तिऔं,
ऊ भेट्टाउन नसकिने गरी पर पुगेको होइन,
आइलाग्नेमाथि जाइलागेको मात्र हो,
ऊ त्यसै पर पुगेको होइन ।
बरु तिमी निन्याउरी नहोऊ, तिमी हँसिली होऊ,
तिमी उज्याली भइदेऊ,
आफ्नो केही वस्ता नभए तापनि
उसलाई तिम्रो पूरा वास्ता छ,
आफू बेखबर लडिरहे तापनि तिम्रो खबर ऊ बराबर लिन्छ,
त्यसैले तिमी चहकिली होऊ,
तिम्रो खबर पाउँदा उसलाई बल र साहस आओस्,
तिमी उसको शक्तिको स्रोत भइदेऊ,
होइन, नआत्तिऔं,
ऊ भेट्टाउन नसकिने गरी पर पुगेको होइन,
लडाइँ खेल्दै पर पुगेको योद्धा
भरे तिम्रै आखमा खेल्न आइपुग्नेछ,
संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा फर्कनेछ ।
उसले मन दरो पा¥यो, तिमी पनि दरी भइदेऊ,
उसले प्राणको निम्ति प्राण दियो त
तिमी कत्ति काम नहोऊ,
भरे “तिम्रो मायामा म पग्लें,
प्रिये, म फर्केँ” भनी तिम्रो आँचलमा
आफ्ने कालो अनुहार लुकाउन आइपुग्यो भने
मर्नु भएन ?
त्यसैले तिमी पनि प्राण गर, भनिदेऊ,
“म हारेको अनुहार हेर्दिनँ,
लडाइाबाट पीठ फर्काउनेको निम्ति
मेरो घरको दैला खुल्दैन,
मेरो अङालोको हार हार्नेको निम्ति होइन,
मेरो जयमाला विजेताको निम्ति हो ।”
भनिदेऊ, नडराऊ,
हाम्रो शिर ठाडो हुन नदिने गरीबीको विरुद्ध,
हामीलाई बोल्नै नदिने गरीबीको विरुद्ध
हामीलाई बाँच्नै नदिने गरीबीको विरुद्ध,
हामीलाई केही थाहै नदिने अज्ञानताको विरुद्ध
कम्मर कसेर लडिरहेछ;
जित उसैको हुन्छ ।
भनिदेऊ,
हो, तिमी उसको शक्ति भयौ,
जित उसको हुन्छ ।
ऊ चाँडै नै फर्कन्छ,
उसको धप्प बलेको अनुहार तिम्रै मधुर दियालोमा देखिने हुनेछ,
लडाइँ खेल्दै पर पुगेको तिम्रो योद्धा
भरे तिम्रै काखमा खेल्न आइपुग्नेछ,
संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा आइपुग्नेछ ।
Gopal Prasad Rimal – Yo Ke
मेरी रानी, साँचो बोल, यो लागूजस्तो न्यानोपन
जे म तिम्रो काखमा पाउँछु;
यो सपना जो तिम्रो आँखामा म देख्दछु, यो के ?
तिमीनिर आइपुग्दा यो सन्चो लागेजस्तो
अथवा रगतमा बाढी आएजस्तो
मलाई जे हुन्छ, यो के ?
अनि आफूलाई च्यातचुत पारेर तिम्रो पाउमा
चढाइदिऊँ यसनिम्ति कि तिमी त्यसलाई लिएर जेसुकै गर;
अथवा म यस्तो हुँ कि
तिमीलाई हेर्दाहेर्दै म नहुँ भनेजस्तो
यो पागलपन, यो के ?
मेरी रानी, साँचो बोल, यो के ?
फेरि यिनै कुरा मात्र साँचा हैनन् कि
तिमीलाई देख्नेबित्तिकै म सास लिएजत्तिकै
सपना लिन लाग्दछु;
कि म आफुलाई बिर्सेर तिमीलाई सम्झन्छु
क म तिमीमा डुबेर
आफुनो अस्तित्व मेटाउन चाहन्छु
यी कुरा मात्र साँचा हैनन्,
अर्को कुरा पनि त्यत्तिकै सत्य छ–
म तिमीलाई कहिलेकाहीँ आफ्नो मुठ्ठीको माखोलाई भैmँ
एकदम मारी मेटिदिऊँ र ती सब कुरालाई
एकदम, खतम पारिदिऊँजस्तो लाग्दछ—
उकदम, एकैचोटि !
मेरी रानी, साँचो बोल, यो के ?
समय दगुरिरहेछ, पर्खनलाई बेला ज्यादै नै कम छ,
घाममा परेर ओइलाइहाल्ला भन्ने डरले
पूmल फुल्नेबित्तिकै टिप्न हतार भइहाल्छ,
हरेक हावाको झोकाले उछिनेर लुटिदिहाल्ला भन्ने डरले
हतपताउँदै फुल बटुल्नुपर्छ,
पोल्टामा सुखका सपनाहरु हालेर
हरेक पला दौडिरहेछ
गयो कि फर्कन जान्दैन,
जीवन बितिरहेछ ।
मेरी रानी, चाँडो भन, यो के ?
Gopal Prasad Rimal – Kavi Hridayama
मनव–वनमा कहिलेदेखि झर्न लाग्यो निर्झर
जसको इन्द्रधनुषले गर्दा जीवन भो सुन्दर–सुन्दर
यसको प्रवाहमा देखिन्छन् उज्वल फीँज र फोका
स्वच्छ निर्मल अनन्तजस्तै अणुअणुसम्म सादा
कलपनाको रङ्ग चढाई फुकिदिन्छु तिमीहरुलाई
जो उड्नेछन् सबको मनोगमनमा रुवाई हँसाई
सुख–दुःख रङ्गिन्छन् कहिले, मानव–जीवनका दुई रङ्ग
कहिले प्रेम–शशिको प्रकाशमा हृदयोदधिको जवार
कहिले पातपातमा टल्किरहने अनन्तताको शीत
विश्व–गीतमा नाचिरहेको सौन्दर्यको काखबीच
निर्झर पर्वत, वनहरुमा सौन्दर्यको जति छाप छ
मानव–आत्मामा उत्तिकै त्यै रमणीयताको भाग छ !
Gopal Prasad Rimal – Mero Prem Ko Katha
एउटी काली ठिटी थिइन्, बोल्नै सकिनन्
मेरो रवाफ सहनै सकिनन् ।
म तिनको राजा थिएँ, तिनी मेरी हुन सकिनन्
ढोकेकी छोरी रहिछिन्, ढोकेसितै बोलिन् ।
तिनी जङ्गली युगकी रहिछिन्, बर्बरता तिनको धर्म रहेछ,
म मानिसको अगिल्तिर के टिक्थिन् ?
अर्की तिनीजस्तै नै बरु काली रहिछिन्
तिनले मलाई सपनामा पाइन् रे
किनभने बिपना बन्धन थियो
बिपनामा खेल मात्र थियो ।
यिनले मलाई बचाइन्, सपनामा पाउनेजस्तै
तिनले चाहिंँ मार्न खोजिन्, रगत पिइन्
बिपनामा नालायक ठहरिएजस्तै ।
कालीहरुको कथा आयो, गोयो ।
अब गोरीहरु छुत्ती खेल्दै छन्
म पनि खेल्दै छु ।
यस्तो प्रेम आखिर लीला न हो
लीलाले पनि मलाई अलमलाउन सकिनन् ।
लीलासित हरदम पाचुके नै छ ।
मलाई त प्रेम र क्रान्ति बराबर छ
सङ्क्रान्ति त महीनौंमहीनौं भइ नै रहेछ ।
मलाई त क्रान्तिसित खेल्ने बानी छ
त्यसैले क्रान्तिले मेरो छहारी सकार्नु छ ।
म त्यसैले जोडा छु, जोडा हुन्छु
क्रान्तिले मलाई नमस्कार गर्न बाँकी नै छ ।
मैले त क्रान्तिलाई सलामी दिसकेँ
क्रान्तिले मर्द भएर सलाम फर्काउन बाँकी नै छ ।
म त्यसैको प्यासो छु, त्यसैको प्रेमी छु
क्रान्तिले मलाई प्रेम गर्न बाँकी नै छ ।
म क्रान्तिको भोको छु
क्रान्तिले मेरो छाक टार्न बाँकी नै छ ।