Ashok Rai – Thaha Napayeko Bainsh

अशोक राई – थाहा नपाएको वैंश

वैंश नचिनेर उसबेला
म त भुसुक्कै !
हाँसखेलै भएन
मन खै किन हो कसैप्रति
एकोहोरो नै भएन ।

धेरैले माग्यो मेरो वैंश
जागिरेले माग्यो
मास्टरले माग्यो
प्रोफेसरले माग्यो
नेताले माग्यो
अलाहुरेले माग्यो
देशी विदेशी लाहुरेले माग्यो
कसैलाई दिन मन लागेन
मेरो वैंश ।

मनको धनी म
धन देखाउने सित त अझ
वैंश साट्न मनै लागेन
त्यसैले
‘लाहुरेको’ सुनमा त
मेरो वैंश साट्नै मन लागेन ।

तर……..
तर अहिले लाग्छ
ऊ सित मनपनि थिएछ ।

घर मास्तिरको जूरे काफल र
देउरालीमा फूल्ने लाली गुँरासले
मलाई सम्झा’कै हो
“कान्छी !
एकबारको जूनी दिईहाल उसैलाई”
साँच्ची उस्ले मायाको कसम खाँदै गर्दा
त्यो दिन
आँगनको गुलाब धपक्क फक्रेको थियो ।

वैंश नचिनेर उसबेला
म त भुसुक्कै !
खै अहिले
वैंश फर्केर आए त
त्यो बेँसी खेतै बेची दिन्थेँ ।