Shrawan Kumar Dhungana – Chhalang

श्रवणकुमार ढुंगाना – छलाङ्ग

ऐ मेरा सपनाका सहयात्रीहरू हो
अबदेखि म सँग यात्रा नगर
म हावामा अग्लिएको भाषण न हुँ
अबदेखि मेरो भर नपर !
ति दिन पनि थिए—
शिर माथिको टोपीलाई सगरमाथा सम्झें
र अग्लिएँ !
पाइताला मुनिको धर्तीलाई आमा सम्झें
र झुकें !
मेरो कुराले तिम्रो हृदय पानी पानी भयो
र म जस्तै बन्यौ
र मै सँग हिंड्न थाल्यौ ।
धेरै जंघारहरूमा तिमीले बोक्यौ मलाई
धेरै पहाडहरूमा तिमीले बोक्यौ मलाई
सायद तिमीलाई लाग्यो—
तिम्रो शिरको टोपी जोगाइदिने म नै हुं
तिम्रो पाइतालाको धर्ती जोगाइदिने म नै हुं
र सायद मलाई लाग्यो—
म तिम्रो राम हुं
र तिमी मेरो हनुमान !
मलाई देवता झैं मान्ने मेरा साथीहरू
अबदेखि मेरो आश नगर
म त मरुभूमिमा टल्केको धूलो न हुं
अबदेखि मेरो विश्वास नगर ।
हिंड्दा हिंड्दै मलाई
तिम्रा खुट्टाले मात्र पुगेन,
मैले शैतानका जादुमयी खुट्टा पाएँ !
चढ्दा चढ्दै मलाई
तिम्रा काँधले मात्र पुगेन,
मैले खरदुषणका बलिष्ठ काँध पाएँ !
मलाई थाहा छैन
ममा उन्मत्त भैरव चढे
वा, म उन्मत्त भैरवमा चढें !
हिजो कबाट कलम थियो
त्यो आज कर्द भयो
हिजो ख बाट खरायो थियो
त्यो आज खड्ग भयो
हिजो गबाट गधा थियो
त्यो आज ‘गडफादर’ भयो !
………….. ……….

हिजो छबाट छलागं बनायौं
त्यो आज छल भयो !
मेरो ज्ञान उल्टियो
मेरो पहिचान उल्टियो
आज सत्ताको शपथ सँगै
मेरो इमान उल्टियो !
हामीले सधैं भन्ने गरेको
र म आफूले सक्ने सबै भन्दा ठूलो छलागं
यही नै थियो !
ऐ मेरा शपथका सहधर्मीहरू
अबदेखि मेरोलागि नमर
म त कलमसँग साटिएको तरवार न हुँ
अबदेखि मेरो छेउ नपर ।