Laxmi Prasad Devkota – Bhoot Lai Jhataaro

क.

प्रकृतिले जब व्यङ्ग्य रेखिन्
चेहरा तिनका बने,
नेपालीको भान लेखिन्,
बान् भो हाम्रो भने ।

ख.

सब गधाले खुशले ऐंके,
भ्यागुताले गाए कें कें,
भो भुजङ्गजाति प्रसन्न,
मातृ–भूका पुष्प रोए !
धन्य तिनको जन्म धन्य !

ग.

(हुन त केवल शुक्र–कीरा ! )
ज्योतिषीले नाम राख्यो
कोहेनूर ! वाह ! विश्वहीरा !
नामजस्तो व्यङ्ग्य के छ ?
मणिधर भन्छन् सर्प जो छ
नेपाली रे देश–धमिरा,
अङ्ग नै मानिन्छ राम ! राम !
सब खटिरा !

घ.

(व्याकरण मिल्दैन, सड्छ)
माफ गर्नोस् !
हँस्सी मात्रै लेखिरैछु,
आँसु झार्नोस् !
पातालपुरीको गद्य भो !
अङ्ग्रेजीको उल्था जस्तो !
हिन्दी वा नेपाली यो !
तैपनि के दालरोटी–
निम्ति कलम नरेटूँ यो ?

ङ.

गधाका बच्चा हुन्छन् पाजी
भ्यागुताका के हुन् काजी ?
खूब पढाउँथे ती गुरु !
(गुणशील गुरुका पुच्छर थिए
लौरो सीङ ?) भो है कथाको
होस् न छिटै पो शुरु !

च.

“ए गधा हो ! ‘फ्रग’ को माने ?
भ्यागुतो ।”
“फ्रगको माने भ्यागुतो ।
फ्रगको माने भ्यागुतो ।”
“के रे ? के रे ? के रे ? के रे ?”
“भ्यागुतो
भ्या ! भ्या–गु–तो ।”

छ.

एकादशीको दिन थियो
पशुपति ल्याएछ कालले
एक दिन निज धम्र्ममा,
मरन्च्याँसे, अक्षता–आशे !
मालिक सम्शेर कोही सम्झे
वेकुण्ठ सुख–टर्ममा
चाकरीका निम्ति आए–
शिवको, अनि शेरको औ खीरको

ज.

धम्र्मराही धर्मराई
भस्मेश्वरका पासमा
चिता सँुघेछन् आफ्नो है,
ढल्को तनको भासमा ।
“हे ठिटा हो ! ”बोल्न थाले,
“भातृभाषा मर्दछिन्,
नेपाली बाँच्दैन कहिल्यै
हिन्दीले राज गर्दछिन् ।”

झ.

मानिस मर्ला भन्ने डर पो !
आत्मा भरी छारो चल्यो,
वेद तत्पर डग्मगाए
गीता जल्यो, गाीता जल्यो ।

ञ.

बोल्न एउटा लाज हो जब
मानिस भैकन साँप स्याँक ! स्याँक !
भ्यागुतो क्याँक ! क्याँक
लगुड हाम्रो भै सजीव
बोल्छ हातमा–
‘टाउको टयाक ! टयाक !’
(माफ गर्नोस् तीतो लागे ! )
सग्लै छन् ती मन्त्र बोलूँ
‘फर्सी फ्याक ! फ्याक ! ’

ट.

बाँसमाथि राख नरिवल
काक झुत्रो एक बनाऊ
तीतेपातीले सजाऊ
स्मारक एउटा महापुरुषको
मलको ढिस्कोमा बनाऊ !

ठ.

मुर्दा बोल्थ्यो नेपालीमा
छक पयौं ।
क्या गह्नायो मुखको गन्ध ।
थुक गयौं ।

ड.

सिलटिम्मुर बरफसाथ
ल्याऊ पहेंला चाँवल,
श्याम भाग्छन् रात भरभर
यस्ता मीठा पागल !

ढ.

हीहीहह ! हीहीहह !
बोल्यो गधा !
छेपाराले मुत्दछन् रे
यस्ता बुज्रुगका चिहानमा
सर्वदा !

ण.

खूब झरीमा एक कुकुर
स्याउँ स्याउँ कीरा
सड्थ्यो लाचार ! नाम सोधेँ,
रै हीरा ।
झन्डै झन्डै मै मरेथें
त्यो गह्नाई
बान्ता आई !
तिम्रो बुद्धि ! गिद्धलोचन !
यस्तै लाग्यो है मलाई !