मनीषा अवस्थी – अदालत
ऊ आयो मेरो छेउमा
आयो छेउमै टक्क अडियो
आँखामा आँखा जुधाउनै नपाई
अस्ति मैले दिएको घुस सम्झेछ क्यार
ऊ निहुरियो
मेरो मन पनि हलचल नै थियो ।
आफ्नो वर्चश्वका निम्ति देखाइएको पैसा
त्यही अनुहार फर्केर आउँदा
फेरि माग्न वा माग्न लगाउन
किन आएको हो कुन्नि
म पनि त्यसै निहुरिए ।
मौन हामी दुबै भ्रष्ट्राचारी
क्षणभरपछिको समयको प्रतीक्षामा
वर्सौ जस्तै कुरिरहेका दुबै
अनि हलचल दुबै मन
कमजोरी, गल्ती या बाध्यता
वा मेरो र उसको आवश्यकता
जुधेछ क्यार त्यो दिन ।
भ्रष्ट्राचार गर्न र गराउन बाध्य हामी
आज आफ्नै अदालतको कठघरामा
उभ्याइदियो आफ्नै मनले
बर्दिधारी प्रहरी हा.. हा …
भन्दा भयानक त यही मन
न त ढाँट्न नै सकियो न लुकाउन
त्यसैले त बाध्य छौ आफ्नै अदालतमा
मन र इच्छाको बहस गराउँदै
अनि आफैलाई भ्रष्टाचारी ठहराउँदै
मौनताको फैसला
शिर निहुराउने यो फैसला
फलामे बार भित्रको कारागारभन्दा भयानक
यो मनको फैसला ।