Lakshmi Mali – Rapti Ko Bagar

अस्तव्यस्त जीवन
कोलाहल सडक
धुलो, धुवाँको शहर
कालो तुवाँलोले छोपेको आकाश
प्रदूषित वातावरणलाई थन्क्याएर
राप्ती
तिम्रो शान्त बगरमा
तिम्रो शितल लहरमा
उन्मुक्तिको सास फेर्न
कैयन उकालीहरु नाघ्दै
ओरालीहरु झर्दै
आएको छु तिम्रै बगरमा ।
विश्राम पाएको छ
तिम्रो कलकलाउँदो स्वरमा
कानको थाकेको जालीले
फुर्सत यसैलाई भन्छन् क्यारे
मन यति शून्य छ कि
कुनै हतार छैन
कुनै सम्झनु पर्ने कुरा छैन
बिर्सियो कि भन्ने चिन्ता पनि छैन
कसैको प्रतीक्षा छैन
कहीँ पुग्नुपर्ने पनि छैन
विश्राम ! विश्राम !
तिम्रो बगरमा
दुई ढुंगाको कापमा
खरखराइले
जितपुरको माझी दम्पतीले
बनाएको घर
तिमीभित्र माछा खोज्दै
दिन बिताउने जीवन
गौंथलीले गुँड लाएका प्वालहरु
मैनाको पर्खाइ
गौंथलीको बसाइँ सराइ
क¥याङ्ग कुरुङ्गको जुलुस
यी प्रकृतिका सुन्दर छटाहरुले गर्दा
केही क्षण भए पनि मुक्ति मिलेको छ
यान्त्रिक जीवनबाट
तिम्रो निलो शान्त सगरमुनी
हरियो चिसो पानीमा
नुहाउन आएको छु
राप्ती
तिमीसँग मायाप्रिति लाउन
बिहानीको मिर्मिरेमा
घाम तिमीसँग खेलेको हेर्न
रुखका पातहरु हावासँग नाचेको हेर्न
रुखका हाँगा हाँगामा
टोड्का टोड्कामा
उड्दै गाउने चरीको गीत सुन्न
म फुर्सद लिएर आएको छु ।
गोठालोको सुसेलीमा
गाईको मुरमुर चपाइमा
मेरो सुस्तसुस्त पदचापमा
बल्सी लाएर बस्ने माझीले
शंकालु आँखा लाउँदै
खोलाको पानीभित्र नियालेको दृश्य
मलाई आश्चर्य लाग्छ
मेरो शहरको
यान्त्रिक भाषाका स्वरहरुसँग
तुलना गर्न मन लाग्छ
तिम्रो चिसो पानीमा
मेरो शरीरले स्पर्श पाउँदा
संजीवनी निलेजस्तै
मेरो अंग–प्रत्यङ्ग
रोमाञ्चित हुनपुग्छ
मेरो मन तिमीसँग आत्मसात
हुनपुग्छ
त्यसैले
मेरो व्यस्त जीवनलाई
शान्ति र विश्राम दिन
म फुर्सत बनाएर आएको छु
राप्ती तिम्रो बगरमा ।