Lakshmi Mali – Ama Timro Nam Ke Ho

हजूरबा छोरी भन्नुहुन्छ
मामा दिदी भन्नुहुन्छ
बाबा श्रीमती भन्नुहुन्छ
म आमा भन्छु
आमा तिम्रो नाम के हो ?
म विद्यालय गएँ
महाविद्यालय गएँ
त्यहाँ तिम्रो नाम चाहिएन
धेरैलाई आफ्नो परिचय दिएँ
कसैबाट तिम्रो नाम सोधिएन
म बालिग भएँ, मताधिकार पाएँ
मेरो परिचयपत्रमा
तिम्रो नाम लेखिएन
म नागरिक भएँ
बाबुकै नामबाट
म जागीरे भएँ
बाबुकै नामबाट
म बेनाम आमाकी छोरी
भन आमा तिम्रो नाम के हो ?
कसैबाट सोधनी नगरेको
कतै उच्चारण गर्न नपरेको, तिम्रो नाम
सार्वजनिक गर्न चाहन्छु म
धर्ती भन्ने उपनाम होइन आमा,
मलाई तिम्रै नाम चाहिन्छ
भन आमा तिम्रो नाम के हो ?