तेजविक्रम कार्की – लाहुर जानु अघि
कसरी चलिरहेको छ सास?
म हेरीरहेछु भिरबाट तल
भर्खरै खसेको सपना
र सोचिरहेको छु
अचेल मलाई किन निद्रा पर्दैन?
भर्खरै यो सुनसान सडकको सन्नाटा चिर्दै
थला परेर भोक हुईकिएको छ एम्बुलेन्समा
चिरेर स्तब्धता
डढेलो लागेका मान्छेका अवशेषहरू बोकेर
चलिरहेछ बतास
मैले सहरमा आफैलाई लिलाम राखेर
छातीमा उमालेको छु एउटा ढुङ्गा
आमा भन्नुहुन्छ
बाबु तिमीले बाँच्नु पर्छ यॊ भूगोलमा
जिवनको निरास बत्ती बूझाएर
र म सोचिरहकोेछु
अचेल मलाई किन निद्रा पर्दैन?
अचेल मलाई किन निद्रा पर्दैन?
देखेर चलिरहेको बतास
सुनेर लहरहरूको पदचाप
लाम लागेर पासपोर्टका हूलहरू
कठ्याङ्ग्रिएर हरियो भएको
देश
विश्व मानचित्रमा खोज्दैछु आफ्नै अनुहार
र सोचिरहेछु ति आँखाहरू
फर्किएर किन आएनन्?
पिढीमा पर्खिरहेका हजुरबा
हजुरबाको निकोटिन भरिएको चिलिम
चिलिममा जलिरहेको छ रहर
छेउमा बा र उहि पुरानो खोकी
पढेर जिवन मेरो आँखा भरी
बा भन्नुहुन्छ जिवनको लडाई कठिन छ
त्यो भन्दा नि कठिन छ बिर्सिएर हिड्न
तिमी जन्मेको माटो
भन कतै हराएको त छैन?
तिम्रा आँखाहरूमा देशको नक्शा
या पिडाको सिङ्गै पहाडले थिचेर
रोई रहेछौ कि कतै देशको निम्ति
तिमीलाई पनि यस्तो हुन्छकी?
जसरी म सोचिरहेछु
अचेल मलाई किन निद्रा पर्दैन?
– मगलबार, 24 आसाढ, 2071