Kusum Gyawali – Paani

नचल्ने घोषणा गर्दैमा बराजुले
पानी अचल हुन सक्तैन
बादलका कोमल गुल्थाहरूले पनि
पानी बनेर सहजै भत्काउँछन्
प्रतिवन्धका चट्टानी कानूनहरू

लाग्दो हो बराजूलाई देखेर अग्ला बाँधहरू
आदेशहरूले अविछिन्न थुन्न सकिन्छ पानीलाई
पातले छाँगाबाट हाम फाल्दा लाग्दो हो वराजुलाई
एकै चिहानमा गाड्न सकिन्छ सहजै पानीलाई
बोकेर पनि छातिमा आगो
शान्त र ठन्डा भएरै बग्छ पानी
निस्कँदा अविराम संघर्षयात्रामा खोला-खोल्साहरूमा पानी
ठट्टा गर्छ असारका ब्यस्त रोपाहारहरूसँग

अराजक मानिदैन पानीले नमान्दा पनि कुनै
शक्तिका अकाट्य सिमानाहरू
समुन्द्रको शालीन गाम्भीर्य नाप्न सकिएको
मानक गहिराइ हो
पानी थुन्न खोज्दाखोज्दै पहिरोका लामा हातहरूले
पहिरोमै बगेका छन् कैयौं घमन्डी पहाडहरू
भासीएको सेतीको पानीसंग मान्छेले नभेटेको
लज्जाको गहनता हुन्छ
पूराणले रङ्ग घोल्दैमा पानीमा
पानी कहिल्यै रङ्गिएन उन्मादले

हराउँछन् पढ्न नभ्याउँदै पानीमा लेखिएका
सिमानाका आकारहरू
तिनै अक्षरहरूका लागि
भयानक युद्ध लडे मान्छेहरूले
युद्ध समाप्तीको टेवुलमा
नभेट्दा पानीमा कुनै आकृति
पानी कहिलै दोशी मानिन सक्तैन

बराजु ! तिमीले पढ्न सकेनौ भनेर
संघर्षका गतिशील पानीयात्रा
गतिहिन बन्न सक्तैन पानी
बुझ्न नसकेपछि ओजोनका प्वालहरू
ग्रहण पखाल्न सक्तैन पानीले
पानी परिभाषित हुदैन
पूराना जंगली गीतहरूले

नवजात शिशुलाई नुहाई दिंदा
पानीमा अलिकति आमा बग्छे
खसीरहँदा नशामा स्फटिक स्लाइनको प्रवाह
पानीमा अलिकति प्रेयसी बग्छे
भञ्ज्याङ्गमा प्यास मेटाउँदा भरियाको
पानीमा अलिकति जीवन बग्छ

त्यसैले
छिमेकीले देख्ने गरी मलाई पानीको इतिहास लेख्न देऊ
झुप्राको वस्ती नडुब्ने गरी मैदानमा
मलाई पानीको आत्मावृत्तान्त लेख्न देऊ
सपनाहरूको राजधानी हो पानी
मलाई गहिरो आस्थाले सलाम गर्न देऊ।