Kshetra Pratap Adhikari – Mero Maya Timro Maya

क्षेत्रप्रताप अधिकारी – मेरो माया/ तिम्रो माया

मेरो माया त्रिशूलीको पानी
गैरो भएछ
तिम्रो माया कृष्णभीरको माटो
पैरो गएछ ।

त्यो पानीमा डुबिरहेछु
त्यो माटोले पुरिरहेछु
त्यतै कतै मलेखुमा
तिम्रो बाटो कुरिरहेछु ।

तिम्रो माया नागबेली बाटो
गारो रहेछ
तिम्रो माया चप्लेटी ढुङ्गा
सारो रहेछ ।

त्यही बाटो गुडिरहेछु
त्यही ढुङ्गा चुमिरहेछु
त्यतै कतै त्रिशूलीको
भुमरीमा घुमिरहेछु ।

तिम्रो माया दामनको चिसो
हिउँ परेछ
तिम्रो माया सिमभञ्ज्याङ काटेर
कतै झरेछ ।