Kshetra Pratap Adhikari – Ful Ko Kavita

क्षेत्रप्रताप अधिकारी – फूलको कविता

मलाई थाहा थियो
तिमीलाई फूलको कविता मन पर्छ
मलाई थाहा थिएन
रगतको पोखरीमा उभिएर कसरी कविता लेखिन्छ !

अनि, मलाई थाहा थियो-
तिमीलाई परेवा घुरेको
प्रशान्त प्रेमको कविता मन पर्छ
तर मलाई थाहा थिएन
परेवाको गुँड भत्केको बेला
प्रेमको कविता कसरी लेखिन्छ !

खलङ्गामा आगो फुलेको बेला
इन्द्रकमलको कविता लेखेको भए
तिमीलाई मन पथ्र्यो होला
द्रौपदीको व्यथा बिर्सेर
दुःशासनको गाथा लेखेको भए
तिमीलाई मन पर्थ्यो होला
आफू त-
शकुनि हुन पनि सकिएन
कागतको फूल लेखेर
त्रि्रो मन छुन पनि सकिएन ।

मङ्गलसेनहरु मरेको बेला
सबैले अलिनो खानुपथ्र्यो
कर्णालीमा डढेलो लागेको बेला
दमकलभरि कोशी जानुपर्थ्यो
देशको हाराकिरी भैरहेको बेला
सामुर्राईको कविता लेखियो
तिमीलाई मन परेन ।

देश घुस्याहासित लडिरहेको थियो,
देश देशद्रोहीसित लडिरहेको थियो,
देश युद्ध हारिरहेको थियो
देशले कामीकाजे पाइलट खोजेको देखियो
र, त्यही ध्रुवसत्य लेखियो
तिमीलाई मन परेन ।

तिमीलाई फूलको कविता मन पर्छ
तर रगतको पोखरीमा उभिएर
फूलको कविता कसरी लेखिन्छ !