Kiran Budhathoki – Chirantan

किरण बुढाथोकी – चिरन्तन

म छँदै छु
घोप्टिए पनि,
झरे पनि,
मासिए पनि,
नाशिए पनि,
या डुबे पनि,
चाहे जे भएपनि
मत छु-छु।

शरीरको धोक्रोमा
अक्सिजन जमाई,
एउटा पोकोमा
अलिकति रगत पोको पारी
हिडिरहेको,
वास्तविक म होइन
नत म
गिदी जिब्राको दास हुं
न भोगी हुं
न रोगी हुं
नत योगी नै हुं
अँह,
ब्यर्थको अहंकार पालीहिड्ने
ढोंगी त म हुंदै होइन
म यस्ता कुराले छुइन्न।

न खोलाजस्तै बग्छु
न समुद्र भेट्न तम्सन्छु,
हुन त म तिमीजस्तै देखिन्छु
तर म तिमी होइन
च्यातिए पनि
टुक्रिए पनि
मत म नै हुं र रहन्छु
यो ब्रह्माण्डमा
बनेर एक
चिरन्तन कण।

Kiran Budhathoki – Ma Desh

किरण बुढाथोकी – म देश

बिहान जब सूर्य उदाउंछ
र यसका स्वर्णीम किरणले
टल्काउंछ मेरो सगरमाथा
माछापुच्छ्रे अनि कंचनजंघा।

त्यसैगरि जब टल्कन्छन
भञ्ज्याङका मानेहरू
अनि फांटका खेतमा टल्कन्छन
जसै धानबालामा शीतका थोपाहरू।

र म मख्ख पर्छु-देखेर मेरो सुन्दरता
र शान्त हुन्छु-जसै मेरी रारा
र म आनन्दित हुन्छु
जसै मेरा जोमसोम र मुस्ताङले सुसेली मार्छन।

तर जसै दिन सुरू हुन्छ
म सुन्छु ब्वांसाहरूको कोलाहल
जसलाई कत्तिपनि गर्व छैन मेरा हुनुमा
तब म कालभैरवझैं अशान्त बन्छु।

जसोतसो सांझ पर्दछ
अनि म टोलाउन थाल्दछु
हेरेर ती जेटहरू-जो गइरहेछन पारी पारी
बोकेर मेरा सपनाहरु-मेरा सपुतहरू।