केवलपुरे किसान – घोरिँदै घोरिँदै
के दिनमा पसेछु सहर, सहर पस्न मलाई थिएन रहर
लाउन खान टिबिल टिबिल छेलोखेलो होइन
पाखोबारी राम्रै थियो धान फल्ने चाहिँ होइन
गुजारा चाहिँ चल्थ्यो चल्थ्यो मरिहत्ते गर्दा
त्यहाँ बस्न मन लागेन बूढी थला पर्दा
अहिले पनि सम्झना भैरहन्छ मेरो केवलपुर
त्यतैतिर फर्कौं क्यार के छ तिम्रो सुर ?
अहिले पनि उस्तै छौ कि अलि राम्री भयौ
मैले छोड्दा तिमी अलि साँक्क सुँक्क रोयौ
आजसम्म जिउँदै छ है तिम्रो कोखको घाउ
तिमीसित झुम्मिनलाई गर्दै छ है दाउ
बेला बेला सम्झना भैरहन्छ सम्झना भैरहन्छ
मुटु केवलपुर म आउँ क्यार तिमीतिरै के छ तिम्रो सुर
आजसम्म उस्तै छन् कि ती बारिका पाटा
मेटिएका छन् कि छैनन् रगतका टाटा
दुइतिरको चेपुवामा कसो परिनछौ
त्यत्रो गडबड हुँदा पनि तिमी मरिनछौ
कोल्पुखोलो सोधिरहन्छ भन्थ्यौ तिमी पैले
पौडी खेल्न सिकाउँथ्यो सम्झना छ अैले
सलिन डाँडो के गर्छ हँ गाई चराउने पाखो
छहारीमा सुत्दा सुत्दै म गोठालो भा’को
ऐँसेलु खुब खाको
मेरो मुटु केवलपुर
फाल हालौँ कि कुनै दिन के छ तिम्रो सुर
नागढुङ्गाको छेडोबाट चियाउँदै हेर्छु
बाहिरतिर जाँदा बढी सास लामो फेर्छु
धार्के पुग्दा त्यै उकालो उक्लौँ उक्लौँ जस्तो
बुढेसकालको फितलो मन केश पाके जस्तो
कठैबरी माया लाग्छ मेरो केवलपुर
हस्याङफस्याङ आइपुग्छु कि पर्ख केवलपुर
बुढो कैले खुर्मुरिन्छ मन्मा कुरा खेलाऊ