Keshav Baniya – Mero Antim Bheti

केशव बानिया – मेरो अन्तिम भेटी

निर्भरताको पनि हद हुन्छ,
बेइज्जती र बेशर्मिको,
कात्रो ओढेका हरुझैँ,
मेरो निश्चिति कालदेखी डराएर,
हरेक बिहान,
आशावाद्को नाउँमा,
भोलि बाच्ने रहर जप्दै,
कालभैरबको खुशीका निम्ति,
काँतर हरुको लाममा,
मेरो घडीका पलाहरु खेर जाँदा,
ढुङ्गो अघि घण्टी बजाउन,
मन्दिर,
किन पो जान्थे र म !

निर्दयी भन मलाई या कठोर,
तिम्रा ती खोक्रे शब्दहरुले,
मेरो दिमागमा ठाउँ पाउने छैनन्,
भावनाले रित्तिएको मनलाई,
मृत्युराज यमको गर्जनको पनि त्राश हुँदैन ।

आन्द्रा बटारीँदा,
डाँडा गन्दै, खोल्छा उछिन्दै,
अँध्यारो उज्यालो, असिना पानीमा,
मनलाई धितो राख्दापनी,
जिन्दगीमा धर्मले छहारी दिनसकेन,
मन चुँडेर मरेतुल्य हुँदा,
शरीरका हातपाउ लुछिएर,
आकाशबाट गिद्धेनजरले,
शिघ्र पतनको संकेत पाउँदा समेत,
सास निभेको आशलाई,
जमिन खनी,
कतिचोटी व्युँताएर,
बादल ढुक्दा पनि,
खडेरी परेको जिवनमा,
वर्षातको मिठास छर्न सकेन।

सायद,
आज धर्म भ्रष्ट भैसक्यो,
या त,
देवतामा विश्वास राख्नु,
आफ्नै बेवकुफी हो,
जे होस,
कर्मको मेलो खान सिकिसकेँ मैले,
त्यसैले,
अब धर्मले घचघचाउन न आउ मलाई,
जिस्किएको सिम्हले,
सारा धर्म नै लछारिएला नी,

लक्ष्यबिहिन आत्मा सरि भट्केको म,
धर्म छाडेपछि शान्ती मिल्यो,
बल्ल ज्ञात भो मलाई,
मेरो गन्तव्य के हो,
मेरो कर्म के हो,
कसैको हितको प्रवाह छैन मलाई,
र हित गरेर,
यो पापी संसारलाई,
गुण लगाई,
नर्कको भाग्य को चाहना पनि छैन,
मलाई।

सबल भै बाँच्न सिकिसके मैले,
कसैको आश राख्नु,
मेरै कमजोरि गनिन्छ यहाँ,
कर्मले नभ्याएको दुई निमेषको पनि,
जरुरत छैन मलाई,
भोलि बाँच्नका निम्ति खाने भातमारा हरुको,
कायरता पूर्ण मार्गलाई चुनौती गर्न चाहन्छु म,
आज,
मेरो पवित्र कर्मको ढुकुटी मा,
मिलाउन चाहन्न म,
धर्मको धमिलो आश,
कर्मले नभ्याए,
सागर तर्न तयार मेरो तनले,
खेद प्रकट गर्नु पर्ने छैन,
धर्मको साथ नपाउदा ।

यो स्वार्थी संसारका, स्वर्थी मानिसले,
बनाएको स्वर्थी भगवान सामु,
म स्वर्थी बन्न चाहन्न,
झुक्न चाहन्न म यी दल्ले मसिहा हरु अघि,
पटकपटक दु:खका घनले,
ठटाइएर,
फलाम बनिसकेको मेरो भाग्यका,
नवग्रह माथि ,
शनिचर प्रवेश गरेतापनी,
मेरो मृत्युले समेत,
कसैको आशको प्रतिक्ष्या गर्नु पर्दैन,
न केही गुमाउनु छ, न केही पाउन कसैको,
त्यसैले,
मन्दिर, किन पो जान्थे र म !