Keshav Baniya – Anjan Dhungo Ra Manis

केशव बानिया – अन्जान ढुङ्गो र मानिस

हिंड्दा हिंड्दै बाटोमा,
ठेश लागे कतै,
दोष मैले,
ढुंगालाई नै दिन्छु,
लडेको त म हुँ नि,
किनकि |

तेत्रा बाटो हिंडी आएको,
म,
गलत त कतै हुनै सक्दिन,
बाटोका कुनै,
सानोतिनो,
जाबो ढुंगोलाई,
गन्दै अघि,
यदि म बढ्ने हो भने,
मेरो चेतना र ढुंगे युगमा,
मात्र चार कोषको दुरी भेटिनेछ,
मेरो एक कदममा,
संसारले चार काया फेर्न,
म दिनै सक्दिन |

दुनिया येस्तै छ,
ठुलो संग टक्कर खाएकी,
घोचो त होचोलाई नै मिल्ने भो,
अनि,
मैले त्यो निर्जीव पासाण लाई,
दोषी करार दिंदा,
वकालत पनि त गर्न सक्दैन,
आफ्नो बचाऊ को लागि,
त्यसैले,
म,
मस्त कराउछु,
त्यसलाई,
चुप्प सुन्दछ मेरो कुरा,
घोस्रो मुन्टो लगाएर,
अझ,
मेरो हट्यो भने,
उचालेरै पछार्छु,
आफ्नो बहादुरीको परिचय दिंदै,
नदुखे झैँ गरि,
च्याँ चुँ पनि गर्दैन,
त्यसैमा म,
गर्भवान्वित भै,
आफ्ना कदमका,
सम्भावना अझ बढे झैँ लाग्छ,
यसरि नै बाटोका,
ढुंगा उछिन्दै जान सके,
पक्कै पनि,
शिखरको यात्रा पूर्ण हुनेछ,
ऊपर हेरी,
यहि सोच्दै हिड्दै गर्दा,
अलि पर पुगेसी,
भंग हुन्छन,
मेरा प्रगतिका सपना र सपनाका लहरहरु,
ठोक्किएसी,
एउटा सजिव मान्छे संग,
अनि,
खुम्चिंदै आउछन,
बिस्तारै,
मेरा पाईलाका,
सम्भावना हरु पनि,
कराऊँ त,
शरीर भन्दा ठुलो,
छ ऊ,
त्यसैले,
भुईंमा,
हिलोमा लड्दै,
आफ्नो दोष कबूल गरि,
दुखे पनि,
च्याँ चुँ केहि नगरी,
घोस्रो मुन्टो लाएर,
फेरि प्रगतिको,
अर्को क्षण,
खोज्न,
अघि बढदछु |

Keshav Baniya – Charo Ra Mero Kaal

म अब केहि शुरु गर्न चाहन्न,
मै हिडी आएको, त्यो बाटो पनि बिर्सन
चाहन्छु,
मेरो अगाडी चारो उडिरहेको छ,
म आकाशमा उसको बाटो कोरिरहेको छु,
बस्, यहीं अडियोस,
यहि परेवाको असिमित बाटो रहोस र,
अनि, मेरो असिमित कालखण्ड,
यहि बनोस मेरो जीवनको एकमात्र,
सफलता,
सोच्न केहि नपरोस,
सोचूं त् मात्र केवल त्यहि चारो निमित्त,
दुनियाँलाई एक निमेष पनि हेर्नै नपरोस्,
दुनियाँको पैंचो सास समेत फेर्नै नपरोस्,
म सर्जक बनु,
चारो प्वाँख फडफडाओस्,
मा हेरिरहुँ,
मलाई हेरे जस्तै,
दयरिक्त, लाल आँखा नपल्टाई,
माथि बाट,
बाटो कोर्ने,
मेरो सर्जकले,
सोच्दैमा,
ड़वांग आवाज निस्कियो,
कान सुन्नै भयो,
चरो घुमिरहेछ,
अलि तिव्र,
गुरुत्वानुकुल,
फर्की हेरेको,
अर्को सर्जाम युक्त सर्जक रहेछ,
तर बाटो मेट्ने,
वर्तमान मेट्ने,
आखिर चरोले जमिन भेट्छ,
पछ्याउदै उस्को कालो प्वाँख ,
मैले वर्तमान भेटे जस्तै,
म हुन्छु चंख स्वप्न गगनबाट,
अनि पछ्याउदै मेरो काल।

Keshav Baniya – Aajakal, Kavita Ani Ma

हो हजुर,
कविता लेख्न जान्दिन होला, म,
सायद,
शब्द खेलाउन सिक्नुपर्ने हो,
मेरा,
निर्मल, अचल, गाउँले भाका,
लेखिएनन,
बाजारी कविकोषमा,
विद्वान आडम्बर,
अनेक छन् |

अनेक छन्,
कम्ति म मा,
म चल्ने कविता लेख्दिन,
किनकि,
म बाजारे कवि होइन,
लाग्लान तीता,
फट्यान्ग्रे चेतलाई,
शताब्दि कटेका कुरा,
जलपान रसमा रमाउने सम्मेलनलाई,
कुन पध्यरसले,
भिजाउन सकूँ ?
खोजूँ कसो म,
शिशिरमा बसन्तको रस ?
अलंकारको नाउँमा,
टुक्के कुरा गर्दिन म,
किनकी,
मेरा हरेक शब्द,
उत्तिकै उच्च छन्,
ख्यालपुर्ण छन्,
उत्तिकै,
दम्भिला छन् |

शब्द निर्माण गर्छु म कहिले,
कहिले जमिन उघारी,
ब्युताउछु मुर्दा,
त्यसैले त् मौलिक छन्,
यी रसभाव,
त्यसैले त् अबुझ छन्,
यी अंशहरु,
आकाशमाथिको खालिको गर्छु कुरा म,
कहिले,
जलछिरेको प्रकाशको,
अनि,
भेटी नसक्नु छन्,
सोचले कसैको,
बोल्दा म “भावना”,
बुझाई तिम्रो कुनै स्त्रीको छ,
शब्दारसको गर्दा कुरा म,
नासभारी शरीरको,
मद्यरसको नशा छ छरिएको,
सोच्न सिपालु,
तिमि नै छौ, सायद,
म त् सोझो,
सोझै कुरा सोच्छु,
हो हजुर,
कविता लेख्न जान्दिन होला म,
सायद |

पागल नै हूँला म,
बेच्दिन किनकि,
शब्द आफ्ना पैसामै,
सायद,
मेरा आँखामा, मोतिबिन्दु लाए छन्.
सेतो, कालो, धमिलो देख्छु,
भविस्य आफ्नो,
भविस्य अर्काको,
भविस्य शब्दको,
भविस्य भाषाको, साहित्यको |

बन्याहुन,
बालेरै त्,
मुनाको मनमा मदन,
महाकवि,
सशक्त गर्जिञ्छन,
माटोका शब्द,
रास्ट्रकविमा,
नबुझी अनि तिनका भाव,
निस्किन्छन सडकमा बेच्दै “मेरो किताब” |

Keshav Baniya – Shahidi ko Mulyankan

शहिदीको मुल्यांकन

भाग्न पनि सक्थे,
समर्पण,
गर्न पनि सक्थे,
मर्नु नै किन थियो र !
के को सोख हो त्यस्तो ?
कति सजिलो छ,
भन्न,
फौज मा थिए, लडे, मरे,
कति सानो दर्जा को भयो त तिनका मरण !
केहि मूल्य साच्चै राख्दैनन् र ?
त्यसो भए,
थपि हेरौ न त,
छातीमा गोलि,
चुच्चोले घोचेजस्तो हो र?
इन्जेक्सन को |

गोलीको छर्रा फाल्दै,
तिव्र घुमिआएको,
बारूद भरिएको चुच्चोले,
बाहिरी छालालाई परपर सार्दै,
हाडका लट्ठा चिर्दै,
गएर,
रगत संचार नाली छेदन गरि,
बहंदा अनि रगत,
आँखाले देख्ने रातो,
छालाले छुने तातो, अनि तरल,
गंगा बहेझै,
शरीरका पहराबाट,
रसाएर,
माटोसंग,
पाऊछुदै,
होलि खेल्न लाग्छन,
निरन्तर,
कसैले छेकेर छेकिन्न,
माटोमै,
सर रगत सकिएर,
शरीर,
विलिन,
हुन खोज्दा,
हेर्दा हेर्दै,
आफ्नै अगाडी,
आफ्नै सास टुट्न लाग्दा,
अनि चाहेर पनि,
बाच्ने आश जोड्न नसक्दा,
बरु मर्ने नै आकान्क्षा,
बेश मान्दै,
स्वहत्या गर्न,
मनले, आग्रह गर्दा,
तर,
दिमागको अझै बाच्ने रहरको,
विद्रोहको सुरुवातले,
अंग अंग,
हातका नशा,
मुटुका नली,
दिमागको गिदी,
थरथर थरथर काप्दै,
संसार शिवजीको डमरुमा,
आर्तनाद गरेको महसुस हुन्छ,
अनि बल्ल सुरुवात हुन्छ,
रणभूमिमा,
स्वयम्को मृत्युको |

कहाँ सजिलो छ र?
जमिनको लागि,
ज्यान दिन,
कहाँ सजिलो छ र?
बोलेजस्तो हो र?
डुङ्ग डुङ्ग बन्दुक पड्केको आवाज,
गोलि आई,
बगल्को साथीको,
सहासिलो मुटु भेद्दा,
शोक मनाम कि बहादुरी देखाम,
दिमागभित्र हस्यांग्फस्यंग गर्छन,
यस्ता प्रस्न हरु,
दुश्मनका छन् हात्तीका पाइला,
आफै तिर सरेका ति पाइलाक,
आवाज,
पृथ्वीभरि,
गुन्जयमान हुँदा,
सोच्न भ्याएको हुँदैन,
कि म कसैका लागि बाच्नु पनि पर्छ,
घोक्रे दुश्मनको आवाजको डर,
साथै,
अन्तिम श्वास,
आफुले टेकेको माटोकै निम्ति,
बलिदान दिने साहसले,
थर्किरहेको हुन्छ,
मुटु,
कापिरहेको हुन्छ |

जीवनका,
सास फेर्ने जस्ता आवश्यकताले,
समेत,
प्राथमिकता पाइरहेका हुदैनन्,
तातो रक्तभुमिमा,
रातो रणभूमिमा,
हजार बन्दुकको गोलीको,
निशाना मात्र एक,
तिमि हुँदा,
निर्धक्क खडा,
होलान कसरि खुट्टाहरु,
अघि बढ्ने आँट,
जुटाऊँन् कसरि पाउहरू?
अनि फेरि,
लम्बू फौजका अघि,
जिरे राइफलको के धाक!
तर सोच,
ति खुट्टा हरु मुर्झाएनन,
ति पाउहरू,
मरण-गान मा नाचिरहे,
निर्धक्क, निडर,
कुन खुसीमा हाँसेका थिए,
ति होठहरु,
चेतना छ हामीमा,
मर्म बुझ्ने?
बुद्धिमता छ,
कुन साहसको कुरा गर्दै छु म?
कत्रो साहसको कुरा गर्दैछु म?

अनि तिमि,
सोफामा बसी,
मच्छर मार्दै,
बहादुरीको कुरा गर्छौ,
दुश्मनले,
जित्न नसकी,
पानि पिउने नहर काट्दा पनि,
भोकले पेट ख्याउ ख्याउ कराउदा,
प्यासले मुख प्याकाप्याक हुँदा,
नुख भिजाउन,
थुक समेत सिध्धिये पनि,
हार निश्चित होला,
तर,
कर्मभूमिमा,
खुट्टा गडाई लडेर नै,
तोप लिई बसेका,
गोरा शिरहरु,
निहुरिएक थिए,
शरमले,
त्यसै,
इतिहास रचिंदैन,
त्यसै,
दुश्मनले समेत,
गुणगान गाऊदैन,
पत्थरमा नाम कोरी,
त्यसै,
बहादुर लेखिदैन,
त्यत्तिकै,
बहादुर कहलाईदैन |

Keshav Baniya – Mero Antim Bheti

केशव बानिया – मेरो अन्तिम भेटी

निर्भरताको पनि हद हुन्छ,
बेइज्जती र बेशर्मिको,
कात्रो ओढेका हरुझैँ,
मेरो निश्चिति कालदेखी डराएर,
हरेक बिहान,
आशावाद्को नाउँमा,
भोलि बाच्ने रहर जप्दै,
कालभैरबको खुशीका निम्ति,
काँतर हरुको लाममा,
मेरो घडीका पलाहरु खेर जाँदा,
ढुङ्गो अघि घण्टी बजाउन,
मन्दिर,
किन पो जान्थे र म !

निर्दयी भन मलाई या कठोर,
तिम्रा ती खोक्रे शब्दहरुले,
मेरो दिमागमा ठाउँ पाउने छैनन्,
भावनाले रित्तिएको मनलाई,
मृत्युराज यमको गर्जनको पनि त्राश हुँदैन ।

आन्द्रा बटारीँदा,
डाँडा गन्दै, खोल्छा उछिन्दै,
अँध्यारो उज्यालो, असिना पानीमा,
मनलाई धितो राख्दापनी,
जिन्दगीमा धर्मले छहारी दिनसकेन,
मन चुँडेर मरेतुल्य हुँदा,
शरीरका हातपाउ लुछिएर,
आकाशबाट गिद्धेनजरले,
शिघ्र पतनको संकेत पाउँदा समेत,
सास निभेको आशलाई,
जमिन खनी,
कतिचोटी व्युँताएर,
बादल ढुक्दा पनि,
खडेरी परेको जिवनमा,
वर्षातको मिठास छर्न सकेन।

सायद,
आज धर्म भ्रष्ट भैसक्यो,
या त,
देवतामा विश्वास राख्नु,
आफ्नै बेवकुफी हो,
जे होस,
कर्मको मेलो खान सिकिसकेँ मैले,
त्यसैले,
अब धर्मले घचघचाउन न आउ मलाई,
जिस्किएको सिम्हले,
सारा धर्म नै लछारिएला नी,

लक्ष्यबिहिन आत्मा सरि भट्केको म,
धर्म छाडेपछि शान्ती मिल्यो,
बल्ल ज्ञात भो मलाई,
मेरो गन्तव्य के हो,
मेरो कर्म के हो,
कसैको हितको प्रवाह छैन मलाई,
र हित गरेर,
यो पापी संसारलाई,
गुण लगाई,
नर्कको भाग्य को चाहना पनि छैन,
मलाई।

सबल भै बाँच्न सिकिसके मैले,
कसैको आश राख्नु,
मेरै कमजोरि गनिन्छ यहाँ,
कर्मले नभ्याएको दुई निमेषको पनि,
जरुरत छैन मलाई,
भोलि बाँच्नका निम्ति खाने भातमारा हरुको,
कायरता पूर्ण मार्गलाई चुनौती गर्न चाहन्छु म,
आज,
मेरो पवित्र कर्मको ढुकुटी मा,
मिलाउन चाहन्न म,
धर्मको धमिलो आश,
कर्मले नभ्याए,
सागर तर्न तयार मेरो तनले,
खेद प्रकट गर्नु पर्ने छैन,
धर्मको साथ नपाउदा ।

यो स्वार्थी संसारका, स्वर्थी मानिसले,
बनाएको स्वर्थी भगवान सामु,
म स्वर्थी बन्न चाहन्न,
झुक्न चाहन्न म यी दल्ले मसिहा हरु अघि,
पटकपटक दु:खका घनले,
ठटाइएर,
फलाम बनिसकेको मेरो भाग्यका,
नवग्रह माथि ,
शनिचर प्रवेश गरेतापनी,
मेरो मृत्युले समेत,
कसैको आशको प्रतिक्ष्या गर्नु पर्दैन,
न केही गुमाउनु छ, न केही पाउन कसैको,
त्यसैले,
मन्दिर, किन पो जान्थे र म !