डा. सूरज निरौला – जन्मभूमी अनि कर्मभूमी ।
झन् हेर्यो झन् चाउरिएको देख्छु,
आयु बढला भनेको त, झन् घटेको सुन्छु ।
लुट्न पाए सर्वस्व लुट्दा रहेछन्
चुसेर यहाँ खोष्टा मात्र छोडेको देख्छु ।
महत्वाकान्क्षी तिम्रा ती अभिलाषाहरु
खोई पलपल मरेको म पाउछु ।
देखेर पीडा, बसेर म धुरु धुरु रुन्छु ।
द्रोपतीको चीर हरण् झै,
दिनदिनै तिमी नाङ्गिएको देख्छु ।
अनुहार तिम्रो सधै अंध्यारो नै पाउछु ।
हाय ! मेरो जन्मभूमी, हाय ! मेरो कर्मभूमी ।
तिम्रो दशकौको शान,
हिजोआज शरमले झुकेको देख्छु ।
जताततै यत्र तत्र सर्वत्र,
बेइज्जतको ढोल बजेको सुन्छु ।
के तिम्रो के मेरो ?
के तिम्रो के मेरो,
आफ्नै जन्मथलो नै बाङ्गिएको पाउछु ।
आफ्नै कर्मथलो नै नाङ्गिएको देख्छु ।
दुई ढुङ्गा बीचको तरुल,
दिन प्रतिदिन चेप्टिएको पाउछु ।
हाय मेरो जन्मभूमी, हाय मेरो कर्मभूमी ।
नाङ्गिएरै आएका थियौ,
नाङ्गिएरै जानेछौ ।
यँहा नकचराहरु उन्मुक्त भई
थपडी मारिरहेको सुन्छु ।
खाएकै थालमा ओकल्ने स्वाँठहरुले
त्यही थालको डम्फु बजाएको देख्छु ।
आफु भने, भीरको चिचिन्डो
न उभो, न उधो भए जस्तै पाउछु ।
हाय मेरो जन्मभूमी, हाय मेरो कर्मभूमी ।
स्वार्थमा लम्पटहरु
उठाउन आफ्नै लगानी
तल्लिन भएको देख्छु ।
न्यायको तराजु तौलने
आखाँको त पट्टी नै हिजोआज
खोलिएको म पाउछु ।
डेमोक्र्यासि त झन्, बाघको खालमा
स्यालहरुको रजाई भएको म देख्छु ।
हाय मेरो जन्मभूमी, हाय मेरो कर्मभूमी ।
धिक्कार छ ती नामर्दहरु !
धिक्कार छ ती नामर्दहरु
जस्ले राजनितीको नाममा
मेरै देश बेचिरहेछन् ।
देशको राजस्वले नपुगेर
भ्रष्टाचार गरिरहेछन् ।
अचम्म लाग्छ मलाई,
ठूल-ठूला भाषण गड्गडाउने नेताहरु
चुनाव जिते पछि आफ्नै गाँउ टोल फर्कन
अर्को चुनाव पर्खेको देख्छु ।
तिनैलाई जनताले फेरि चुनाव जिताएको
देख्दा आफै थकित हुन्छु ।
हाय मेरो जन्मभूमी, हाय मेरो कर्मभूमी ।