कल्याण राई – धत् ! प्रजातन्त्र
१)
दाँत देखाएर
हाँस्नै सक्तैन
यो किनारमा मेरो कविता ।
मनको डाइरिभित्रै
सिमित छ
आक्रोशहरु
शब्दहरु
किल्किले मुन्तिर
गुम्सिबस्छ
र्
बास्पीकरण भएर
बेला-बेला
आँखाबाट खस्छ ।
२)
हो दाँतहरुले नै
अक्षर/शब्द/स्वरहरु
बन्दी बनाएको छ ।
मुख
खोलियो कि
जिब्रो घाइते हुन्छ
अनि
निशब्द हुन्छ
मेरो कविता ।
३)
दाँतहरु
फुक्लिएपछि
बोल्नेछ मेरो किनारको कविता
गुम्सेका अक्षरहरु
निस्कनेछ गन्हाउँदै
बाड आउनेछ
त्यो दिन शब्दहरुको
स्वरको
आँधि-बेह्री आउनेछ
त्यो दिन्
मेरो कविता स्वतन्त्र हुनेछ ।
तर,
अहिलेलाई !
धत्! प्रजातन्त्र ।
दार्जीलिङ