Samarthya – Jhanda

सामर्थ्य – झण्डा

हेर्दाहेर्दै धेरै भयो
तिमीले यहीँ आगो रोपेर गएको
अहिले तिमी फेरि मसँग
आफैँभित्रको आगोले पोलेर आएका छौ
मेरो फरफराहटले यदि
तिम्रो आगो निभ्छ भने
ठीक छ
म मण्डलाको झण्डा
तिमीलाई निभाउने भरपुर कोसिस गर्नेछु

आउ एकछिन बात गरौँ तिम्रा लप्काहरुका बारेमा
जसको बलले
तिमीले सडक मात्र ततायौ
रगत मात्र ततायौ
तात्नुपर्ने चुल्हाहरु चिसै छन्
चम्काहरु चिसै छन
उता चामल कुहिएर गएका छन्
तिमी पाल ओछ्याएर कृत्रिम भोकमरी बस्छौ
र भन्छौ सरकार खान पुगेन
तिमी सर्वाङ्ग नाङ्गिन्छौ
अनि झण्डा ओढेर आउँछौ
र भन्छौ झण्डाले लाज छोप्दैन
उता बिरामी शय्यामा छाडेर तिमी
डाक्टर बन्न दे भन्दै आएका छौ
उता दिनभरीको काम छाडेर तिमी
रोजगार दे भन्दै आएका छौ
यस बुझाइमा
मैले त तिमीलाई बुद्धसँग उभिएको देख्नु थियो
मधेससँग बाझिएको होइन
या त तिमीले बिर्सेको हुनुपर्छ
कि अहिले भागबन्डा हुन्थ्यो भने
बुद्ध तिमीले नै घृणा गर्ने पात्र हुन जान्थ्यो
तर तिमी माटो देख्दैनौ
बगर बनेका गाउँ देख्दैनौ
सुकेका नहरहरु
बाँझा खेतहरु
हराएका पिल्लरहरु
क्रुद्ध परेडहरु
तिमी देख्दैनौ
तिमीलाई देशको माया छ
तर देश के हो देख्दैनौ
सीमानाको माया छ
सीमाना खोज्छौ तर देख्दैनौ
तिमीलाई लाग्छ
कि स्वयम्भूका दुई आँखाले सबै देख्छन्
तर तिमीलाई थाहा नहोला
कि उपत्यकाले कहिल्यै मधेस देखेको छैन
तिमीले पनि देख्दैनौ
अभाव नै हेर्ने हो भने
दुखाई नै दुख्ने हो भने
तिमीले बुझ्नुपर्छ
कि मण्डलाबाट निस्केर तिमी
कहिलेकाहीँ आफ्नो इमानको सगरमाथा चढ्नुपर्छ
र तल तराई हेर्नुपर्छ
कहिलेकाहीँ उपत्यकाबाट ओर्लिएर
को कति पानीमा छ बुझ्नुपर्छ
तिमी देख्नेछौ
देश आधा डुब्नै लागेको छ
तिमी भने
मेरो फरफराहट मुनि
मण्डलामा
कुन्नि के को प्राप्तिका लागि
आगो बाल्न खोजिरहन्छौ