मनीषा अवस्थी – भोलिको आशा
उनी मेरो छेउमै थिए
म टाँसिन खोज्दै थिए
स्पन्दन बढ्दै थियो
ढक ढक ……
अली पर सरे
साँझको चकमन्न बिजुली
शहरभरी उज्यालो
लाज लाग्यो क्यारे
तर थाहा पाईन ।
आफ्नै मुटु छामे
स्पन्दन … वाउ
उनकै प्रेमील गीत गाउँदै
पर्खिरहेछ …..
मैले बुझे ।
म चाहन्थे उनको मुटु पनि टाँसियोस्
बेहोसीमै गीत घन्कियोस्
शहर थर्किने गरी
तर अहः भएन
हुँदै भएन ।
बेला कठीन थियो
बुझ्नै नसक्ने
न लीन न बीलीन
तर बाध्यता
फिस्स हाँसिदिए ।
फर्केर हेरे
आहा उनको ओठ
थर्थराई रहेको
मैले स्पष्ट देखे
आँखाको भाव
अझै निकटताको संकेत
तर म डराए
अझै बढ्यो स्पन्दन
ढक ढक …….
डराएका दुवै मुटु
छट्पटिएका दुबै मुटु
बाध्य थिए ।
बाध्यता बेलाको
पिडा लुकाएर
फिस्स दाँत देखाएर
खिन्न मन
शिथिल पार्दै फर्किए
भोलीको आशामा ।