हेमन्त परदेशी – तिम्रो अभागी प्रेमीको कथा
यता तिमी बैंशालु गुराँश बनेर
लेकाली पाखाभरि ढकमक्क फूलिरहँदा
उता रेगिस्तानको बन्जरभूमिमा ‘नोष्टाल्जिया’का हाँगाभरि
मरुभूमिको ‘क्याक्टस’ फूल्न विवश तिम्रो अभागी प्रेमी
कति फिक्का र निरस जीवन बाँचिरहेको होला l
हुन त पैतलामा काँडा बिझ्दा मष्तिष्क दुख्छ मान्छेको
त्यसैले, आफ्नो अभागी प्रेमीको पीडामय जीवनकथा सुनेर
तिम्रो छातीभित्र पनि अदृश्य घाऊको खिल पल्टिएको होला
अनि दिनरात आँशुको सागरमा डुबुल्की मार्दै
तिम्रो कोमल हृदय बेस्सरी तड्पिरहेको होला l
तर, आँशुले दु:ख धुन सकिँदैन -ले
मलाई चट्टान जस्तै दह्रिलो मन बनाएर भन्न मन लागेकोछ
कि, सबथोक गुमाएर पनि-
फाटेको मन टाल्ने एक टुक्रा आफ्नै माटो त छ नि तिमीसंग
अनि, आँखाका डीलबाट बगिरहेका आँशुलाई धोई पखाली गर्ने
आफ्नै हिमालको चिसो पानी पनि त छ तिमीसंग l
साँच्ची आफ्नो माटोको सुगन्ध कति मिठो हुन्छ है
कल्पना मात्रै गरेर त हेर एकपल्ट
तिमीले कोशेली स्वरुप पठाइदिएकी
गुन्द्रुक र अकबरे खुर्सानीमा
तिम्रो अभागी प्रेमीले कति मिठो सुगन्ध अनुभूत गर्दो हो
पराईभूमिमा पनि आफन्त र आफ्नो देशको माटोको l
यीनै पाखा, पखेरा र सौलुङ्गको दृश्यानुभूतले
कति बिक्षिप्त बन्दो हो उसको मन ?
कति बगाउदो हो तिम्रा यादहरुलाई आँशुका भेलहरुमा ?
तर बिडम्बना !
न आँशु पखाल्ने हिमालको चिसो पानी छ ऊसंग
न सिंचित हुने एक टुक्रा आफ्नै माटो नै ।
तर पनि ऊ निरास बनेको छैन रे !
धेरैपल्ट चिठ्ठीमा लेखेको छ उसले –‘जिन्दगी दिन र रात जस्तै हो l’
दिन पछि रात आए, रात पछि दिन पनि अवश्य आउछ
बस् खाँचो छ त केवल सकारात्मक सोच सहितको समयको सही उपयोगको
अनि, साथ, सहयोग र सद्भावपूर्ण सहयात्रामा
एक अर्का प्रतिको अपरिवर्तनीय बिश्वास र साझा समर्पणको l