Hem Nath Ghimire – Chhati Bhitra Desh Dukhchha

हेमनाथ घिमिरे – छातीभित्र देश दुख्छ

राति निदाउँदा पनि मन आफ्नै देश पुग्छ ।
बिदेशमा हुँदा पनि छातीभित्र देश दुख्छ ॥

अरु के नै मागुँ र खै मात्र शान्ति फुले पुग्छ ।
दुःख बिसाउँदा पनि छातीभित्र देश दुख्छ ॥

हाना-हान नगरेर द्वेश-ईष्र्या भुले पुग्छ ।
लुछा-चुँडी सुन्दा पनि छातीभित्र देश दुख्छ ॥

सबै मिली देश निम्ति दिल थोरै खोले पुग्छ ।
सीमाना त्यो छुँदा पनि छातीभित्र देश दुख्छ ॥

गाउँ-बस्ती गरीबका निम्ति केही बोले पुग्छ ।
ताना-बाना बुन्दा पनि छातीभित्र देश दुख्छ ॥

अरु पछि मागौँला है ऐले सबै मिले पुग्छ ।
जहाँ जो नै रुँदा पनि छातीभित्र देश दुख्छ ॥

हेमनाथ घिमिरे
बाहुनडाँडा लमजुङ् ।