Shrawan Kumar Dhungana – Niriha Surya

श्रवणकुमार ढुंगाना – निरीह सूर्य

सिंगो सूर्यको प्रकाश खुम्चिएर
टुकी, मैन र बत्तीहरूमा सिमित भएको छ,
उनिहरू बत्तीको किरा झैं
मैनको उज्यालोमा वरीपरी झुम्मिएका छन्
रातमा विरालोको जस्तै
आँखा चम्काएर !
दिनभरीको छल, कपट र षडयन्त्रको
रस भरेर मादक बोतलहरूमा
छाँट्दैछन् आदर्श टिप्पणीहरू
टेलिभिजन र अखवारका समाचार उदृत गर्दै ।

यति वेला उनिहरू
गिरिजाप्रसादको लोकतान्त्रिक अडानको
‘चुरो’ छाम्न पनि विज्ञ छन्
विपासा वसुको सेक्स अपिलको
मादकता नाप्न पनि विज्ञ छन् !
यति वेला उनिहरू
कार्लमाक्र्सको सौन्दर्यशास्त्र
व्याख्यानमा पनि विज्ञ छन्
नगदमा नाङ्गिएकी ‘बार गर्ल’ को
स्तनको वर्गीकरणमा पनि विज्ञ छन् ।
यतिवेला उनिहरू
सुशासन युक्त आधुनिक राज्य निर्माणमा पनि विज्ञ छन् ।

सिंगो सूर्यको उज्यालो लुटिएर
विशाल आकाश मुनि निस्पट्ट अँध्यारो छाएको छ
निशाचर तस्करहरू
यता उति कुदिरहेछन्
सिंगो राजमार्ग
सम्पूर्ण बस्ती
कब्जामा लिएर
बसेकाछन् ठाउँ ठाउँमा
युद्ध कालिन सिपाही झैं
मोर्चा कसेर !

उता राष्ट्र सेवक जँड्याहाहरू
उज्यालो छेकेर फुत्कन दिंदैनन्
उता तस्करहरू
अँध्यारो समाएर छोड्न खोज्दैनन्
मानौ उनिहरू विच गहिरो साँठगाँठ छ
सायद यहाँ चन्दन तस्करी हँुदैछ
सायद यहाँ अस्थिधातु तस्करी हुँदैछ
सायद यहाँ मानिस तस्करी हुँदैछ !

आदर्शको किल्ला बनाएर बसेकाहरू
उज्यालो छेक्दा छेक्दै ढले
उज्यालो फुत्किएर आकाशमा फर्कियो
अँध्यारो उछुट्टिएर कता हो कता लुक्यो
अब कसले समाउने जड्याहा सिपाहीहरूलाई
उनिहरू त नुहाउन गै सके
अब कसले समाउने तस्कर निशाचरहरूलाई
उनिहरू त निदाउन गै सके !

विचरा सूर्य
केही थाहा नपाए झै
फेरि पनि
राष्ट्र सेवकहरूको भट्टी माथि हुँदै ढल्दै छ
तस्करहरू व्यूँझने तर्खर गर्दैछन्
राष्ट्र सेवक जड्याहाहरूको भट्टीमा
मैनबत्तीको जोहो गरिंदै छ !