Hari Govinda Luitel – Dhedu Bandar [Bal Kabita]

आज हाम्रो छानामा
ढेडु बाँदर आएछ
कोठाभित्र पसेर
बासी रोटी खाएछ

जंगलबाट आयो कि –
पहाडबाट आयो कि –

स्वयंभूको डाँडाको
झाडीबाट आयो कि –
पशुपति मन्दिरको
छेउछाउबाट आयो कि –

बुर्लुक्क माथि उफ्रेर
झ्यालबाट भित्र पसेछ
खाटमा छोपिराखेको
ओछ्यानमाथि बसेछ

दिदीको किताब च्यातेछ
बहिनीको लिटो खाएछ
दाजुको पेटी बाँधेछ
भाइको टोपी लाएछ

साबुनको डल्लो भेटेछ
झ्यालबाट बाहिर फालेछ
तेलको भाँडो भेटेछ
भाँडोमा खुट्टा हालेछ

के के छ भित्र भनेर
खाट्मुन्तिर गएछ
पीठोको भाँडो ढालेर
धुस्रेफुस्रे भएछ

यता र उता उफ्रेछ,
भित्ताको तस्बीर झारेछ
फुटेको ऐना बिझेछ,
खुट्टामा घाऊ पारेछ ।