दामोदर पुडासैनी किशोर – शनिबारको गुआँगझाउ
भेट्नै नपाउँनु भन्दा
रोइरहेकिनै किन नहोस्
तिमीलाई भेट्न पाएको राम्रो
बाटाहरूमा छाता ओडेर हिँडिरहेको बेला
तिम्रो मनको तप्क्यानमा के लेख्ने हो
हरिया स्पन्दनसँग सोधिरहेछु
मान्छेले निर्माण गरेका
कुहिरोका फूलहरूलाई
भ्रमले हो या मायाले
डाँडामाथि कुहिरोको चुम्बनको डोब
मीठो स्वादमा सँभालिरहेछु
रँगिन छाताहरू
र ,रँगिन चँगाहरू
रँगिन मनका प्वाँख उमार्न ब्यस्त छन्
तिम्रो मनको आँखिझ्यालमा
दुई आँखाहरूको स्तम्भ ठड्याएपछि
प्रतिक्षाका सिमानाहरू तोडदै
म मायाका गाभाहरूलाई
मधुर अग्निदहमा सेकाइरहेछु
मायाका मोडदार धरातलहरूमा
उभ्याए धेरैले सप्तरँगी स्तम्भहरू
हावाका झोक्काले
खोजिरहेका सँभावनाका अर्थझैँ
तिमीलाई भेटेपछि
हाम्रो सँसारको गहिरो सुस्केरा
अझै खन्नुपर्छ भनिरहेछु
बेगवान घोडाहरू
तँछाडमछाड बगिरहेछन्
सडकका सिमानाहरूमा
सँसार हल्लाउँने मान्छेका नदीहरू
सँसार बदल्न दौडन्छन् सडकका किनाराहरूमा
मैले बासना खोजेको थिएँ
त्यो इन्कार गरे
अन्त्यहीन सडक र बहुरूपी घरहरूले
अत्तरको स्तम्भ बनेर तिमी उभिएको
देख्न पाउँनुपर्छ आजका नवीन आँखाहरूले
तिमी रोएको बेला
आँखाहरू धोइँदिंदारहेछन्
फूलका बिहानी शीतहरूले
तिमी रिसाएको बेला
रात रातभर
फुल्दारहेछन् ज्योतिका फूलहरू
रँगिन रातमा
रँगिन प्रकाशपुष्प ब्यूँझिरहेको बेला
नभेट्नु भन्दा
रोइरहेकै भएपनि
ब्युँझदोरहेछ
खुशीको फोहरा
कसैलाई भेट्दा
शहरमा यतिखेर
भइरहेछ प्रेमबर्षा
प्रत्येक थोपा थोपाबाट झरिरहेको कसैलाई
सँभाल्दैछ कसैले निष्तब्ध हल्लाहरूमा
ईन्द्रेणी कोलाज
काँचुली फेर्ने क्रममा छ
तिम्रो आँखाको आँसुको दह
उफ्रिरहेछ
मेरो हृदयनदीको आयामभरि
अरू सबै छोडेपनि
ब्यापार ,बिज्ञापन र काम
छोड्दैन कदापि शहरले
शनिबारको गुआँगझाउ
छाता ओडेर चँगा उडाउँने तर्खर गर्छ
तिमीलाई देखेपछि
तिम्रो आँखाको आँसु
मेरो हर्षाश्रु बनिरहेछ
-२०७६ बैशाख ७ गते शनिबार (२०१९ अप्रिल २० )
हेचेँग होटल ,गुआँगझाउ ,चीन