Gopal Prasad Rimal – Dantya Katha

दन्त्यकथाकी राजकुमारी र एक गरीब
कसरी तिनका ठूला लाम्चिला आँखाहरु
एक जोडी ताराझैं माथिबाट तल झरे
र त्यो गरीबको हृदयमा स्वर्गीय जलन सल्काइदिए ?
फेरि कसरी हिलोको कमलमा परेका
दुई थोपा शीतजस्ता गरीबका आँखामा
स्वर्गले आफ्नो छाया देख्यो ?
ताज्जुबको कुरा छ,
तर यो मीठो कुरा दिन
दन्त्यकथा कन्जुसी गर्दछ
दन्त्यकथा खालि यत्ति भन्छ
उनीहरुको प्रेम प¥यो !
हो, पानीझैं प¥यो होला
अनि आगोझैं बल्यो होला ।
राजपथको छोटो हेराहेरमा
मर्यादाशीला राजकुमारीको हेराइ, चलाइबाट तेरो भोक मेट्न
जलन सेलाउने के कुरा पाउँछस् र तँ
स्वर्गको ढुकुटी नै पाएझैं गरेर शरद्को बादलझैं
शिर उच्चा गर्दै हिँड्छस्, ए गरीब !
के तँ फेरि साउनको बादलभैmँ निचोरिन्नस् ?
भेटको असम्भावनाले पत्थर भएर तेरो मुटु किच्तैन ?
आँधीको बिजुली भएर
तेरो बादलझैं बर्सने छातीलाई कोपर्दैन ?
यस्तो मीठो दर्दको कुरा दिन
दन्त्यकथा कन्जुसी गर्दछ ।
कथाको गरीब गम्भीर छ,
जादूले अर्कै भएजस्तो छ
ऊ हावाजत्तिकै हलुका भएर राजकुमारीको खोपीमा पुग्दछ
उनीहरुको बिहे हुन्छ ।