Gopal Jhapali – Sarbahara Ko Neta

गोपाल झापाली – सर्वहाराको नेता

पुषको ठिहिमा हुस्सुको ब्याल्क होलले निल्दै गरेको सडकमा
म हात जोडेर मुखले फुक्दै न्यानो भ्रम खोजी रहेको छु ,
तिमी त्यहि सडक आडैको महलमा बसेर मकल ताप्दै
म प्रति दया देखाउँछौ र फलामे झ्यालमा आएर
एकमुठि सिगरेटको धुँवा म तिर हुर्याउँछौ ।

प्रत्येक साँझ पेगहरुले तिमीलाई स्वागत गरिरहेका बेला
म एक माना बगेडा लिएर झुपडी भित्र छिर्दै हुन्छु
त्यहि बेला दुधे छोरी मेरा खल्तिको खान्तलासी गर्न थाल्छे ,
सायद तिमी त्यहि बेला रङ्गिला यौवनहरु एक एक गर्दै सुम्सुम्याउन थालि सकेका हुन्छौं ।
पर्दा उचालेर तारासँग खित्किँदै तिमीले मुलायम हत्केलामा
भोगको बिस्कुन सुकाउँदै गर्दा
म मेरी सुत्केरी श्रीमतीको भोक मेटाउन जाउलो छड्काँउदै
अँगेनाको धुँवा चिर्दै धुरीबाट तिनै तारा सँग सर्माईरहेको हुन्छु ।

माक्र्सवादका ठेली सिरानीमा बिझाउँदै तिमी कृत्रिम सपना खोजी गर्दै हिड्छौं,
किनकि त्यहि सपना भित्र तिम्रो बिपना बाँचेको छ ।
जुन सपनाले तिम्रो उडान उचाई लिने क्रममा भएकै बेला
मेरो गन्धे पसिनाले भिजेको मयलपोसबाट छिरेको बतासले
म आँतमा शितलता भरि रहेको हुन्छु ।
किनभने मेरो सपनाले तिम्रो जस्तो उडान लिन सक्दैन
किनकि म त सर्वहार हुँ, तिमी सर्वहाराको नेता ।

लखनपुर, झापा