डा. सुरज निरौला – घमण्डी म होइन
खोक्रो आडम्बरमा बाच्न नचाहेर,
आफ्नै ज्ञान र सामर्थमा
विश्वास राखेको मात्र हो ।
चलखेलमा पारङ्गत चेसका खेलाडिको
कुटिल चाल जस्तै काम भन्दा चाप्लुसीको भरमा अघि बढेको देख्दा
अमिलिएको मन भारी भएर
नबोलेको मात्र हो, मित्र ।
घमण्डी म होइन ।
जाबो सरकारी तलब,
घुस खान आफ्नै हृदयले नदिएर,
अभावै अभावको जीवन चलाउनु पर्ने ।
भित्रभित्रै तिमी जस्तै म पनि रोईरहेकोछु।
धरै चाहनाहरु तिम्रा, पुरा गर्न नसकेर,
नसुने झै गर्या मात्र हो, प्रिय ।
घमण्डी म होइन ।
नालायक सम्मान, असक्षम दर्जा नखोजेर,
शाष्टाङ दण्डवत् टक्क्राउनको लाई मेरो टाउको नझुकेर,
वर्णानुक्रम अनुसार पालो कुर्दा नआए पछि सहनशिलताको बाँध फुटेर
शब्दहरु बोलेको मात्र हो, हजुर ।
घमण्डी म होइन ।
अाफ्नै कल्पनामा निसास्सिएर मन
उम्कन खोज्दा,
भाग्यको ठोक्करले चकनाचूर भएको
मेरा काँचका अाशाहरु
पुनः एकपल्ट जोडन,
दत्तचित्त भई लागेको मात्र हो ।
घमण्डी म होइन ।
हिडिरहेका मेरा बाटोमा
धेरै भिडले धकेले पछि
लडने डरले
एक्लै म अर्कै बाटो हिडेको मात्र हो प्रभु ।
घमण्डी म होइन ।
बर्षौ लाएर तयार पारेको
वालुवाको मेरो घर,
असत्ति हुरीले एकै झड्कामा
उडाई लगेपछि
मेरो वाक्य रोकिएका मात्र हुन, साथी।
घमण्डी म होइन ।