Rajeshan Rai – Mero Gaun

मेरो गाँउ


हेर्दा कति सुन्दर छ, सुन्दा कति मिठ्ठो छ
दिक्तेल मेरो गाँउ
मेवा, साप्सु, दिखुवा खोलाले सल्लाह गरेर
माया गरि बिचमा राखेको ठाउँ
पारिबाट टेम्के र मेरुङ
माथिबाट मुढे र देवीस्थानले
काखमा राखेको नाम
आहा कत्ति राम्रो ठाउँ
दिक्तेल मेरो गाँउ

धेरै जातजाति, धेरै भेषभुषा र धेरै संस्कृति
समेटि छुट्टै इतिहास भएको ठाउँ
दिक्तेल मेरो गाँउ

हेर्दै हेरौ हेरौ लाग्ने
साकेला नाच
राईहरुको मौलिकता बोकेको नाच
उधौली उभौलि नाच्दै प्रकिति पुजा गर्दै नाच्ने नाच
ढोल झा्म्टा बजाएर उफ्रिदै नाच्ने नाच
रमणीय दृश्य साथै झिलीमिलि हरेक साझ

सुन्दा नै रमाइलो लाग्ने
लाख्खे नाच
नेवारहरुले नाच्ने गरेको धर्मीक नाच
मुकुट र बेग्लै भेषभुषा लाइ नाच्ने नाच
ढोल झा्म्टा बजाएर उफ्रिदै नाच्ने नाच
रमाइलो गर्दै संस्कृति बचाउदै हामि माझ

आहा कति धेरै संस्कृतिले सम्पन्न भएको गाँउ
मिलीजुली समाजमा सबलाइ एउटै ठान्ने ठाउँ
आहा कत्ति राम्रो ठाउँ
दिक्तेल मेरो गाँउ

Suren Upreti – Harmo Gaun Ma

सुरेन उप्रती – हाम्रो गाँउमा

एक पटक हाम्रो गाउँमा
अचम्मको घटना घट्यो
दिन रात झैं भयो
रात दिन झैं भयो ।

घरको रक्षक भनाउँदाले
घरकैलाई भुक्न थाल्यो
आफ्नैलाई टोक्न थाल्यो
पराई आउँदा पुच्छर हल्लाउँदै
लुट्पुटींदै घुम्न थाल्यो ।।

श्याल उसको मित्र बन्यो
फ्याउरा र व्वाँसा त लगौटिया यार बने
रात भरी हराउँन थाल्यो ।
दिन भरी कराउँन थाल्यो ।

मान्छेहरुले आ आफ्नै लखकाटे
कसैले समयको माग हो भने
कसैले घरपालुवाको त्याग हो भने ।
उसको आँट र शाहसको कदर गरे ।

बाख्रा बाघ सँग मिल्यो
कुखुरा चिलसँग मिल्यो
भ्यागुत्तो सर्पसँग टाँस्सियो
परेवा बाज सँग गाँस्सियो
एक अर्कालाई नखाने
सम्झौता भयो ।

आठ दस महिना यसरी नै चल्यो
सबै सामान्य भयो
हल्ला खल्ला केहि भएन
छिमेकी देखि नाता गोता
कसैलाई पनि अनौठो लागेन
कोही चूँ पनि वोलेन ।

एकाएक मौसम बदलिए झैं
चलचित्रको दृश्य फेरिए झैं
हाम्रो गाउँको दृश्य बदलियो
स्वर र तालहरु फेरिए

मान्छे त्राहिमाम बन्न थाले
अदृश्य भयले गाउँलाई ढाक्यो ।
श्यालहरुको हुँइ्या झैं
वारी पारी सम्म
विरक्तिका गाना गाउँन थाले ।
अपसगुनका श्वरहरु निकालेर
देश प्रदेशमा कोकहलो हुन थाल्यो

अब प्रलय हुने भो भनेर
डंको पिट्दै रुनेहरुको जुलशलाग्यो
कतिको त निन्द्रा गुम्यो
भोक र प्यास गुम्यो ।

श्यालहरुले गाँउ गाँउपसेर
रुवावासी गरे ।
नहुने कुरा हुन लाग्यो भनेर
लालेर तारे मिलेरे भनेर
पाङग्रे र पाँडुले मिल्ने रे भनेर
गोठका र घरका मिले रे भनेर

परेवा र कुखुरा मिलेकोमा
चिन्तित बन्यो दुनियाँ
बाख्रा र गाई नजिकिएकोमा
त्रशित बन्यो दुनियाँ
अब रंग बदलेर कुखुरा चोर्न नमिल्ने भयो भनेर
कन्याउँदैकन्याउँदै आन्द्रा थुत्ने खेल नहुने भो भनेर
भजनमा लट्ठबनाएर मूर्ति उठाउने नसोचे भो भनेर
रोजगारीको नारा छरेर उधोग बेच्ने त कुरै भएन भनेर
आजकाल पुरै चिन्तित भएकोछ हाम्रो गाउँ ।

Yuwa Baral Ananta – Bigaun

युवा बराल ‘अनन्त’ – विगाउँ

मलाई गाउँ फर्केर
हलो-जुवा समाउनु छैन
किनकि समयमा बा’ले मलाई
गोरु नार्न सिकाएका छैनन्
मलाई गाउँ फर्केर
खेत-बारी बिराउनु छैन
किनकि सानो छँदा बा’ले मलाई
माटो खेल्न दिएका छैनन् ।

बसोस् खेत-बारी बाँझै बरु
त्यो बाँझो बस्दा म भोको हुनेवाला छैन
मौलाइरहुन् घर-घुरेनमा लहरा र झार-जंगलहरु
त्यहाँको कमाइले मेरो भविष्य बनिनेवाला छैन ।

म पसिसकेको छु विगाउँ
दुई पैसा कमाउने उपाय रोच्दै
म पलायन भइसकेको छु बजारतिर
सहज उपभोगको वस्तु खोज्दै ।

मलाई थाहा छैन-
दाल-चामल रुखमा फल्छ कि भूईंमा
मलाई ज्ञात छैन-
स्कुस-फर्सी घुरेनमा फल्छ कि सड़कमा
भोक लाग्दा
भात पकाउन जानेको छु
निद्रा लाग्दा
ओछ्यान पस्न जानेको छु ।

मलाई ढुङ्गा-माटोसंग साइनो गाँस्न सिकाइएन
मलाई हावा-पानीसंग मितेरी जोड़न भनिएन ।
मलाई पर्म-परेवाको रह्स्य नै बताइएन
मलाई ईष्ट-मित्रको महत्व नै बुझाइएन ।

म चिन्दिनँ नी, साँल्दाई
मावलाकी आमै, गैरीघरे काकी अनि सानिमा
म जान्दिनँ नी ठूलदिदी
डोको, नाम्लो अनि घाँस दाउरा गर्न
धानको कुन्यु अनि मकैको झुत्ता पार्न।

स्मृतिमा अलि-अलि आउँछ्…
वर्खामा आमाको त्यो रातो गुन्यु रुझेको
सम्झनामा झलि-झलि आउँछ
अगेनाको डिलमा बसेर दन्तेकथा सुनेको ।

मलाई गाँउ फर्केर
काँटा-कोदालो खन्नु छैन ।
मलाई त ज्ञानी बनी आइज भनी
शहर पठाएका हुन् मेरा बा’ले
मलाई घर फर्केर
खेति-किसान गर्नु छैन ।
मलाई त आफ्नो खूट्टामा उभिनु भनी
गाँउको सिमानादेखि
टाड़ा कटाएका हुन् मेरा बा’ले ।

बसोस् खेत-बारी बाँझै बरु
त्यो बाँझो बस्दा म भोको हुनेवाला छैन
मौलाइरहुन् घर-घुरेनमा लहरा र झार-जंगलहरु
त्यहाँको कमाइले मेरो भविष्य बनिनेवाला छैन ।

– बिहीबार, 12 आसाढ, 2071