राजेन्द्र शलभ – रगत, आगो र संवेदना
अखबारका पानाहरूबाट
उछिट्टिएर रगत मनभित्र जमेछ
रगत पखाल्नलाई पानी
मनसम्म पुग्दैन
र आँसुले रगत पखालिँदैन ।
हजुरआमाले
भात पकाउँदै गरेको आगो
कसरी हो उछिट्टिएर
देशभरि सल्किएछ
एक गाग्री पानीले पनि
यो आगो निभ्दैन ।
मनको ज्वालामुखी हो यो
छिटो शान्त पनि हुँदैन
डर छ कतै
मनको ज्वालामुखी पड्कियो भने
र सँगै मन पनि डढ्यो भने
संवेदना मर्नेछ
हाँसो पनि मर्नेछ ।
र भोलिको अखबारमा
मुर्दाको देशमा
रगत हुनेछैन
आगो र आँसु पनि हुनेछैन ।