एन. पी. रिजाल – भिखारी र बुद्धत्व
दशकौँ वर्ष भै सक्यो
सहरको बीचमा रहेको
पीपलको फेदमा बसेर
उसले ध्यान गरेको ।
हरेक बिहान, गेरु वस्त्र ओडेर
त्यो पीपलको बोटमुनी
बुद्धझै ध्यान मग्न भएर बस्छ ।
उसको बुद्धत्व सामान्य भिखारी झै
एक दुई रुपयाँ मागेर
भोको पेट भर्नु हो ।
सडकमा लाखौँ गाडी गुडीसके
करोडौँ मान्छेले यात्रा गरिसके
त्यो कोलाहल र दौढधुपको संसारमा
ऊ बुद्धको लयमा
इश्वर भक्तिको दाँत देखाएर
ध्यान मग्न छ ।
उसको बुद्धत्वको खोजी
जाडो, गर्मी र झरीले पनि
प्रभावित देखिदैन ।
तर उसको बुद्धको लय
रात पर्दै गए पछि
कान्छीको भट्टी पसलमा
सेकुवा र रक्सी खाने
जडियाको स्वरुपमा परिणत हुन्छ ।
उसको बुद्धत्व पनि
रक्सीको चुस्कीसंगै
विस्तारै जडियामय हुँदै जाँन्छ ।
अर्कोदिन, उही बुद्धको लयमा
पीलपको बोटमुनी
ध्यान मग्न हुन्छ भिखारी ।
– वुधबार, 7 श्रावण, 2071