Durga Lal Shrestha – Ankhai Ankha

दुर्गालाल श्रेष्ठ – आँखै-आँखा

क्षितिज ठानी आँखा बिसाउँछु
आँखाबाहेक देख्तैनन् आँखाले;
अहो मलाई खेदिरहेछन्
चारैतिरबाट आँखै आँखाले !
एकटकले रुख हेर्छु,
अनायास पात-पातबाट
टुपुल्किदै, हेर्छन मलाई
ट्वाल्ल ट्वाल्ल आँखै-आँखाले !
के के न भने जस्तो
मभित्र मै पसे जस्तो
सुन्दै गर्छु, धेरै-धेरै
क्यै नभने पनि आँखै-आँखाले !
मैले आँखा नखोलेको हो कि ?
खोलेर पनि नदेखेको हो ?
यतिञ्जेल नउठेर मलाई
सोधिरहेछन् आँखै-आँखाले !