सिमसिम पानी पर्दै थियो
घाम डुब्दै-डुब्दै थियो,
मचैं भने हेर्दै थिएँ
एक्लै घरको झयालमा बसेर ।
घरमुनि सानो बारी
बारीबीच दूबो-घारी,
दूबामाथि बस्दै थिए
पानी थोपा-थोपा परेर ।
डुब्नुअघि घाम फेरि
हाँस्यो जसै यता हेरी,
पानीका ती थोपा सारा
टल्के मोती-दाना भएर ।
मर्मर-मर्मर गर्दै बात
मार्न थाले पात-पात,
लाग्यो मलाई बस्दै छु म
अचम्मको मेला भरेर ।
२०५८ फागुन २८