Dr. Suraj Niraula – Briksha

डा. सूरज निरौला – वृक्ष

मलाई झाङिन देऊ,
नागबेली भई बढ्न देऊ,
मेरा हातगोडा फैलन देऊ,
अट्टहास हाँसो हाँस्न देऊ ।
मेरो स्वतन्त्रतालाई नथिच,
नरोक मलाई ।
नरोक मलाई, म निस्कन चाहन्छु,
ती झाङिएका रुखबाट रङ्गिन पात बनी ।
राता, पहेला र हरिया
मनमोहक पार्न चाहन्छु दृष्यरस बनी ।
फैलन चाहन्छु, सुभाष बनी ।

नरोक मलाई,
म फुट्न चाहन्छु, ती चल्ला बनी ।
संसार हेर्न चाहन्छु,भोग्न चाहन्छु ।
मलाई उडन देऊ ।
उडन देऊ मलाई,
निलो गगन एकपल्ट
म छुन चाहन्छु, चुम्न चाहन्छु।
मलाई संगित देऊ ।
संगित देऊ मलाई, म झुम्न चाहन्छु
मलाई प्रकृति देऊ, सास फेर्न चाहन्छु ।
अलौकिक आनन्दमा डुब्न चाहन्छु ।
बाच्न देऊ मलाई,
फैलन चाहन्छु, वृक्ष बनी ।
प्रकृतिमा रम्न देऊ मलाई,
लीन हुन चाहन्छु, इतिहास बनी ।
म जिउन चाहन्छु, परमात्मा बनी ।
मलाई बाच्न देऊ ।
(धन्यवाद 🙏)

Dr. Suraj Niraula – Desh ra Dusta

डा. सुरज निरौला – देश र दुष्ट

मेरो देशभित्र सलबलाएका
पाखण्डीहरुको गलामा
१०८ को लगाम कसिदेऊ ।
चम्चे टेकुवा टेकेर चढेकाहरु,
टेकिएका अाफ्नै धरातल
बारम्बार छाम्ने गर,
दलदल माथि ठडिएको तिम्रा संरचना
क्षणभर मै टुट्न सक्छ ।
अध्यारो कुवामा रुमल्लिएकाहरु,
अल्पज्ञानमै त्यसरी चिच्याउने नगर,
तिम्रा खोक्रो अावाजको भुमरीमा
कैयौ निर्दोष फस्न सक्छ।
अत्याचार र भ्रष्टाचारको कालो करतुतमा
रमाउनेहरु,
सर्पले एकदिन तिमीलाई नै डस्न सक्छ ।
यी ब्वाँसोहरुको चङ्गुलबाटै
मेरो देश लुछिन सक्छ ।
सोच्ने गर्छु,
ठाँऊ ठाँऊमा फुटेको मेरो देश
टाईटेनिक झै एकदिन डुब्न सक्छ ।

तिम्रा समाजका विकृती
अनि कुरितीका पाठ भो
मलाई अब नपढाऊ ।
तिम्रा इर्ष्याले घोचेको मेरो मन
पटक पटक अझै चस्किरहन्छ ।
मेरो पसिना पिएर जिउने तिम्रो प्रवृती
तारोमा राखेर एकपटक पट्काउन मन लाग्छ ।
नरभक्षी भई तिम्रा छाती चिथोरेर
रगत पिएरै बर्षौको प्यास बुझाउ झै लाग्छ ।
सोच्नेगर्छु,
अरिङ्गालक‍ो झुन्डबाट
चटक्क मेर‍ो देश छुटाउन मन लाग्छ ।

तिम्रा दलगत, व्यक्तिगत
स्वार्थले छियाछिया पारेको मेरो देह
अनि तिम्रो सत्ता लिप्साले
अाजित मेरा मस्तिष्क अब धेरै नचर्काऊ ।
नकुदाऊ मेरा पाइलाहरु,
नदेखाऊ अब मरुभूमीको मृगतृष्णा ।
नेपाल अामालाई दुष्टहरुको
चङ्गुलबाट छुटाई सुटुक्क बोकेर
हिमशिखरबाट बग्ने पारदर्शी
कञ्चन पानी सँगै
कलकल बग्न मन लाग्छ ।
प्रातः कालको पंक्षीहरुका संगित
मिश्रित मन्द पवनको स्पन्दन् सँगै
उनकै काखमा लुटुक्क
निदाउन मन लाग्छ ।
अनि विहान अाँखा खोल्दा
सूर्यको पहिलो लालीसँगैं
उनैलाई हेर्न पाए पुग्छ ।
सोच्नेगर्छु,
ग्वाम्लाङ्ग अङ्गालो मारेर
मेरो देश जोगाउन मन लाग्छ ।
दुष्टबाट देश बचाउन मन लाग्छ ।

Dr. Suraj Niraula – Aajkal Timi

डा. सूरज निरौला – आजकल तिमी के गर्दैछौ ?

के छ हालखबर त्यहाँ ?
हरियो वन, रमणीय धर्ती मासेर,
षडयन्त्र, ईर्ष्या र स्वार्थको खेति गर्छन् रे ।
चाप्लुसी र भष्ट्राचार गर्न नजान्ने
सधै त्यहाँ पछि पर्छन् रे ।
हिजो आज !
सब् अनुहार ढाकेरै हिड्छन् रे ।
त्रसित भएर सब् कोठै भित्र लुक्छन् रे।
आफु बाच्नलाई
मर्दा पनि कोहि उठाउदैनन् रे ।
आफ्नै परिवार मै सिमित छन् रे,
मानिस फेरि उहीँ
जङ्गली अवस्थामै फर्किए रे।
के यो सत्य हो ?
सुन्छु, कोरोना पछि लागेकी छिन रे ।
भन त, आजकल तिमी के गर्दैछौ ?

के छ हालखबर त्यहाँ ?
कोही पहिरोमा पुरिए रे,
कोही बाढी सँगैं बगे रे ।
कति भोकभोकै रहे रे,
कति अकाल मै मरे रे ।
प्रकृति पनि कति ईखालु,
कुकर्मको प्रतिशोध उनी,
आफ‌ै लिदैछिन् रे ।
सुन्छु, कोरोना पनि पछि लागेकी छिन रे
भन न, आजकल तिमी के गर्दैछौ ?

के छ हालखबर त्यहाँ ?
जन्मिएर मर्दा सम्मको न हो जीवन,
त्यो पनि मरेरै जिउछन् रे ।
पैसा कै पछि मात्र दौडन्छन् रे ।
आफ्नै स्वार्थमा पौडन्छन् रे ।
आँशु अरुक‍ो देखेर हाँस्छन् रे।
आफु बाच्न अरुलाई मार्छन् रे ।
कन्चन पवित्र जल बग्ने खोलामा
प्रदुषित भावनाहरु बगाउछन् रे।
सब यन्त्र मानव भई जिउछन् रे ।
मानवता त हराई सकेको धेरै भो रे,
के यो सत्य हो ?
सुन्छु, कोरोना पनि पछि लागेकी छिन रे
भन त, आजकल तिमी के गर्दैछौ ?
धन्यवाद ।

(वी.पी.को.स्वा.वि.प्र., धरान )

Dr. Suraj Niraula – Corona Le Lockdown Jindagi

डा. सुरज निरौला – कोरोनाले लकडाउन जिन्दगी

जीवहरुमा सर्वश्रेष्ठ प्राणी,
यो झालझेल, यो लुछातानी
अनि भागदौड,
कहाँ पुग्नलाई तिमी दौडिदैछौ ।
मैले तिमीलाई लगे पनि,
अरु नै वाहानाले ताने पनि
सबै त्यही नै त पुग्दैछौ ।
अाधुनिकता सगैँ किन
अाफुले अाफुलाई भुल्दैछौ ?
त्यसैले त मानिस अाज
मानिस देखि लुक्दैछौ ।

चिकित्सकहरू व्यापार गर्छौ,
विरामीलाई ग्राहक बनाउछौ ।
उपचार सेवा छोडेर राजनीति गर्छौ ।
व्यापारीहरु नाफा कुम्ल्याएर
राजनीति थाल्छौ र देश चलाउछौ ।
अनि,
बुद्धू नेताहरु टेवलमुनि लेनदेन गर्छौ,
बुद्धिजिवीहरुको नेतृत्व गर्छौ,
देशलाई विकास गर्छु भन्छौ ।
जनताको सेवा चाहिँ कहिले गर्छौ ?
भो अब,
तिम्रो व्यापार बन्द गर
तिम्रो सेवा बन्द गर ।
तिम्रो राजनीति पनि बन्द गर ।
तिम्रा स्वार्थी जमातहरु फुटाऊ,
जाउ घरै भित्रै बन्दी बन।
अाफूलाई एक कैदी बनाऊ ।
तिम्रो गतिविधि रोक्न परेको छ ।
किनकी यहाँ लकडाउन चाहिएको छ ।

ज्यादती तिम्रो चुलिएर अकासियो,
तिम्रो चलखेल धेरै बढ्यो,
सक्छौ भने
घडिको सुई धरि लक गरिदेऊ ।
दुरी त पहिले देखि नै
टाढा थियो मानिसको,
म अाए, झनै टाढिने भयौ ।
खबरदार !
जो जहाँ छौ, त्यही रोक,
टक्क टक्क !
एकपटक सोच, अाफूलाई धिक्कार ।
केही नगर, बस् तिमी
अन्तरमनको यात्रा गर ।

अाफ्नै अनुहार हेर,
अाफूलाई परिवर्तन गर,
मानिस बन, सर्वश्रेष्ठ बन ।
अाफ्नो जस्तै अरुको
जीवनको मूल्य सम्झ ।
सहयोगी बन, अरुको कदर गर ।
शुद्ध मनले मानव सेवा गर ।
तिम्रो मुल्याङ्कन गरिने छ ।
जब म हार्ने छु,
तिम्र‍ो लकडाउन खोलिने छ ।
भोलि फेरि मानवता फिर्नेछ ।
म आफै हराउने छु ।
कोरोना एक ईतिहास बन्ने छ ।
कोरोनाले लकडाउन जिन्दगी
फेरि चल्ने छ ।
धन्यवाद ।
(वी.पी.को.स्वा.वि.प्र., धरान )

Dr. Suraj Niraula – Corona, Kamilaa Ra Adhikaar

डा. सुरज निरौला – कोरोना, कमिला र अधिकार ।

भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
शक्तिशाली राष्ट्रहरुका सिर झुकायौ।
कत्तिको दुवै हात उठायौ त,
कत्तिको घुँडा टेकायौ ।
एकको विपत्तिमा,
अर्का तमाशा हाँस्नेहरुलाई
गोलो पृथ्वीमा सबैको पालो
घुमेर आउने पाठ पढायौ ।
पृथ्वीमा पापको घडा भरिए सङ्गै
मानिस आफूले नैं प्रलय र विनाश
निम्त्याउने शिक्षा दिलायौ ।
साधुवाद् छ, कोरोना तिमीलाई ।

भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
कोरोनाको त्रासले कोठै भित्र
कुँजिएर पटक पटक अाफ्नै
अनुहार हेरायौ अनि
आफैलाई चिनायौ ।
केही हप्ते लकडाउन मै
आफ्नै ओैकात पनि प्रस्ट्यायौ ।
घर भित्र पुरुष, नारी भन्दा
कति असक्षम छन् भन्ने देखायौ ।
रेष्टुरेन्टका मिष्ठान परिकारमा अनि
व्यवसायिक महलका
कचमच खानामा रतिनेहरुलाई,
घरको दुई छाक भातको महत्व दर्शायौ ।
जागिरलाई बेचेको समयको भन्दा,
परिवारसँगको पल
कति मूल्यवान् रहेछ भन्ने सिकायौ ।
साधुवाद् छ, कोरोना तिमीलाई ।

भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
पैसाको लागि जीवन बाजी थाप्नेहरु
भूईभरि पैसा छरे नी, वितेको जीवन
कहिल्यै नफर्किने ज्ञान दिलायौ ।
के धनी, के गरिब ! एक अर्काका करिब ।
के ठूला, के साना ! अाफैले फुटाएका भू-सिमाना ।
के गोरा, के काला ! तुच्छ सोचका मतवाला ।
के पूर्व, के पश्चिम ! सब् सिमाना विहिन ,
एउटै भूमण्डलका, एउटै मानव प्राणी
भन्ने प्रमाण दर्शायौ ।
साधुवाद् छ, कोरोना तिमीलाई ।

भाइरस, तिमी उत्परिवर्तित् भयौ र त
मलाई पैतालोमा सिद्रो कुचल्ने,
हे, भीमकाय मानव !
सानो जीवनको मूल्य अहिले थाहपायौ ?
म भन्दा नि सूक्ष्म जीवाणु कोरोनाको
खबर मात्रले लकडाउन् भित्रै
आज जिन्दगी गुम्स्यायौ ।
अभिमानी तिमी! अभिमानी तिमी,
आफ्नै कारण कैयौं जीवन गुमायौ।
हर जीव, पंक्षी, धर्म, जाती, पेशा, वर्ग
र हर मानव यहाँ समान र शक्तिशाली छन्
भन्ने कोरोना तिमीले पाठ सिकायौ।
म एक सानो कमिला !
के म एक सानो कमिला,
यो धरतीमा हिडने मेरो अधिकार होइन र?
जे होस् ! जे होस् , मेरो अधिकारको पनि
आज अनुभूति गरायौ ।
सर्वश्रेष्ठ प्राणी, मानव प्रति नै अाज,
मेरो चोरी अौंला ठड्यायौ ।
सब मनुष्यलाई कोठै भित्र
आज लकडाउन गरायौ ।
साधुवाद् छ कोरोना तिमीलाई ।
धन्यवाद ।
(वी.पी.को.स्वा.वि.प्र., धरान )

Dr. Suraj Niraula – Manab Bikas

डा. सूरज निरौला – मानव विकास

आफ्ना आफ्ना गन्तब्य,
आ-आफ्ना यात्रा ।
बढ्दो मानव भीड्मा पनि
एक्लिएको छ मानवता ।
सिद्धान्त पनि कस्तो उल्टो,
जता ततै जात्रा ।
आज,
हाँसहरुको बीचमा बकुल्ला,
किन भएको छ ईमानदारिता ?

ज्ञानको प्रतिस्प्रदामा यहाँ,
भुलिरहेछन् नैतिकता ।
कमाउने होडबाजीले
गिराइरहेछन् अाफ्नै मानसिकता ।
अचम्म लाग्छ कहिले काहि,
देखेर मानव विकासको रथयात्रा ।
जति विद्वान भयो, उति नै
किन उजाडिदै गा’को दरिद्रता ?

दूरगामी विकासको साथै
चुलिरहेको जनसंख्या बृद्धि ।
पैसाको लागि स्वचालित
यान्त्रिक मानवको हराउदै गएको सुद्धी ।
कहिले कहाँ के हुने होला,
सोच्ने गर्छु कतै,
पृथ्वी उल्टो घुम्ने पो हो कि ?
शकां लाग्छ कतै,
आधुनिक भूवैज्ञानिक युगबाट मानिस
जगंली युग तिर प्रवेशीएको पो हो कि ?
अरुलाई टेकेर आफु चढ्ने प्रवृति,
जुन थालमा खायो,
त्यहि थालमा अोकल्ने मनोवृति ।
डर लाग्छ कतै,
विकासक्रममा बिशिष्ट श्रेणीको मानिस
जनावारको पो हुने हो कि ?

अरुको पीडामा आफु रमाउने,
अरुको सुखमा मन खुम्चाउने ।
विकासको आँधिहुरीको हावासँगै
धुलो भित्रै रुमल्लिएको हाम्रो घनिष्टता ।
जति विकसित भएपनि,
झाङ्गीदैछ मानिस-मानिस बीच वैमनुष्यता ।
दिनानु दिन गुम्दै गएको छ सहिष्णुता,
जिउनै कठिन यो अराजकता,
बढदै गईरहेछ मानिस भित्र दानवता ।
अनि, झन् झन् टाढिदैछ किन
अाज हामी बीचको आत्मीयता ?
किन जगंलीदैछ मानवता ?
(वी.पी.को.स्वा.वि.प्र., धरान )

Dr. Suraj Niraula – Ganitiya Jeevan

डा. सूरज निरौला – गणितिय जीवन

किन बुझेनौ जीवन गणित ?
किन उफ्रिन्छौ यसरी?
के नै पाए झै गरि ।
गज्जब छ बा !
जिरो बाटै शुरू हुने
जीवन यात्राको
अङ्क तालिकामा
त्यहि २,४ अङ्क जोडिए होलान् ।
फेरी २,४ अङ्क घटेरै गए होलान् ।
ट्रान्सभर्स तरङ्ग झै तरङ्ग लम्बाई
कहिले अग्लिए त कहिले होचिए होलान्।
यो जोड घटाउको यात्रा त बस्
जिरोको गुणन पर्खिरहेछ ।
उठान र समाप्तिको दुई जिरोहरु
बीचको जीवन, अकं गणित पो रहेछ ।
कहिले तिम्रो प्लस चल्दोरहेछ,
कहिले तिम्रो माइनस् चल्दोरहेछ ।
हाँस ! कति सक्छौ हाँस,
नाँच ! कति सक्छौ नाँच ।
तिम्रा नाफाहरु सम्हाल,
मुनाफाहरु बटुल ।
अनि फेरि,
रोऊ ! कति सक्छौ रोऊ ।
आक्रोशका दिवार तोड,
जोडिएका नाता फोड ।
तिम्रा घाटाहरु भर्पाइ गरेर राख,
ऋणहरु चुक्ता गर ।
अन्तत ति सब्,
जिरोको गुणनमा पर्नु नै छ ।
गणितीय जीवन एकदिन
जिरो मै अन्त्य हुनु नै छ ।
के लिएर आएका थियौ
के लिएर जानेछौ ?
के धनि, के गरिब ?
पाउनैको लागि
किन राख्छौ आँशु गहभरि ।
के हो तिम्रो र हरायो ?
खोजि हिड्छौ यसरि ।
के जित, के हार !
किन दौडन्छौ त्यसरि
के मधेसी, के पहाडी !
किन लड्छौ यसरि ?
पुग्ने त आखिर
एकै ठाउँ हो कसैगरि ।
व्यर्थ किन् आतिन्छौ ?
अघि र पछिको जीवनको
हाइपोथेसिस् बराबर पर्नु नै त छ ।
गणितीय जीवन एकदिन
जिरो मै समाहित हुनु नै छ ।
श्रृष्टीको हर जीवन,
घुमिरहेछ शुन्य वरिपरि ।
केन्द्रबिन्दु शुन्य मै
डोहोर्याईरहेछ आफ्नै परिधि ।
घटिरहेछ व्यास यसका हर घडि ।
कमजोरीदै छन् पलपल्
सूर्यको किरण सगैं जलि ।
उडनु नै त रहेछ शेष, खरानी बनि ।
किन पीर गर्छौ जीवनको ?
भागफल र गुणनफल शुन्य
आउनु नै त छ ।
जीवन गणितको शेषाङ्क
आखिर शून्यै रहनु नै त छ ।
शून्य मै मिलन हुनु नै त छ ।
अनि,
उहि शून्यमा विलिन् हुनु नै त छ ।

(हाल : पाख्रीवास)

Dr. Suraj Niraula – Janma Bhoomi Ani Karma Bhoomi

डा. सूरज निरौला – जन्मभूमी अनि कर्मभूमी ।

झन् हेर्यो झन् चाउरिएको देख्छु,
आयु बढला भनेको त, झन् घटेको सुन्छु ।
लुट्न पाए सर्वस्व लुट्दा रहेछन्
चुसेर यहाँ खोष्टा मात्र छोडेको देख्छु ।
महत्वाकान्क्षी तिम्रा ती अभिलाषाहरु
खोई पलपल मरेको म पाउछु ।
देखेर पीडा, बसेर म धुरु धुरु रुन्छु ।
द्रोपतीको चीर हरण् झै,
दिनदिनै तिमी नाङ्गिएको देख्छु ।
अनुहार तिम्रो सधै अंध्यारो नै पाउछु ।
हाय ! मेरो जन्मभूमी, हाय ! मेरो कर्मभूमी ।

तिम्रो दशकौको शान,
हिजोआज शरमले झुकेको देख्छु ।
जताततै यत्र तत्र सर्वत्र,
बेइज्जतको ढोल बजेको सुन्छु ।
के तिम्रो के मेरो ?
के तिम्रो के मेरो,
आफ्नै जन्मथलो नै बाङ्गिएको पाउछु ।
आफ्नै कर्मथलो नै नाङ्गिएको देख्छु ।
दुई ढुङ्गा बीचको तरुल,
दिन प्रतिदिन चेप्टिएको पाउछु ।
हाय मेरो जन्मभूमी, हाय मेरो कर्मभूमी ।

नाङ्गिएरै आएका थियौ,
नाङ्गिएरै जानेछौ ।
यँहा नकचराहरु उन्मुक्त भई
थपडी मारिरहेको सुन्छु ।
खाएकै थालमा ओकल्ने स्वाँठहरुले
त्यही थालको डम्फु बजाएको देख्छु ।
आफु भने, भीरको चिचिन्डो
न उभो, न उधो भए जस्तै पाउछु ।
हाय मेरो जन्मभूमी, हाय मेरो कर्मभूमी ।

स्वार्थमा लम्पटहरु
उठाउन आफ्नै लगानी
तल्लिन भएको देख्छु ।
न्यायको तराजु तौलने
आखाँको त पट्टी नै हिजोआज
खोलिएको म पाउछु ।
डेमोक्र्यासि त झन्, बाघको खालमा
स्यालहरुको रजाई भएको म देख्छु ।
हाय मेरो जन्मभूमी, हाय मेरो कर्मभूमी ।

धिक्कार छ ती नामर्दहरु !
धिक्कार छ ती नामर्दहरु
जस्ले राजनितीको नाममा
मेरै देश बेचिरहेछन् ।
देशको राजस्वले नपुगेर
भ्रष्टाचार गरिरहेछन् ।
अचम्म लाग्छ मलाई,
ठूल-ठूला भाषण गड्गडाउने नेताहरु
चुनाव जिते पछि आफ्नै गाँउ टोल फर्कन
अर्को चुनाव पर्खेको देख्छु ।
तिनैलाई जनताले फेरि चुनाव जिताएको
देख्दा आफै थकित हुन्छु ।
हाय मेरो जन्मभूमी, हाय मेरो कर्मभूमी ।

Dr. Suraj Niraula – Ghamandi Ma Hoina

डा. सुरज निरौला – घमण्डी म होइन

खोक्रो आडम्बरमा बाच्न नचाहेर,
आफ्नै ज्ञान र सामर्थमा
विश्वास राखेको मात्र हो ।
चलखेलमा पारङ्गत चेसका खेलाडिको
कुटिल चाल जस्तै काम भन्दा चाप्लुसीको भरमा अघि बढेको देख्दा
अमिलिएको मन भारी भएर
नबोलेको मात्र हो, मित्र ।
घमण्डी म होइन ।

जाबो सरकारी तलब,
घुस खान आफ्नै हृदयले नदिएर,
अभावै अभावको जीवन चलाउनु पर्ने ।
भित्रभित्रै तिमी जस्तै म पनि रोईरहेकोछु।
धरै चाहनाहरु तिम्रा, पुरा गर्न नसकेर,
नसुने झै गर्या मात्र हो, प्रिय ।
घमण्डी म होइन ।

नालायक सम्मान, असक्षम दर्जा नखोजेर,
शाष्टाङ दण्डवत् टक्क्राउनको लाई मेरो टाउको नझुकेर,
वर्णानुक्रम अनुसार पालो कुर्दा नआए पछि सहनशिलताको बाँध फुटेर
शब्दहरु बोलेको मात्र हो, हजुर ।
घमण्डी म होइन ।

अाफ्नै कल्पनामा निसास्सिएर मन
उम्कन खोज्दा,
भाग्यको ठोक्करले चकनाचूर भएको
मेरा काँचका अाशाहरु
पुनः एकपल्ट जोडन,
दत्तचित्त भई लागेको मात्र हो ।
घमण्डी म होइन ।

हिडिरहेका मेरा बाटोमा
धेरै भिडले धकेले पछि
लडने डरले
एक्लै म अर्कै बाटो हिडेको मात्र हो प्रभु ।
घमण्डी म होइन ।

बर्षौ लाएर तयार पारेको
वालुवाको मेरो घर,
असत्ति हुरीले एकै झड्कामा
उडाई लगेपछि
मेरो वाक्य रोकिएका मात्र हुन, साथी।
घमण्डी म होइन ।

Dr. Suraj Niraula – Khoi Ke Lekhna Sakchhu ra Kabita

डा. सूरज निरौला – खोई के लेख्न सक्छु र कविता

कहाँ हरायो मेरो देश ?
बलि राजाले सर्वश्व दान गरेको देश
गौतम बुद्धले सन्यास लिएको देश ।
गरिब दुःखीलाई आफ्नै तलब बाडने
लप्रदे जन्माउने यो देश ।
मान, इज्जत र प्रतिष्ठा बेचेर
पैशाको होडबाजीमा लडिरहने
योद्धाहरुको उदगम स्थल बनेको छ ।
ह्रदय बिनाका यान्त्रिक मानवहरुको
बिच सिद्रा झै चेपिएको म,
खोई के लेख्न सक्छु र कविता ।
कहाँ गयो मेरो शिक्षा ?
पढेको छु, पाइदिन जागिर कतै,
खोज्दा अनुभव माग्छन सधै ।
नथालिएको कार्यको अनुभव ल्याउ कसरी,
सोर्सफोर्स नभई जागिर खाऊ कसरी,
लाग्छ पलायन भई जाऊ अन्तै ।
घुस खुवाउन असमर्थ लाचार, बेरोजगार,
अनि बरालिदै हिड्ने थकित
शिक्षित वेरोजगार म,
खोई के लेख्न सक्छु र कविता ।
कसरी म स्वस्थ्य हुनसक्छु ?
मेरो पसिना को कमाइ काटेर
देशको राजस्व बढाउने,
आफ्नै उपचार गर्न जादा
ऋणमा चुर्लुम्मै डुबाउने ।
सेवामा भन्दा मेवामा लोभिने चिकित्सकहरु
प्राइभेट क्लिनिकमा भेट्न सल्लाह दिने ।
रोगीले निशुल्क औषधि उपचार पाउने
नेताको भाषण सुन्दा
अमिलिएको मन सगैं
थलिएको सिकिस्त विरामी म,
खोई के लेख्न सक्छु र कविता ।
कसरी सोच्न सक्छु म यो देश ?
आधुनिक युग पार गर्दै,
फिङ्गर टिप्स मै साँगुरीदै
कटेम्पोररि युगमा आइसक्दा,
भोका र नाङ्गा छोराछोरी पाल्न,
विहान उठी खाना र कपडाको
खोजीमा तल्लिन अझै
जङ्गली अवस्थाको मजबुर नेपाली म,
खोइ के लेख्न सक्छु र कविता ।

Dr. Suraj Niraula – Ventilator Chadhaidiye Hunthyo

डा. सूरज निरौला – भेन्टिलेटर चढाईदिए हुन्थ्यो

हर बिहानी, चियाको चुस्की नै
वेस्वाद हुनेगरि,
अनियमिता र भ्रष्टाचारको
व्याप्त समाचारले
घृणित भएको मेरो छवि,
अमृत जलले
एक पटक पखालिदिए हुन्थ्यो ।
टुक्रिएको मेरो मेरुदण्ड जोड्न
एक कुशल
अर्थोपेडिसियन ल्याईदिए हुन्थ्यो ।
मर्न चाहन्न अझै त,
उपचारको लागि मलाई
भेन्टिलेटर चढाईदिए हुन्थ्यो ।

साँस फेर्न नि गार्हो भैसक्यो,
बोलेका ध्वनिका तरङ्ग,
कान सम्म पुग्न छाडिसक्यो,
हिजोको मेरो प्रतिष्ठा
आज जमिन मुनि नै गाडिसके ।
बिरामीको विवशतामा
खेलवाड् नगरिदिए हुन्थ्यो ।
रोकिनै लागेको मेरो मुटुको
धड्कन फेरि उठाउन
एक कुशल
कार्डियोलोजिष्ट ल्याईदिए हुन्थ्यो ।
मर्न चाहन्न अझै त,
उपचारको लागि मलाई
भेन्टिलेटर चढाईदिए हुन्थ्यो ।
ईतिहासका मेरा स्वर्णीम धरोहरहरु
दुर्गतिले झन् झन तल धसि सक्यो ।
प्रगतिले उक्लिनु त कता
डिप्रेसनले नै थलापारि सक्यो ।
खरायो झै दौडनु पर्ने विकास
कछुवाको चालमा नहिडाईदिए हुन्थ्यो।
साइकोसिस् भईसकेको
मेरो मन मुर्झाउन,
एक कुशल,
साइक्याट्रिसियन ल्याईदिए हुन्थ्यो ।
मर्न चाहन्न अझै त,
उपचारको लागि मलाई
भेन्टिलेटर चढाईदिए हुन्थ्यो ।

हानहान् र तानातानको रणभूमीबाट
मलाई फुत्त बाहिर निकालिदिए हुन्थ्यो ।
चाहिदैन राजनिती, चाहिदैन सेक्योरीटी
कम से कम मलाई नेताको ईशारामा
न नचाइदिए हुन्थ्यो ।
निर्दोष माछाहरु सङ्लो पानीमा
दस्वतन्त्र पौडिन पाए पुग्थियो ।
निभ्नै लागेको दीप पनि
एक पटक जगाईदिए हुन्थ्यो ।
निस्वार्थ जनहित सेवा नै धर्म मान्ने
लोक परोपकारी मनको
एक कुशल,
नेतृत्व ल्याईदिए हुन्थ्यो ।
मर्न चाहन्न अझै त, उपचारको लागि
मलाई भेन्टिलेटर चढाईदिए हुन्थ्यो ।

२०७६/४/१२