डा. मोहनप्रसाद जोशी — घाँटीलाई स्वतन्त्र पारेँ
सुट फुकालेँ, टाई फुकालेँ,
घडी फुकालेँ, फोन फालेँ,
खुट्टामा हल्का जुत्ता हालेँ,
ढोका उघारेर हिँडिहालेँ |
सडक र मोटर बाइपास गरेँ,
एउटा गोरेटोमा प्रवेश गरेँ,
लम्केर अगाडि बढ्दै गएँ,
रिङरोड छिचोल्दै पारि गएँ |
हिँड्दै जाँदा अलि टाढा पुगेँ,
रूख, बिरुवा र डाँडा देख्न पुगेँ,
अलिअलि जङ्गल जस्तोमा पुगेँ,
त्यहाँ म हल्का बन्न पुगेँ |
कोलाहल काठमाडौँ पछाडि छाडें,
सहरिया बोझलाई विसर्जित पारेँ,
टाईबिना घाँटीलाई स्वतन्त्र पारेँ,
अलिकति हिँडेर आनन्द उमारेँ |
(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)