डा. मोहनप्रसाद जोशी — धन्य चैतन्य !
वसन्त ऋतु लागेको छ,
म कोठाबाट बाहिर हेर्दै छु,
झ्यालबाहिर भुसुनाहरु उडिरहेका छन्,
अलि टाढा एउटा कुकुर भुक्दै छ,
मान्छेहरु बोलेको पनि सुनिँदै छ,
केही पर रूखहरु उभिएका छन्,
नयाँनयाँ पातले सुसज्जित छन्,
हावामा मन्दमन्द हल्लिँदै छन्,
बेलुकीको घाम झुल्किरहेको छ,
रूखहरुको टुप्पोलाई पहेँलो पारेको छ,
आकाश नीलो र खाली छ,
केवल बादलुको एउटा छिर्का छ,
यसैबीच दृश्यपटलमा एक हूल चरा देखा पर्छन्,
उनीहरु उड्दै पश्चिमतिर लाग्छन्
र एकैछिनमा हराउँछन् |
आकाश फेरि खाली हुन्छ,
बिस्तारै त्यो बादलुको छिर्का पनि हराउँछ |
म यो सबै हेरिरहेछु,
म हेर्दै छु भन्ने बोध पनि भइरहेछ,
यस विशुद्ध बोधमा आनन्द छ,
न चाह छ, न तरङ्ग छ,
सबै विश्रान्त छ, पूर्ण छ,
अहा ! विशुद्ध चैतन्य धन्य छ !
(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)