दीपेन्द्र अपजसी – अभिषप्त जीवन
१.
कुनै युग !
बोकेर महादेवको श्रपित जीवन
थाकिनन् गोमा ब्रम्हाणी
पार लगाइन जीवनलाई जसोतसो
सुखद अन्त्यको घाटमा
शास्त्र भन्छ.–
सत्ययुग थियो त्यो ।
२.
अहिले
स्वस्थानी छ मेरो सिरानमा
तर युग अर्कै
महादेवबाट अश्रपित म
श्रपित जीवन जीउँदैछु समुद्रपारि
अघोषित, अप्रत्यक्ष र अन्यायी श्रापबाट
–“ तँ तेरा मातापिता, परिवार र आफन्तबाट छुट्टिएर, तड्पिएर बस्न परोस्
–जहाँ पुगेपनि दुुःख कष्टले नछोडोस्
–मनले आँटेताकेको नपुगोस्
–धन द्रव्यले कहिले वास नगरोस्
–मनमा चिन्ता खिन्नता छाइरहोस्
–जे जस्तो काम गरेपनि दोषको भागीदार हुन परोस् ” इत्यादि इत्यादि ।
३.
म सँग सत्ययुग छैन अहिले
आराधनाबाट श्रापमुक्ति पाउन
बिकल्प पनि छैन
सुखद अन्त्यको घाटमा विसाउन
साध्य पनि छैन
बोझिलो जीवन सहज टुँग्याउन
तर, अझैपनि
स्वस्थानी छ मेरो सिरानमा ।
४.
महादेवबाट अश्रपित म
लावण्यदेशको नवराज हुन सकेको छैन म
न त मलाई माला पहिराईदिने
ऐरावतहरु नै छन् कतै
न त श्रापफिर्ती गरिदिने
ब्रम्हाहरु नै छन कतै
किनकी म –
घेरिएको छु तिनै अप्रत्यक्ष श्रापहरुबाट
अभिषप्त वर्षाले रुझाएको
मेरो जन्मदिनको दिन देखि ।।
बागलुङ, हाल ओस्टण्डे बेल्जियम ।