Sarubhakta – Dharap

कुमारी घर
तलेजुका रक्तिम अनुष्ठानहरुमा
सर्वकालीन नम्छरा राष्ट्रगानहरु
घटस्थापित छन्
ज्याम्वुरी हामी परापूर्वकालदेखि
खड्गजात्रा मनाइरहेछौ
भीर भूगोलमा
वुसान एसियाड
स्टोभ पड्केर आगलागी भएको छ
हाम्रा संचेतनाहरु
यसर्थ एक मृत्यु संस्कारित देश
व्ल्याकहोलदेखि व्ल्याकमेलसम्म व्यस्त छ
युटेरस् प्रोल्याप्स–खोई–क–कस्का
आङ खसेका छन् कुन्नी ?
हामी जाली नोटका सपनाहरुमा
माउसुली आक्रमण व्यस्त छौं
करणी उद्योग ः देवदासीप्रथा जमेको छ
आह ! मानव अङ्गका व्यापारीहरु
साँढेयुद्ध विभीषिका–अनङ्ग छन्
ए ! संकटकालीनदेशको महाखवर
‘डोल्पामा चामल पुग्यो ?’
म हिमालपारिको देशमा हिमालवारिको
कथा भन्दैछु–धरापदेखि
धरापसम्म
माफ गर खेम्पोहरु
देश थुप्चेन गुम्वाहरुभित्र शरणार्थी छैन
अभिशापिन यात्राहरुमा
हामी समयका विषाक्त च्याउ खाइरहेछौं
आह ! देशको टेण्डर खुलेको छ
परिकल्पित जुम्ल्याहा भवनहरुमा
यहाँ सबै व्यस्त छन् विनलादेनहरु