Chandika Bhattarai – Meri Pyari Chhori

चन्डिका भट्टराई – मेरी प्यारी छोरी

अचम्म लाग्छ मलाई, तिम्रा यी साना आँखामा
आफ्नो सिङ्गो संसार देख्दा
यी साना ओठमा सजिएको मुस्कान हेरि
जिवनका ठूला ठूला तनाव बिर्सदा।

अचम्म लाग्छ मलाई, तिम्रा यी साना मुठ्ठीमा
यति धेरै खुशी अटेको देख्दा
तिम्रा यी साना खुट्टाहरुले उभिनुको लागि गरेको संघर्ष हेरि
आफुले पाइला पाइलामा गरेको संंघर्ष बिर्सदा।

अचम्म लाग्छ मलाई
पलपल तिमी ले आफुतिर आकर्षित गरेको देख्दा
चुलबुलिएर तिमिले गरेको बदमासी पनि
मलाई यति धेरै मन परेको देख्दा।

अचम्म लाग्छ मलाई
तिमि प्रतिको यो माया मोह देख्दा
तिम्रा साना साना गतिविधिमा अल्झिएर
आफ्ना ठूला ठूला लक्ष्यहरु मा छायाँ पार्दा
दिन प्रतिदिन तिमी बढेको हेरि,त्यसैमा मोहित भै बस्दा।

मेरी प्यारी छोरी,
जब तिमी बामे सर्दै आएर,मेरो काखमा लुटुपुटु गर्छौ,
साना तिम्रा हत्केलाले, मलाई स्पर्श गर्छौ,
खेल्दै, चल्दै मलाई खोज्दै पल्याक पुलुक हेर्छौ,
तिमिलाई थाहा छैन, खुशी र उमङ्ग का
अनेकौं रङ्ग मेरो मनमा, जिबनमा भर्छौ।

तिमि लड्छौ,पल्टन्छौ फेरि आफै उठ्छौ
नयाँ केही देखे ,नियालि खुबै हेर्छौ
माइक्रोसकोप जस्ता तिम्रा आँखा,
भुइँ का साना दाना पनि देख्छौ
चुम्बकले फलामका टुक्रा तानेझैँ
फेरि ति साना दाना नि औँलाले टिप्छौ।
खेल छ तिम्रो आफ्नै,आफ्नै छ खेल्ने तरिका
अचम्म लाग्छ यो जानेर कि
तिम्रै वरिपरि छन् मेरा खुशी संसार भरिका।

मेरी प्यारी छोरी,
यसै फुरुङ्ग भइ डुल्छौ तिमि यता उता
सोच्छु म , साच्चै भगवानकै रुप हो यो बाल अवस्था
पत्थर कै मुटु होला त्यो मानिसको जो नियाल्न सक्दैन
स‌ृष्टिको यो अनुपम सुन्दरता॥

काठमाडौं।

Rabindra Mishra – Chhora Chhori Lai

रवीन्द्र मिश्र – छोरा-छोरीलाई

तिमीले आकाशको विशालता चुम्नु पर्दैन
नेपालको माटो चुमे पुग्छ
नेपालभित्र पनि तिमीले
सगरमाथाको शिरै चुम्नु पर्दैन
नेपालीको मन चुमे पुग्छ
चन्द्रमा छुने सपनामा
धर्ती बिर्सिएको संसारमा
तिमी यो माटोमा हिँडिदिए पुग्छ
तराइ, पहाड र हिमालसामु नुहिदिए पुग्छ
तिमीले समृद्धिको संसार बुन्नु पर्दैन
नेपालको शान बोकिदिए पुग्छ
त्यही शानभित्र तिमीले
नेपालीको मान खोजिदिए पुग्छ
खुशी खोज्ने होडमा
मानवता बिर्सेको दुनियाँमा
मुटु छोडेर उडेका मान्छेहरूको हूलमा
तिमीले यो देशलाई स्पर्श गरिदिए पुग्छ
जिन्दगीको आर्जन यहीं रोपिदिए पुग्छ !

– रवीन्द्र मिश्र, २८ मंसिर २०७१