चन्डिका भट्टराई – रगतले लतपतिएको आँगन
हे मनुष्य!
तिमिलाई पनि उहि भगवानले सृष्टि गरे ,
हामिलाई पनि उनै भगवानले,
तिमिलाई मनुष्य जाति बनाए ,
अनि हामिलाई जनावर जाति।
उसै गरि भरे प्राण दुबैमा,
उस्तै बनाए फेर्ने श्वास पनि।
खोइ, कतिबेला मागेछन तिनै भगवानले
हामि जनावर जातिको बलि
अनि कतिबेला दिएछन् तिमि
मनुष्य जातिलाई यो अधिकार
हामि जनावर जातिको प्राण हर्ने अधिकार।
हे मनुष्य!
तिम्रो जस्तै ढुकढुक गर्ने मुटु
हाम्रो शरीरभित्र पनि,
बग्छ उसैगरि रातो रगत।
दुख्छ हामिलाई पनि काट्दा।
काप्छ यो सानो मुटु बेसरी,
छटपटि हुन्छ,
औडाहा हुन्छ,
जब बिसाउछौ त्यो धारिलो हतियारको भारि
कमजोर यो शरिरमाथी।
हे मनुष्य!
तिमिले जस्तै विपतमा पर्दा,
गुहार्न मन लाग्छ मद्दतको लागि
चिच्याउन मन लाग्छ,
कराउन मन लाग्छ,
पुकार सुनि कोही आउला कि
बचाउन भनि।
तिमिलाई जस्तै चोट लाग्दा,
आउँछ आमाको सम्झना अति
तिमिले जस्तै ‘ऐया’, ‘आथा’ भन्न नसके पनि
पोल्छ, पोलिरहन्छ भतभती।
उम्केर जाने,
फुत्केर भाग्ने प्रयास
सब हुन्छ बेकार
छाउन थाल्छ आँखा वरिपरि अन्धकार
फितलो बन्दै जान्छ बाँच्ने आश।
हे मनुष्य!
तिमिलाई जस्तै अन्तिम घडीमा
याद आउँछ भगवानको,
कोस्न मन लाग्छ आफ्नै भाग्य माथि
कथित आफ्नो पशु जन्म माथि।
छुट्दै जाँदा यो देहबाट प्राण
भगवानसँग प्रश्न गर्न मन लाग्छ,
हे भगवान!
के तिमिलाई साँच्चै खेल्न मन लागेको हो त रगतको होलि?
हामि निर्दोष पशुको रगतको होलि!
के तिमिलाई साँच्चै मन पर्छ रगतले लतपतिएको तिम्रो आँगन?
सदा झै तिमि मौन छौ भगवान!
अनि तिम्रो मौनताको फाइदा उठाइरहेछन
तिमिले बनाएका यि मनुष्य जाति।
तिम्रै मन्दिरमा,
तिम्रै नाममा,
तिम्रै अगाडि,
तिमिले नै जन्माएका सन्तान माथि
भइरहेछ लगातार
यो अत्याचार।
हामि पशुलाई त निर्विवेकि बनायौ तिमीले,
हेर भगवान! तिम्रा विवेकशील प्राणी,
निर्ममताको पराकाष्ठा नाघ्दै
गरिरहेछन यो नरसम्भार।
तिम्रा विवेकशील प्राणी गरिरहेछन यो नरसम्भार।।
काठमाडौं।