Dr. Suraj Niraula – Desh ra Dusta

डा. सुरज निरौला – देश र दुष्ट

मेरो देशभित्र सलबलाएका
पाखण्डीहरुको गलामा
१०८ को लगाम कसिदेऊ ।
चम्चे टेकुवा टेकेर चढेकाहरु,
टेकिएका अाफ्नै धरातल
बारम्बार छाम्ने गर,
दलदल माथि ठडिएको तिम्रा संरचना
क्षणभर मै टुट्न सक्छ ।
अध्यारो कुवामा रुमल्लिएकाहरु,
अल्पज्ञानमै त्यसरी चिच्याउने नगर,
तिम्रा खोक्रो अावाजको भुमरीमा
कैयौ निर्दोष फस्न सक्छ।
अत्याचार र भ्रष्टाचारको कालो करतुतमा
रमाउनेहरु,
सर्पले एकदिन तिमीलाई नै डस्न सक्छ ।
यी ब्वाँसोहरुको चङ्गुलबाटै
मेरो देश लुछिन सक्छ ।
सोच्ने गर्छु,
ठाँऊ ठाँऊमा फुटेको मेरो देश
टाईटेनिक झै एकदिन डुब्न सक्छ ।

तिम्रा समाजका विकृती
अनि कुरितीका पाठ भो
मलाई अब नपढाऊ ।
तिम्रा इर्ष्याले घोचेको मेरो मन
पटक पटक अझै चस्किरहन्छ ।
मेरो पसिना पिएर जिउने तिम्रो प्रवृती
तारोमा राखेर एकपटक पट्काउन मन लाग्छ ।
नरभक्षी भई तिम्रा छाती चिथोरेर
रगत पिएरै बर्षौको प्यास बुझाउ झै लाग्छ ।
सोच्नेगर्छु,
अरिङ्गालक‍ो झुन्डबाट
चटक्क मेर‍ो देश छुटाउन मन लाग्छ ।

तिम्रा दलगत, व्यक्तिगत
स्वार्थले छियाछिया पारेको मेरो देह
अनि तिम्रो सत्ता लिप्साले
अाजित मेरा मस्तिष्क अब धेरै नचर्काऊ ।
नकुदाऊ मेरा पाइलाहरु,
नदेखाऊ अब मरुभूमीको मृगतृष्णा ।
नेपाल अामालाई दुष्टहरुको
चङ्गुलबाट छुटाई सुटुक्क बोकेर
हिमशिखरबाट बग्ने पारदर्शी
कञ्चन पानी सँगै
कलकल बग्न मन लाग्छ ।
प्रातः कालको पंक्षीहरुका संगित
मिश्रित मन्द पवनको स्पन्दन् सँगै
उनकै काखमा लुटुक्क
निदाउन मन लाग्छ ।
अनि विहान अाँखा खोल्दा
सूर्यको पहिलो लालीसँगैं
उनैलाई हेर्न पाए पुग्छ ।
सोच्नेगर्छु,
ग्वाम्लाङ्ग अङ्गालो मारेर
मेरो देश जोगाउन मन लाग्छ ।
दुष्टबाट देश बचाउन मन लाग्छ ।

Basudev Pulami – Desh Ra Kira

बासुदेव पुलामी – देश र किरा

देशको मानचित्र जस्तै छ
उसको नाङ्गो करङसितको छात्ती।

सर्व शिक्षा अभियानको
घोटालाले पिल्सिएको छ उसको जीवनको साउँअक्षरहरू
त्यसैले उसले कहिले जानेन
अ वर्णमालाबाट अधिकार
र आ वर्णमालाबाट आरक्षण बोल्नु।

स्कुल, ऱ्याम्स, सुग्घर लुगाफाटा र घेघेरानीहरू
उहिल्यै नै फ्याक्ट्री र कारखानाहरूले चोरेर लगिदिएको हो
जीवनमा कहिल्यै नफर्काउने गरी।

भोक, तिर्खा र पसिनाले लेख्छ उसले
देशको स्वादिलो तलतल
त्यसै स्वादमा जिब्रो पढकाएर खान्छ देशले खैनी
उसकै रगतको अलिकति चुना दलेर।

ढुङा, रोडा र बालुवामाथि
घस्रिरहेको त्यो नाङ्गो सिगानेकिरा लाग्छ देशलाई त्यसको रूप
तर त्यो रूपबाट देखिने देशको
प्रतिबिम्बलाई हेर्ने राष्ट्रपतिकोमा चस्मा छैन।

Biku Lama – Desh Khoji Rahechhu

बिकु लामा – देश खोजिरहेछु

गौंथलीका बच्चाहरू
गुँड छाडेर कतै
अस्थायी बसाइँ सरेका छन
गुँड छाडनु अघि
चराले पनि मन दुखाउँदो रहेछ ।

जस्तो कि
आँखाबाट सपना हराउँनु
मनबाट समवेदना हराउँनु
गीतबाट लय हराउनु
शायद लाग्दो हो मलाई जस्तै
जुन र घामको झैं दुरीको आभास
देशछाडी जानेहरूलाई
अब ऊ
देशको नक्साबाट ओझेल पर्दैजान्छ ।

यो सपनाको शहर
मेरो घर जस्तो लाग्दैन मलाई
घरवार बिहिन भएकोछु म तिम्रो देशमा
तिम्रो गगनचुम्वी महलहरूको देश
तिम्रो समुन्द्र नै समुन्द्रको देश
मलाई कहिल्यै छुदैनन यी कृत्रिम सौन्दर्यताले
हो यतिबेला
म मेरै देशको
सगरमाथा सम्झेर रोइरहेकोछु ।

तिम्रो आधुनिक शहरमा
कहिल्यै फुल्दैनन लाली गुँरास
कहिल्यै उड्दैनन शान्तिका परेवा
कहिल्यै बज्दैन सदभावको गीत ।

एउटा सपना पुरा गर्न पनि
हजारौ सपनाहरूको विनिमय गर्नुपर्छ यहाँ
तिम्रो देशमा त
पत्थर जस्ता मान्छेहरू
मेरा पीडामाथी अट्टाहस गर्छन्
कागजका फुल जस्तै मान्छेहरू ।

अव म,
हतारिएको छु देश फर्कन
राष्ट्रियता भन्दा ठुलो
हैन रहेछ सुनको दरवार
हैन रहेछ पैसाका बिछ्यौना
झिलिमिली रोबर्ट्को देशबाट
देखिरहेकोछु म हरेक रात
मेरी आमाको सपना
साँच्चै म यो परदेशबाट
मेरो देश खोजिरहेछु ।

Dr. Suraj Niraula – Khoi Ke Lekhna Sakchhu ra Kabita

डा. सूरज निरौला – खोई के लेख्न सक्छु र कविता

कहाँ हरायो मेरो देश ?
बलि राजाले सर्वश्व दान गरेको देश
गौतम बुद्धले सन्यास लिएको देश ।
गरिब दुःखीलाई आफ्नै तलब बाडने
लप्रदे जन्माउने यो देश ।
मान, इज्जत र प्रतिष्ठा बेचेर
पैशाको होडबाजीमा लडिरहने
योद्धाहरुको उदगम स्थल बनेको छ ।
ह्रदय बिनाका यान्त्रिक मानवहरुको
बिच सिद्रा झै चेपिएको म,
खोई के लेख्न सक्छु र कविता ।
कहाँ गयो मेरो शिक्षा ?
पढेको छु, पाइदिन जागिर कतै,
खोज्दा अनुभव माग्छन सधै ।
नथालिएको कार्यको अनुभव ल्याउ कसरी,
सोर्सफोर्स नभई जागिर खाऊ कसरी,
लाग्छ पलायन भई जाऊ अन्तै ।
घुस खुवाउन असमर्थ लाचार, बेरोजगार,
अनि बरालिदै हिड्ने थकित
शिक्षित वेरोजगार म,
खोई के लेख्न सक्छु र कविता ।
कसरी म स्वस्थ्य हुनसक्छु ?
मेरो पसिना को कमाइ काटेर
देशको राजस्व बढाउने,
आफ्नै उपचार गर्न जादा
ऋणमा चुर्लुम्मै डुबाउने ।
सेवामा भन्दा मेवामा लोभिने चिकित्सकहरु
प्राइभेट क्लिनिकमा भेट्न सल्लाह दिने ।
रोगीले निशुल्क औषधि उपचार पाउने
नेताको भाषण सुन्दा
अमिलिएको मन सगैं
थलिएको सिकिस्त विरामी म,
खोई के लेख्न सक्छु र कविता ।
कसरी सोच्न सक्छु म यो देश ?
आधुनिक युग पार गर्दै,
फिङ्गर टिप्स मै साँगुरीदै
कटेम्पोररि युगमा आइसक्दा,
भोका र नाङ्गा छोराछोरी पाल्न,
विहान उठी खाना र कपडाको
खोजीमा तल्लिन अझै
जङ्गली अवस्थाको मजबुर नेपाली म,
खोइ के लेख्न सक्छु र कविता ।

Rajendra Shalav – Ustai Dukhchha Desh Yaha Pani

राजेन्द्र शलभ – उस्तै दुख्छ देश यहा पनि

कसैले सोध्नु अघि म आफ़ै भन्छु,
दिक्क लागेर नै बिदेशिएको हो म
खानै नपाएर होइन
तिमीले गरिखान नदिएर
देश छोडेको हुं मैले ।
कसलाई मन हुन्छ र
पराई देश्मा पसिना बगाउन
को चाहन्छ र आफन्तहरूबाट टाढा बस्न
तर, तिमीले बस्नै दिएनौ
र म देश छोडेर हिंडे ।

परदेशमा नि कहां देश बिर्सिन सकिन्छ र?
देशमा अझै अंध्यारोको शासन छ
सुरछा भन्दा बढी डर छ
सुबिधाको साटो आश्वासन छ
सम्रिध्दिलाई स्वार्थले छोपेर
अझै सांढेहरू जुधी नै रहेका छन
अझै लठीको हैकम चलिरहेको छ
यस्तो कुशासनका बेला
गणतन्त्रका नाममा मणतन्त्र भएका बेला
मैले केही दिन अझै किन पर्खिन
भन्ने पनि लाग्न छोडेको छ ।
तिमीले सोध्नु अघि म आफै भन्छु
अझ बढी सताउंछ भूगोलले
झन पिरोल्छ सम्झनाले
यहां पनि घरि घरि
अनिश्चितताका पर्खालहरू ठडिन्छ्न
अन्यौलका बाटाहरू पसारिन्छ्न
तर तिमीले जस्तो खुट्टा तान्दैनन यिनीहरूले
अझ वास्तै गर्दैनन यिनले त
र घरिघरि आभाश हुन्छ- देशमा नभएको
देश बांउडिएर आंउछ मनभरि
म यहां परदेशमा छु
तर उस्तै दुख्छ देश यहां पनि ।

-July 21, 2011
मेरीलेण्ड, अमेरिका

Kiran Budhathoki – Ma Desh

किरण बुढाथोकी – म देश

बिहान जब सूर्य उदाउंछ
र यसका स्वर्णीम किरणले
टल्काउंछ मेरो सगरमाथा
माछापुच्छ्रे अनि कंचनजंघा।

त्यसैगरि जब टल्कन्छन
भञ्ज्याङका मानेहरू
अनि फांटका खेतमा टल्कन्छन
जसै धानबालामा शीतका थोपाहरू।

र म मख्ख पर्छु-देखेर मेरो सुन्दरता
र शान्त हुन्छु-जसै मेरी रारा
र म आनन्दित हुन्छु
जसै मेरा जोमसोम र मुस्ताङले सुसेली मार्छन।

तर जसै दिन सुरू हुन्छ
म सुन्छु ब्वांसाहरूको कोलाहल
जसलाई कत्तिपनि गर्व छैन मेरा हुनुमा
तब म कालभैरवझैं अशान्त बन्छु।

जसोतसो सांझ पर्दछ
अनि म टोलाउन थाल्दछु
हेरेर ती जेटहरू-जो गइरहेछन पारी पारी
बोकेर मेरा सपनाहरु-मेरा सपुतहरू।

Jyoti Jungle – Desh Bina

ज्योति जंगल – देशविना
(मधुपर्क भदौ , २०६७)

अनावश्यक छौ
नआओ सपना मेरा आँखामा
दृष्टिहरू
मेरो देशको क्षितिजमा छोडिएका छन्
यहाँ विनादृश्यको म
बेठेगाना मात्र हुँ ।
चँुडिएको छु
म हुर्केको बोट त्यतै छाडेर,
पातमाथि राखेर मेरो सत्व
खसें कहाँ त्यसरी
एउटा बूढो पात जस्तो
पहेंलो सन्तुष्टि बोकेर ?
या हरियो जीवन भोगेर ?
वयस्क नमज्जा भोग्छु प्रत्येक श्वासमा
अतीत दंशले पाइलापाइला मरेर चाल्छु
कयौँ वर्ष बिताए पनि
सिमाना बाहिरको बिरानो माटोले
मलाई चिन्दैन,
यो आकाशको नीलोसमेत
तीतो लाग्छ
यो शिविरको पानीमा मेरो तिर्खा
सधैँ प्यासी छ ।
नसता मलाई अपराधी सन्तोष
म आफ्नै देशमा कैदी हुनुथ्यो कि भनेर
धेरै भो
यो शरणको पासोमा
अनस्तित्व हाँसेको परिचय
जरूर लाशसम्म आइपुग्नेछ
अहिले पनि
म बाँचेकै कहाँ छु र ?

– विराटनगर