अजित क्षेत्री – चिठ्ठी
प्रिय,
कुनैदिन म गएछु भने
तिमीबाट टाढा भएछु भने
लेखिदिनु एउटा बिरही गीत,
खसी जाने शितको सम्झनामा
पैयुँको बोटमा जुनकीरिले गाए जस्तो
बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउनेछु ।
म खसेछु भने
मिर्मिरेमा तारा खसेजस्तो,
म बगेछु भने
सागरमा पुतली बगेजस्तो,
चढाई दिनु दुई थुँगा फूल,
लाहुर हिँडेको सिपाहीले
फेरी भेट्ने बाचा गर्दै
पियारीको सम्झनामा
सिमलको फेँदमा
पाती चढाए जस्तो
तिमीले बिर्स्यौ भने पनि
त्यै बाटो ओहोर दोहोर गर्दा
म झस्काउन आउनेछु
तिमीले डराए पनि
म तर्साइ रहनेछु ।
प्रिय, लेखिदिनु एउटा गीत
कुनै चिसो बिहान
तिम्रो सम्झनाले
बेस्सरी मुटु पोल्दा
म गाइरहनेछु ।
आमालाई पछ्याउँदै रुँदै रुँदै
बजार पुगेको बालक
कतै बजारको भिडमै हराए जस्तो,
गुँडमा बचेरा छाडी
आहार खोज्न निस्केको हाँस
कतै सिकारीको जालमा परे जस्तो
समयको जन्जिरमा म परेछु भनें,
बर्षौंदेखी हुलाकको बाकसमा थन्केको
गुमनाम चिठ्ठी जस्तो,
म यतै मरूभूमीमा बेकसुर मरेछु भने
हाली दिनु ईश्वरको अदालतमा
एउटा मुद्दा
ईश्वरकै बिरुद्धमा
म ईश्वरकै अगाडी उभिएर
ईश्वर मरेको घोषणा गर्नेछु
र,
त्यसैदिन देखि च्यातेर
ईश्वरको तस्बिर
मेरो तस्विरमा तिमी
फुल अक्षता चढाउने छ्यौ
त्यै तस्बिरको म,
तिमी मस्त निदाएको देखेर
मुस्कुराउने छु ।
प्रिय, लेखिदिनु एउटा गीत
बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउने छु ।
-युएई
(यो कविता लेख्दै गर्दा खाडीमा ज्यान गुमाएका र बिना कसुर जेलमा परी जीवन र मृत्युको दोसाँधमा अल्झेका थुप्रै नेपालीहरु सम्झेर आँखाबाट आँशु झारें मैले ।)